हिलो र पानी खोज्दै गैंडा भारततर्फ


बर्दिया– बर्दिया निकुञ्जमा सुक्खापन बढेपछि हिलो र पानीको खोजीमा एक सिंगे गैँडा भारत पुगेका छन् । निकुञ्जका अनुसार गैंडाका लागि अति आवश्यक हिलो र पानी अभाव भएपछि दूर्लभ वन्यजन्तु विदेशिएका हुन् । बासस्थान, घाँसे मैदान, आहालको गैंडाको संख्या घट्दै गएको हो । चार वर्षअघि गरिएको गणनामा बर्दियामा गैंडाको संख्या ३८ रहेको थियो । दुई वर्षयता करिब २० वटा गंैंडा भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा पलायन भएका छन् ।
पाँच वर्षयता ७ वटा गैंडाको प्राकृतिक कारणले मृत्यु भएको छ । तीमध्ये धेरै गैंडा आफसमा जुँधेर मरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । कर्णाली नदीको भंगालो गेरुवाले धार परिवर्तन गरी पश्चिम तर्फ पानीको वहाव बढेका कारण वन्यजन्तु पलायन हुन थालेका छन् ।
सन् १९८६ बाट २००० सम्म पटक पटक चितवन निकुञ्जबाट बर्दियाको बबई उपत्यकामा ७० र कर्णाली तटीय क्षेत्रमा १३ वटा गैंडा ल्याएर छाडिएको थियो । बर्दिया निकुञ्जका अनुसार स्थान्तरण गरिएका ८३ गैंडामध्ये सशस्त्र द्वन्द्वकालमा चोरीसिकारीबाट ३६ र प्राकृतिक कारणले २४ वटा मारिएका थिए । २०६४ वैशाखमा दुई वटा गंैडा चोरीसिकारीले मारे पनि १९ वर्षयता गैंडा सिकार रोकिएको छ ।
निकुञ्ज सुरक्षाका लागि तैनाथ सेनासँगै चोरीसिकारी नियन्त्रणका लागि मध्यवर्तीक्षेत्रका युवा परिचालित भएपछि चोरीसिकार शून्यमा झरेको हो । गेरुवा नदीमा जलस्तर घट्दै जाँदा सीमापार बसाइँसराइ तथा घाँसेमैदानदेखि आहालको उचित व्यवस्थापन नहुँदा गैंडाको संख्या घट्दै गएको बर्दिया निकुञ्जका पूर्ववार्डेन रमेशकुमार थापाले बताए । ‘सुरक्षित बासस्थान, पर्याप्त आहारा, वर्षभरि पानीको उपलब्धता, आनुवंशीय विविधताको व्यवस्थापन गर्न जरुरी छ,’ उनले भने, ‘रोग नियन्त्रण तथा प्राकृतिक वातावरणमा पुनःस्थापनाको स्पष्ट योजना अनिवार्य हुन्छ ।’
गैंडाका लागि न्यूनतम ५ सय हेक्टर क्षेत्रफल भएको सुरक्षित घेराभित्र राखेर वैज्ञानिक व्यवस्थापन अन्तर्गत प्रजनन् गराउने, संख्या वृद्धि भएपछि क्रमिक रुपमा प्राकृतिक बासस्थानमा पुनःस्थापन गर्ने मोडेल उपयुक्त हुने उनले बताए । सीमापारि भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा गैंडाका लागि पर्याप्त पानी, उपयुक्त बासस्थान र घाँसे मैदानका कारण बर्दियाका गैंडा पलायन भएका छन् ।
ती गैंडा पुनःनेपाल तर्फ फर्किने सम्भावना निकै कम रहेको डिभिजन वन कार्यालयका बर्दियाका डिएफओ विजयराज सुवेदी बताउँछन् । भारतीय वनकर्मीले त्यहाँ पुगेका गैंडा नेपाल तर्फ नफर्कुन् भनेर अन्यत्र स्थान्तरण गर्न सक्ने सम्भावना रहेको उनले बताए । खाता जैविकमार्ग हुँदै गैंडालगायत वन्यजन्तु ओहोरदोहोर गर्छन् ।
बर्दिया निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार गैंडाको संख्या कम भए पनि लोप हुन लागेको भने होइन । प्राकृतिक कारणले गैंडा सीमा वारपार गर्ने गर्छन्,’ उनले भने, ‘भारत पुगेका गैंडा एक ठाउ“मा नबस्ने भएकोले पुनः बर्दिया फर्किन्छन् ।’
पछिल्लो पटक ०८३ साउन १६ मा गेरुवा गाउ‘पालिका–६ नौलोबाँस मध्यवर्ती सामुदायिक वनको गेरुवा नदीस्थित सैजनघाटमा एक आपसमा एक सिंगे गैंडा जुँधेर मृत्यु भएको थियो । करिब २०–२२ वर्षको उक्त भाले गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले बताए । ०८२ वैशाख ४ मा शिव सामूदायिक वन डल्लामा गैंडाको बच्चालाई बाघले मारेको अवस्थामा फेला परेको थियो । ०८१ वैशाख ९ मा निकुञ्ज क्षेत्रमा आपसमा जुधेर करिब ३ वर्षको गैंडा मारिएको उनले जनाए । ०८० माघ बघौरा क्षेत्रमा एक आपसमा जुधेर करिब २५ वर्षिय गैडा मारिएको थियो । ०८० पुस २१ मा बाघको आक्रमणमा नौलो बास मध्यवर्ती सामुदायिक वनमा गैंडा मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।
मध्यवर्ती क्षेत्रमा ०८० पुस १८ प्राकृतिक कारणले पोथी र ०७९ साउन १४ मा एक आपसमा जुुधेर गैंडा मारिएको सूचना अधिकारी न्यौपानेले बताए । उक्त अवधीमा भाले ४, पोथी २ र एक पोथी गरी सात वटा गैंडा मारिएका छन् । गत वर्ष चैतमा हुने गैंडाको गणना अहिलेसम्म प्राविधिक कारणले भएको छैन । सूचना अधिकारी न्यौपानेका अनुसार मेटिङका समय भाले गैंडा पोथीलाई नियन्त्रणमा लिन एक आपसमा जुध्दा दुर्घटना हुने गरेको बताए ।








प्रतिकृया दिनुहोस्