बुटवलमा भेटियो डल्ले खुर्सानीमा अत्यधिक विषादी


बुटवल– बुटवल कृषि उपज थोक बजार केन्द्रमा गरिएको तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षणमा डल्ले खुर्सानीमा अत्यधिक विषादी भेटिएको छ । परीक्षण गरिएका १० वटा नमुनामध्ये ९ वटा उपभोगका लागि योग्य देखिए पनि डल्ले खुर्सानीमा भने मापदण्डभन्दा बढी विषादी भेटिएको हो ।
मंगलबार गरिएको परीक्षणका क्रममा डल्ले खुर्सानीमा अधिक विषादी देखिएको प्रयोगशाला कार्यालयले जनाएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, बुटवलले गरेको परीक्षणमा पाल्पाबाट ल्याइएको डल्ले खुर्सानीमा अर्गानोफस्फेट समूहको विषादीको रोकावट प्रतिशत ४९ दशमलव ९१५ प्रतिशत देखिएको बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला, एकाई बुटवलका नायव प्राविधिक सहायक राजिव भण्डारीले बताए ।
त्यस्तै कार्बामेट समूहको रोकावट भने २ दशमलव ०२०९ प्रतिशत देखिएको उनले बताए । बुटवल कृषि बजारमा बिक्रीका लागि राखिएको उक्त डल्ले खुर्सानीको नमुना परीक्षण गर्दा विषादीको मात्रा निर्धारित सीमाभन्दा माथि देखिएपछि त्यसलाई विसर्जन गरिएको उनको भनाई ।
प्रयोगशालाको मापदण्डअनुसार विषादीको रोकावट प्रतिशत ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षण गर्नुपर्ने र ४५ प्रतिशतभन्दा माथि भए उपभोगका लागि अयोग्य मानी विसर्जन गर्नुपर्ने व्यवस्था छ ।
मंगलबार परीक्षण गरिएका अन्य नमुनामा केरा, बोडी, सिमी, तितेकरेला, माछे खुर्सानी, गोलभेंडा, स्याउ र खुर्सानी छन् । ती सबैमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम देखिएकाले उपभोगका लागि योग्य ठहरिएका छन् ।
बुटवल कृषि उपज थोक बजार केन्द्रमा यसअघि पनि नियमित तथा आकस्मिक परीक्षणका क्रममा मापदण्डभन्दा बढी विषादी भेटिएको तरकारी नष्ट गरिएको थियो । पछिल्लो समय बुटवलमा बिक्रीका लागि आउने तरकारी तथा फलफूलको विषादी परीक्षणलाई निरन्तरता दिइएको छ ।








प्रतिकृया दिनुहोस्