इस्लामिक स्टेटविरुद्ध टर्कीमा कारबाही, ३५७ संदिग्ध हिरासतमा


टर्कीको प्रहरीले इस्लामिक स्टेटविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्दै ३५७ संदिग्धलाई हिरासतमा लिएको छ । टर्कीका गृहमन्त्री अली येरलिकायाले यो कारबाहीभन्दा एक दिनअघि मात्र उत्तर–पश्चिमी टर्कीमा भएको एक झडपमा ६ आतंकवादी मारिएका बताएका छन् । तीन प्रहरी अधिकारीहरूको ज्यान गएको थियो ।
गृहमन्त्री येरलिकायाले अधिकारीहरूले देशका २१ प्रान्तमा छापा मारेको बताए । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “जसरी हामीले आतंकवादको बाटोबाट यो देशलाई घुँडा टेकाउन खोज्नेहरूलाई कहिल्यै मौका दिएका छैनौँ, त्यसैगरी भविष्यमा पनि उनीहरूलाई कहिल्यै मौका दिनेछैनौँ ।”
यसअघि, इस्तानबुलको अभियोजक कार्यालयले प्रहरीले इस्तानबुल र दुई अन्य प्रान्तमा ११४ स्थानमा छापा मारेको छ । यस क्रममा विभिन्न प्रकारका डिजिटल सामग्री तथा कागजातहरू जफत गरेको छ ।
सोमबार इस्तानबुलको दक्षिणमा पर्ने तटीय सहर यालोवाको एक घरमा प्रहरीले आठ घण्टासम्म आतंकवादीहरूलाई घेराबन्दी गरेको थियो । यो कारबाहीमा क्रिसमस र नयाँ वर्षमा आक्रमण गर्ने कथित योजनासँग सम्बन्धित इस्लामिक स्टेटका १०० भन्दा बढी संदिग्ध सदस्यलाई हिरासतमा लिएको एक हप्तापछि भएको हो ।
करिब एक दशकअघि टर्कीमा सर्वसाधारणलाई निशाना बनाएर गरिएका आक्रमणहरूका लागि यही आतंकवादी संगठनलाई जिम्मेवार ठहराइएको थियो ।
सन् २०१७ मा इस्तानबुलको एक नाइटक्लब र सहरको मुख्य विमानस्थलमा गोलीबारी भएको थियो, जसमा दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो ।
त्यतिबेला सिरियाली युद्धका क्रममा आउने–जाने बाटोका रूपमा इस्लामिक स्टेटसहित विदेशी लडाकुहरूका लागि टर्की महत्वपूर्ण थियो । पछिल्ला वर्षहरूमा टर्कीको प्रहरीले इस्लामिक स्टेटविरुद्ध निरन्तर अभियान चलाएका छन् । सन् २०१५ देखि २०१७ को हिंसात्मक चरणपछि देशमा आक्रमणहरू निकै कम भएका छन् । डीडब्ल्यू








प्रतिकृया दिनुहोस्