April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

भारतका २४ राज्यमा कोरोना सङ्क्रमण घट्दो

भारतका २४ राज्यमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा कमी हुदै आएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सङ्क्रमितहरुको विवरणमा २४ राज्यमा सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको उल्लेख गरिएको छ।

Advertisement

पछिल्लो एक हप्तामा यसरी सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुले भाइरसबाट सङ्क्रमित भएर अहिले निको हुनेहरुको सङ्ख्या पनि झण्डै ९० प्रतिशत पुगेको बताएका छन्।

Advertisement

स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले पत्रकार सम्मेलनमा भने, ‘देशभरका २४ ओटा राज्यमा पछिल्लो समय सङ्क्रमितहरुको संख्यामा कमि हुँदै आएको देखिएको छ।’

ती मध्ये १५ राज्यमा दैनिक एक हजारदेखि पाँच हजारसम्म सङ्क्रमित हुने गरेका छन्। देशका १३ राज्यमा एक हजारभन्दा कम सङ्क्रमित हुने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या पनि ८५.६ प्रतिशतदेखि ९० प्रतिशतसम्म हुने गरेको छ। दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या घट्दै जानु र सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै जानुले महामारी कम हुदै गएको सकारात्मक संकेत देखिएको अधिकारीहरुको भनाई छ।

भारतमा हाल कोभिड–१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन्। भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो।

दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन। मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ८४७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ। यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख १५ हजार २३५ जनाको ज्यान गएको छ।