August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

गुल्मीमा पछिल्ला तीन आर्थिक वर्षमा २१८ जनाले गरे आत्महत्या

Advertisement

गुल्मी–गुल्मीमा पछिल्ला तीन आर्थिक वर्षमा २१८ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०–८१ देखि २०८२–८३ सम्म आत्महत्याका घटना क्रमशः घट्दो छ ।

Advertisement

प्रहरीका अनुसार आर्थिक वर्ष २०८०–८१ मा ८७ जनाले आत्महत्या गरेका थिए । त्यसपछिको आर्थिक वर्ष २०८१–८२ मा यो संख्या घटेर ६७ र आर्थिक वर्ष २०८२–८३ मा ६४ मा झरेको छ ।
तीन वर्षको अवधिमा आत्महत्या गर्नेमा १२६ पुरुष, ६७ महिला र २५ बालबालिका छन् । आत्महत्या गर्ने सबैभन्दा कम उमेर आठ वर्ष र बढीमा ८८ वर्षसम्मका व्यक्ति देखिएका छन् ।

आत्महत्या गर्नेमा विद्यार्थी, कृषक, गृहिणी, मजदुर, व्यापारी, वैदेशिक रोजगारीमा रहेका तथा ज्यामीलगायत विभिन्न पेशा र उमेर समूहका व्यक्ति छन् । प्रहरीका अनुसार झुण्डिएर, विष सेवन गरेर, पानीमा हाम फालेर तथा आफैले चक्कु प्रहार गरेर आत्महत्या गरेका घटना भेटिएका छन् ।

जिल्लाका १२ स्थानीय तहमध्ये मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकामा आत्महत्याका घटना तुलनात्मक रूपमा बढी देखिएका छन् । प्रहरीको तीन वर्षको तथ्यांकअनुसार यी दुवै स्थानीय तहमा आत्महत्या गर्नेको सँख्या ३२–३२ छ । रेसुङ्गा नगरपालिकामा २५, सत्यवती गाउँपालिकामा १८ तथा गुल्मीदरबार, चन्द्रकोट, छत्रकोट, धुर्कोट र मदाने गाउँपालिकामा १५–१५ जनाले आत्महत्या गरेका छन् । रुरुक्षेत्र गाउँपालिकामा १३, कालीगण्डकी गाउँपालिकामा १२ र मालिकामा ११ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा डिएसपी वीरेन्द्रवीर विश्वकर्माले आत्महत्याका पछाडि मानसिक समस्यासहित विभिन्न सामाजिक तथा आर्थिक कारण देखिने गरेको बताए ।
उहाँका अनुसार पारिवारिक कलह, आर्थिक विपन्नता, विभेद, महत्वाकांक्षा, पटक–पटकको असफलता, प्रेममा असफलता, मदिरा तथा लागुऔषधको सेवन, बेइज्जती सहन नसक्ने अवस्था र आफूले केही गर्न नसक्ने भन्ने हीनताबोधजस्ता कारणले मानिसहरू गम्भीर मानसिक दबाबमा पुग्ने गरेका छन् ।

वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारमा आर्थिक तथा अन्य विषयलाई लिएर हुने मनमुटावले समेत आत्महत्याको जोखिम बढाएको पाइएको छ ।