विश्वासको मत लिने मिति पछि धकेल्दै लुम्बिनीका मुख्यमन्त्री


भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ पहिलो साता बल्ल विश्वासको मत लिने भएका छन् । यसअघि साउन अन्तिममा विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री थिए । तर, दलहरुसँगको छलफल, केही सांसद देश बाहिर हुनु र सत्ता साझेदार दलका लागि विभिन्न पार्टीहरुसँग भइरहेको छलफलका कारण मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने मिति परिवर्तन भएको हो ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मुख्य कारण केही प्रदेश सभा सदस्य बाहिर रहेका कारण भदौको पहिलो साता विश्वासको मत लिने तयारी गरिएको हो ।
मुख्यमन्त्री आचार्यले भने, ‘केही सांसद बाहिर हुनुहुन्छ । यसका अतिरिक्त अन्य केही कारणले गर्दा भदौको सुरुवातमा विश्वासको मत लिने तयारी गरेका छौँ । सम्भवतः भदौ १ गते लिन्छौँ होला ।’
विश्वासको मत लिनुअघि नै प्रदेश सभा बैठक आह्वान हुने मुख्यमन्त्री आचार्यले बताए । उनका अनुसार त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।
नेपाली कांग्रेसले साउन १२ गते लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संविधान अनुसार ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले साउन ३० गतेभित्र प्रदेश सभा बैठक बोलाउने विषयमा सरकारसँग छलफल भइरहेको बताए ।
यसैबिच, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भएको सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व गर्ने एमालेले मुख्यमन्त्रीमा आचार्यलाई नै निरन्तरता दिने निर्णय गरिसकेको छ ।








प्रतिकृया दिनुहोस्