August 6, 2026, Thursday
२०८३ श्रावण २२ शुक्रबार

आठ दिनलाई भनेर अन्तरिक्ष गएकी सुनिता सात महिनादेखि आकाशमै

Advertisement

अमेरिकी अन्तरिक्ष संस्था नासाकी वैज्ञानिक सुनिता विलियम्स अन्तरिक्षमा फसेको करिब सात महिना भयो । भारतीयमूलकी सुनितासँगै विलमोर बुच पनि अन्तरिक्षमा फसेका छन् । उनीहरू यतिखेर अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ९आईएसएस०मा बसिरहेका छन् । उनीहरू ६ जुनमा आईएसएसमा पुगेका थिए ।

Advertisement

करिब सात महिनाअघि आठ दिनका लागि अन्तरिक्षमा गएका उनीहरू सवार स्पेसक्राफ्टमा खराबी आएपछि उतै फसेका हुन् । अब उनीहरू सन् २०२५ को फेब्रुअरीमा मात्र पृथ्वीमा फर्किनेछन् ।

उनीहरूलाई पृथ्वीमा फर्काउन भनेर एलन मस्कको कम्पनी स्पेस एक्सले ‘स्पेस एक्स क्रु ड्रागन’ नामको स्पेसक्राफ्ट अन्तरिक्षमा पठाइसकेको छ । नासाले बिग्रेको स्टारलाइनर बनाउने प्रयास गरेको थियो । तर, बनाउन सकेन ।

नासाले सुनिता र विलमोरसँग गरेको कुराकानीको एउटा भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा उनीहरूले आफ्नो स्वास्थ्यमा कुनै खराबी नआएको बताएका छन् ।

किन गएका हुन् अन्तरिक्षमा ?
सुनिता र विलमोर आईएसएसमा एक्ला छैनन् । उनीहरूको साथमा अरू पनि अन्तरिक्षयात्री छन् । नासाका अनुसार उनीहरू त्यहाँ सुरक्षित छन् । आईएसएसमा ६ जनासम्म अन्तरिक्षयात्री बस्न सक्छन् । यहाँ अन्तरिक्षयात्रीका लागि पर्याप्त खानेकुरा पनि छ ।

अमेरिका, क्यानडा, रूस, जापान र युरोपका अन्तरिक्ष यात्री आईएसएसमा हुन्छन् । यी पाँच देशका १५ वटा अन्तरिक्ष एजेन्सी मिलेर आईएसएस चलाउँछन् ।

सुनिता र विलमोर नासाका वरिष्ठ अन्तरिक्ष यात्री हुन् । उनीहरू दुवैजना यसअघि पनि अन्तरिक्षमा गइसकेका छन् । ६१ वर्षीय विलमोर र ५८ वर्षीया सुनिता उत्कृष्ट अन्तरिक्षयात्री हुन् । सुनिता सन् १९९८ देखि नासाको अन्तरिक्षयात्री हुन् भने विलमोर सन् २००० देखि नासामा अन्तरिक्षयात्रीका रूपमा कार्यरत छन् । सुनिता यो मिसनकी पाइलट हुन् भने विलमोर कमान्डर ।

के हो आईएसएस ?
पृथ्वीको कक्षमा रहेको यो सबैभन्दा ठूलो अन्तरिक्ष केन्द्र हो । यो अन्तरिक्ष केन्द्रमा अमेरिका, रूस, क्यानडा, जापान र युरोपका ‘ल्याबरोटरी’ छन् । यिनै देशहरू मिलेर यसको मर्मतसम्भार र खर्च व्यहोर्छन् ।

यो अन्तरिक्ष केन्द्र टुक्रा–टुक्रा गरी पुर्‍याएर एक आपसमा जोडिएको हो । अमेरिकाले सन् १९९८ को नोभेम्बरमा पहिलो टुक्रा पुर्‍याएको थियो । त्यसपछि अन्तरिक्ष केन्द्रको नियन्त्रण गर्ने टुक्रा रुसले पुर्‍यायो । त्यसपछि क्रमशः अरु देशका ल्याबरोटरीहरू यसमा जोडिए ।

यो अन्तरिक्ष केन्द्रको पूरा निर्माण सन् २०११ मा सकिएको थियो । तर, सन् २००२ देखि नै मानिस जान थालिसकेका थिए । आईएसएस पृथ्वीको सतहबाट चार सय किलोमिटरमाथि छ ।

कसरी फसे सुनिता र विलमोर ?
नासाले अन्तरिक्ष मिसनमा प्रयोग हुने स्पेसक्राफ्ट बनाउने ठेक्का बोइङ एलन मस्कको स्पेस एक्सलाई दिएको छ । स्पेस एक्सले मानवसहित ९ वटा स्पेसक्राफ्ट अन्तरिक्षमा पठाइसकेको छ । तर, बोइङले हालसम्म एउटा पनि मानवसहितको स्पेसक्राफ्ट पठाएको छैन । सुनिता र विलमोरलाई लिएर गएको स्पेसक्राफ्ट बोइङको पहिलो मानवसहितको स्पेसक्राफ्ट हो ।

बोइङले बनाएको स्टारलाइनरले मानिसलाई अन्तरिक्षसम्म पुर्‍याउने र ल्याउने गर्न सक्छ कि सक्दैन भनेर गरिएको परीक्षण उडानमा थिए सुनिता र विलमोर । तर, बोइङको स्टारलाइनर परीक्षण उडानमा असफल सावित भयो ।

यसले पृथ्वीको सतह छाडेर अन्तरिक्षमा पुगेसँगै यसको ‘पोपल्सन सिस्टम’मा चुहावट भयो । त्यसपछि यसका थ्रस्ट बन्द भए । यसका बाबजुद यो आईएसएससम्म सुरक्षित पुग्यो । सुनिता र विलमोर बोकेर गएको बोइङको स्टारलाइनरले उनीहरूलाई ल्याउन नसक्ने भएपछि पृथ्वीमा फर्काइएको छ ।

त्यसपछि २९ सेप्टेम्बरमा एलन मस्कको ‘स्पेस एक्स ड्रागन’ सुनिता र विलमोर रहेको आईएसएसमा पुग्यो । अब सन् २०२५ को फेब्रुअरीमा मस्कको ‘स्पेस एक्स ड्रागन’लाई पृथ्वीमा फिर्ता लिएर आउनेछ ।

अन्तरिक्षमा फसेका सुनिता र विलमोर पहिलो व्यक्ति होइनन् । सन् १९९० को दशकमा रूसका अन्तरिक्षयात्री ४३७ दिनसम्म त्यहाँ फसेका थिए । सन् २०२३ मा मात्र फ्रया्कं रुबियाले ३१७ दिन अन्तरिक्षमा बिताएका थिए ।

दिनमा १६ पटक सूर्योदय र सूर्यास्त देख्छन् अन्तरिक्षयात्री
पृथ्वीमा हामीले २४ घण्टामा एकपटक मात्र सूर्योदय र सूर्यास्त देख्छौँ । तर, अन्तरिक्षमा रहेको आईएसएसबाट अन्तरिक्षयात्रीले दिनमा १६ पटक सूर्योदय र सूर्यास्त देख्छन् ।

आईएसएसले २८ हजार किलोमिटर प्रतिघण्टाका दरले पृथ्वीको परिक्रमा गर्छ । आईएसएसले ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउँछ । यसर्थ अन्तरिक्षयात्रीले हरेक ४५ मिनेमा सूर्यास्त र सूर्योदय देख्छन् ।