August 24, 2026, Monday
२०८३ भाद्र ८ सोमबार

सर्प उद्धारमा निरन्तर खटिइरहेका सुवेदी

Advertisement

दाङ– यहाँको घोराही–१८, का बसन्त सुवेदी १० कक्षा पढ्दैदेखि सर्प छोप्ने र खेलाउने गर्न थाले । ११ कक्षा पढ्दै गर्दा एकदिन बाटोमा भेटेको सर्प लिएर घरै पुगे । सर्प बोकेर छोरा आएपछि बुवाआमाले गाली गरे । गाउँघरमा ‘गराइच’ भनिने उक्त सर्प बिषालु हुन्छ भनिन्थ्यो । उनले इन्टरनेटमा खोजेपछि उक्त सर्प बिषालु नहुने थाहा पाए । त्यसपछि सर्पबारे जनमानसमा ज्ञानको कमी रहेको लाग्यो । त्यसपछि सुवेदीले सर्पबारे अध्ययन गर्न थाले ।

Advertisement

भिन्न प्रजातीका सर्प खोजेर अनुसन्धान गर्न जुटे । त्यसको दुई वर्षमै उनी जिल्लामा चर्चित सर्प उद्धारकर्ता बनिसकेका थिए । उद्धारका लागि ठाउँठाउँबाट फोन आउन थाल्यो । दिनरात नभनी उनी उद्धारमा खटिन थाले । दुई वर्षमै ३ हजार सर्प उद्धार गरेका थिए । ‘विपन्नको घरमा सर्प पस्ने, कच्ची, माटोको घरमा धेरै भेटिने हुन्थ्यो,’ सुवेदीले भने, ‘त्यही भएर सेवाभावले काम गरियो ।’ अहिलेसम्म करिब ६ हजार सर्प उद्धार गरिसकेको उनले सुनाए । उद्धार गरेका सर्प जंगलमा लगेर छोडिदिन्छन् । आफूसँगै अन्य उद्धारकर्ता पनि तयार पारिसकेका छन् ।

अहिलेसम्म १ हजारलाई तालिम दिइसकेका छन् । तीमध्ये ८–९ जनाले उद्धारका काम गरिरहेका छन् । एक लाख हाराहारीलाई सर्पदंशबाट बच्ने उपायबारे सिकाएका छन् । २०७९ सालमा ‘वी वर्क फर कन्जरभेसन’ नामक संस्था गठन गरेका उनले सर्प बचाउने र चेतना फैलाउने काम गरिरहेका छन् । घोराहीमा विज्ञान संकायमा १२ कक्षा उतिर्ण गरेपछि छात्रवृत्तीमा नाम निकालेर कृषि क्याम्पस रामपुर चितवनबाट कृषि विज्ञानमा स्नातक गरे । अहिले काठमाडौंमा एमबीबीएसको तयारी कक्षाका लागि प्राणीशास्त्र पढाउँछन् ।

तीन महिना पढाएर कमाएको पैसाले वर्र्षभरि सर्प उद्धार गर्छन् । सुवेदी सर्पलाई किसानको साथी मान्छन् । ‘सानाले किरा, फट्यांग्रा खान्छन् । ठूला सर्पले मुसा खाइदिन्छ,’ उनले भने, ‘दुलाभित्र पसेर सर्पले मुसा खान्छ ।’ सर्पले बाली बचाइदिएर किसानको साथीको भूमिका निभाउने उनले बताए । बिषालु सर्पको बिषबाट सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिभेनम लगायतका औषधि बनाइने भएकाले यसको उपयोग गर्न सके मुलुकको अर्थतन्त्रमा ठूलो प्रगति हुने उनले बताए ।

‘अहिले विदेशबाट एन्टीभेनम आउँछ । नेपालकै सर्पबाट बनेको औषधि हुँदा अझ प्रभावकारी रुपमा काम गर्न सक्छ,’ उनले भने, ‘यसतर्फ लगानी गर्न सकेमा आर्थिक र उपचारका दृष्टिकोणले फाइदाजनक हुन्छ ।’

कसरी समाइन्छ सर्प ?
सर्प देख्नेबित्तिकै सबैलाई डर लाग्छ । सर्प समाउन दाङका सुवेदीले तालिम लिएका होइनन् । उनले उद्धारको काम थाल्दा मुलुकमा चार जना मात्र सर्प उद्धारकर्ता थिए । सुवेदी समेत पोखराका रोहित गिरी, चितवनका सुनील सापकोटा र दाङका महेन्द्र कतिला यसमा संलग्न थिए । गिरी अहिले सर्प उद्धारसँगै अध्ययन, अनुसन्धान गरिरहेका छन् । सापकोटा विदेश छन् । कतिलाको निधन भइसकेको छ । सुवेदीले इन्टरनेटबाट खोजेर अध्ययन गरेर केही व्यवहारिक अभ्यासका क्रममा सिक्दै सर्पको आनीबानी थाहा पाए ।

