कोरोना भाइरस उत्पतिबारे ९० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन गुप्तचर निकायलाई बाइडेनको आदेश


अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पति र उत्दगमस्थलबारे तीव्र गतिमा अध्ययन गर्न गुप्तचर निकायहरुलाई आदेश दिएका छन् ।
कोरोना भाइरसको उत्पतिबारे विवाद र आशंक बढ्दै गएका बेला अमेरिकी राष्ट्रपति बाइडेनले ९० दिन भित्र अध्ययन गरिसक्न गुप्तचर निकायका प्रमुखहरुलाई आदेश दिएका हुन् ।
आफ्नो अध्ययन क्षमता र गतिलाई दोब्बर बनाएर ९० दिनभित्र आफूलाई ब्रिफिङ्ग गर्न बाइडेनले गुप्तचर तथा कूटनीतिक निकायलाई वक्तव्य मार्फत निर्देशन दिएका हुन् ।
सन् २०१९ को अन्त्यतिर चीनको हुवेइ प्रान्तको वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसयता विश्वभर कोरोना भाइरसबाट १६ करोड ८० लाख भन्दा बढि संक्रमित भएका छन् । यस्तै कोभिड–१९ बाट विश्वभर ३५ लाख भन्दा बढि मानिसको मृत्यु भएको छ ।
वुहानको समुद्री खाद्यान्न बजारबाट मानिसमा कोरोना भाइरस सरेको चिनियाँ अधिकारीले बताएका थिए । वैज्ञानिकहरुले भने जनावरबाट मानिसमा भाइरस सरेको हुन सक्ने बताउँदै आएका छन् ।
तर कतिपयले कोरोना भाइरस वुहान स्थित प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको आंशका गर्दै आएका छन् ।
गएको महिना विश्वस्वास्थ्य संगठनले चिनियाँसहित अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको प्रतिवेदन सार्वजनिक गर्दै प्रयोगशालाबाट कोरोना भाइरस मानिसमा सरेको हुन सक्ने सम्भावना अति दुर्लभ रहेको बताएको थियो । तर थप स्पष्ट हुन अध्ययनको खाँचो रहेको भने डब्लुएचओले उल्लेख गरेको थियो ।
हालै अमेरिकी गुप्तचर निकायको सूचना अनुसार कोरोना भाइरसको पहिलो प्रमाणित केस थाहा हुनु भन्दा केही हप्ता पहिले नै वुहानको प्रयोगशालाका तीन कर्मचारीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको र अस्पतालको सहायता लिनु परेको उल्लेख रहेको खबर सार्वजनिक भयो ।
त्यसपछि कोरोना भाइरसको उत्पतिलाई लिएर रहँदै आएको आशंकामा थप बल पुगेको छ । अमेरिकाले डब्लुएचओसँग भएको स्वास्थ्य मन्त्री स्तरीय बैठकमा अबको अनुसन्धान थप पारदर्शी हुनु पर्ने बताइसकेको छ ।
बुधबार राष्ट्रपति बाइडेनले वक्तव्य जारी गरेर आफूले सत्ता सम्हाले लगत्तै कोरोना भाइरसको संक्रमणको सुरुवातका सम्बन्धमा प्रतिवेदन माग गरेको उल्लेख गरेका छन् ।
संक्रमित जनावरसँग मानिसको सम्पर्क वा प्रयोगशालामा भएको दुर्घटनाका कारण मानिसमा भाइरसको संक्रमण फैलिएको हो भन्ने बारे आफूले प्रतिवेदन माग गरेको बाइडेनले वक्तव्यमा उल्लेख गरेका छन् ।
यो महिना आफूले प्रतिवेदन पाए र त्यसमा थप अध्ययन गर्न भनेको उनले बताएका छन् । अमेरिकी गुप्तचर निकायहरु कोरोना भाइरसको उत्पति र मानिसमा संक्रमणका सम्बन्धमा दुई सम्भावित कारणहरुको नजिक पुगेको तर दुवैबाट स्पष्ट निष्कर्ष भने नआएको बाइडेनले बताएका छन् ।
बाइडेनले कोरोना भाइरसको उत्पतिका सम्बन्धमा हुने अनुसन्धानलाई पारदर्शी एवम् तथ्यमा आधारित अन्तर्राष्ट्रिय अध्ययन बनाउनका लागि पूर्णरुपमा सहभागी हुन तथा सम्बन्धी सम्पूर्ण तथ्य–तथ्यांक एवम् प्रमाणमा पहुँच दिन निरन्तर दबाब दिइरहने बताएका छन् ।
प्रतिकृया दिनुहोस्