August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

बुटवल धागो कारखानाको सम्पत्ति र दायित्व मूल्यांकन सुरु

Advertisement

भैरहवा– रुपन्देहीस्थित बुटवल धागो कारखाना लिमिटेडसँग सरोकार भएका हरहिसाबबारे दावी पेश गर्न सूचना जारी गरिएको छ । उक्त कारखानमा भएको सरकारी लगानी व्यवस्थापन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको हो ।

Advertisement

मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णय अनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उद्योगको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न थालेको छ । कारखानाको सम्पत्ति तथा दायित्व मूल्यांकन भइरहेकाले कारखानाले मंगलबार २१ दिने सार्वजनिक सूचना जारी गरेको हो । उद्योगसँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई लेनदेन वा हरहिसाब सम्बन्धी कुनै दाबी भए प्रमाणसहित पेस गर्न भनिएको छ ।

अदालत वा अन्य कुनै निकायबाट भएको फैसला वा निर्णय बमोजिम लिनदिन बाँकी रहेको हरहिसाब भए सूचना प्रकाशित भएको २१ दिनभित्र बुटवल–१० स्थित कारखाना स्थलमा दाबी पेस गर्न भनिएको छ । साथैं उद्योगलाई तिर्न वा बुझाउन बाँकी रहेका व्यक्ति तथा निकायलाई तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ ।

दावी पेश गर्न भनिएको २१ दिनभित्र कुनै जानकारी नआएमा प्रचलित कानुन बमोजिम प्रक्रिया अगाडि बढाइने पनि जनाइएको छ । उक्त अवधिपछि उद्योगमाथि कुनै पनि किसिमको दाबी नलाग्ने व्यहोरा बुटवल धागो कारखाना लिमिटेडले स्पष्ट पारेको छ ।

दुई दशक अघिसम्म सञ्चालनमा रहेको कारखाना कच्चा पदार्थ अभाव लगायत कारणले बन्द भएको थियो । लामो समय बन्द कारखानाका उपकरण जीर्ण भइसकेका छन् । कोेराना महामारीको समय कारखानाको भवनलाई अस्थाई अस्पताल समेत बनाइएको थियो ।

कारखानाका भवनमा लामो अवधि नेपाल प्रहरीको दंगा नियन्त्रण गण पनि बसेको थियो । वर्तमान सरकारले बन्द उद्योग सञ्चालनमा ल्याउने नीति लिएपछि पुनः यो कारखाना सञ्चालन हुने आशा पलाएको छ ।