‘कतिपय अवस्थामा अस्पतालबाट २–३ घण्टा टाढा पनि उद्धारका लागि पुग्नुपथ्र्यो,’ उनले भने, ‘सुरक्षाको कुनै भरपर्दो उपाय थिएन । सजग भएर काम गर्नुवाहेक विकल्प थिएन । बानी पर्दै गएपछि जोखिम कम हुने गरि काम गर्न सकिन्छ ।’ उनका अनुसार सर्पले सजिलै मानिसलाई डस्दैन । ‘मानिस सर्पको शिकार होइन, त्यसैले मानिससँग सरोकार हुँदैन,’ उनले भने, ‘मानिसलाई देखेपछि सकभर सर्प भाग्न खोज्छ । आफूलाई असुरक्षा महशुस भयो, भाग्ने ठाउँ नभएर अप्ठेरो प¥यो भने मात्र उसले डस्छ ।’

त्यसकारण सर्पको पुच्छर समाएपछि उसको बाँकी शरिरलाई हुकले अड्याएर सन्तुलन कायम गरिन्छ । ‘पुच्छर मात्रै समाएर झुण्ड्याउँदा उसलाई शरिरको भार पर्छ अनि उसले अप्ठेरो भएर डस्न खोज्छ,’ उनले भने, ‘शरिरलाई सन्तुलनमा राखेर समाएपछि केही गर्दैन ।’ ठूला सर्प छोप्न हुकको प्रयोग गर्छन् भने साना सर्पका लागि पञ्जा प्रयोग गर्छन् । ‘ठूलो सर्पको लम्बाई धेरै भएका कारण हुकले छेकेर आफूतिर आउनबाट छेक्न सकिन्छ,’ उनले भने, ‘साना सर्पको लम्बाई कम भएकाले त्यसले टोकिहाल्यो भने नि हातमा टोक्छ तेसैले हातमा पञ्जा लगाइन्छ । अन्य अबस्थामा पञ्जा लगाउँदा चिप्लेर समाउन कठिन हुन्छ ।’

कसरी बच्ने ?
बर्षायाम सर्पको जोखिम हुने समय भएकाले सर्पबाट बच्ने उपाय जानकारी हुनुपर्ने सुवेदीले बताए । सर्पबाट बच्न जुता या लामो बुट लगाएर हिड्नुपर्ने उनको सुझाव छ । सुरुमा आक्रमण गर्ने ठाउँ खुट्टा भएकाले त्यसको सुरक्षामा ध्यान दिनुपर्छ । रातीमा लाइट प्रयोग गर्ने, घाँसमा हिड्दा लट्ठी प्रयोग गरी अगाडि ट्वाकट्वाक पारेर बाटो सफा गर्दै हिड्ने र घरका कुना, तथा सर्प बस्नसक्ने ठाउँमा होशीयारीपूर्वक काम गर्नुपर्छ । शितल खोज्दै सर्प घरभित्र जानसक्ने भएकाले दाउराका थुप्रा जस्ता सर्प लुक्ने ठाउँमा होशीयारीपूर्वक काम गर्नुपर्छ ।

सर्पले डसीसकेपछि छिटो अस्पताल जानु बुद्धिमानी हुने उनको सुझाव छ । सुवेदीका अनुसार नेपालमा भएका करिव ९० प्रजातिका सर्पमध्ये २० प्रजातिमात्र बिषालु छन् । सर्पले डस्दैंमा बिष लाग्दैन । बिषालु सर्पले डसे पनि बिष नछोडेको हुनसक्छ । त्यस्तो बेला जोखिम हुँदैन । त्यसकारण बिरामीलाई सान्त्वना दिंदै अस्पताल पुर्याएमा ज्यान बचाउन सकिन्छ । धामी, झाँक्रीसँग झारफुक गर्ने, खुर्सानी खाएर जाँच गर्ने, टोकेको ठाउँको रगत निचोरेर फाल्ने र टोकेको ठाउँमा बाँधेर रक्त सञ्चारमा अबरोध गर्ने जस्ता काम गर्न नहुने सुवेदीले बताए ।