June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

गोवाको नाइटक्लबमा आगलागीः मृत्यु हुने नेपालीको संख्या पाँच पुग्यो

Advertisement

भारतको गोवास्थित अर्पोरामा एक नाइटक्लबमा शनिबार मध्यराति भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ ।

Advertisement

नाइटक्लबमा आगलागी हुँदा त्यहाँ कार्यरत पाँच नेपालीको मृत्यु भएको भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाले बाह्रखरीलाई जानकारी दिए ।

चुर्नबहादुर पुन, विवेक कटवाल, सविन बीके, सुदीप गुरुङ र मानबहादुर जोराको मृत्यु भएको पुष्टि भएको छ । उनीहरू सबै त्यही नाइटक्लबमा कार्यरत थिए ।

आगलागीमा परी २५ जनाको मृत्यु भएको थियो । मृत्यु हुने बाँकी सबै भारतीय नागरिक हुन् ।

“मृतकको शव स्थानीय अस्पतालमा रहेको छ । पोस्टमार्टम रिपोर्ट आएपछि शव सम्बन्धित परिवारलाई बुझाउने काम हुन्छ,” उपनियोग प्रमुख थापाले भने ।

शव परिवारलाई हस्तान्तरण गरेपछि क्षतिपूर्ति उपलब्ध गराउने विषयमा प्रक्रिया अघि बढाइने दूतावासले जनाएको छ ।