August 25, 2026, Tuesday
२०८३ भाद्र ९ मंगलवार

करोडौंको लागतमा बनाइएको पर्यटकीयद्वार दुर्गन्ध र अव्यवस्थितको नमुना

Advertisement

भैरहवा–नेपाल प्रवेश गर्ने पर्यटकका लागि पहिलो परिचय बन्नुपर्ने बेलहिया नाकानजिकको पर्यटकीयद्वार अहिले दुर्गन्ध, फोहोर र अव्यवस्थित नमुना बनेको छ । पर्यटकलाई स्वागत गर्दै केहीबेर विश्राम र मनोरञ्जन गर्ने आकर्षक गन्तव्य बन्नुपर्ने स्थल पेट्रोल ट्याङ्कर, बस तथा ट्रकको पार्किङस्थलमा परिणत भएपछि करोडौं रुपैयाँको लगानीको उपलब्धिमाथि प्रश्न उठ्न थालेको छ ।

Advertisement

सिद्धार्थनगर नगरपालिका–१, डन्डापुलनजिक निर्माण गरिएको उक्त पर्यटकीयद्वार भारततर्फको बेलहिया सीमा नाकाबाट करिब डेढ किलोमिटर वर छ । नेपाल प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई गौतम बुद्धको जन्मस्थल लुम्बिनी र नेपालको पहिचानसँग जोड्ने उद्देश्यले निर्माण गरिएको संरचना २०७८ पुस २४ गते सम्पन्न भएको थियो । ६ करोड ४३ लाख रुपैयाँ खर्च लागतमा पर्यटकीद्वारा निर्माण भएको हो ।

निर्माण सम्पन्न भएको केही वर्षमै पर्यटक आकर्षणको केन्द्र बन्नुपर्ने क्षेत्र उपेक्षा र अव्यवस्थाको नमुना बनेको छ । पर्यटकीयद्वार वरपर फूलबारी, हरियाली, साना पार्क, विश्रामस्थल वा पारिवारिक वातावरणमा केही समय बिताउन सकिने खालका संरचना तयार नगरिँदा करोडौंको लगानीले अपेक्षित प्रतिफल दिन नसकेको हो ।

पर्यटकीयद्वार आसपासको सबैभन्दा ठूलो समस्या फोहोर र दुर्गन्ध बनेको छ । नगरपालिकाले लामो समयसम्म डम्पिङ साइटका रूपमा प्रयोग गरेको क्षेत्रबाट आउने दुर्गन्ध तथा जथाभावी फालिएको फोहोरका कारण यात्रु तथा स्थानीयलाई सास्ती हुने गरेको छ । त्यस क्षेत्रमा पुग्ने पैदल यात्रुदेखि बस, मोटरसाइकल र अन्य सवारीसाधनका यात्रुसम्म नाक थुन्दै हिँड्नुपर्ने अवस्था जो कोहीपनि जानकार छन् ।

पर्यटकीयद्वारको पश्चिमतर्फ चियानास्ता पसल सञ्चालन गर्दै आएकी गिता थापाले दुर्गन्धका कारण व्यवसाय सञ्चालन गर्नसमेत कठिन भएको बताइन् । ‘गन्हाएर एकछिन पनि अडिन सक्ने अवस्था छैन । खान–बस्न नै नसकिने अवस्था छ’ उनले भनिन्, ‘दुर्गन्धबाट मुक्ति पाउन कहाँ गएर निवेदन दिऊँजस्तो भइरहेको छ ।’

सडकको सर्भिस लेनसमेत अतिक्रमण गरी सवारीसाधन राख्ने गर्दा पर्यटकीयद्वारको सौन्दर्य बिगार्नुका साथै आवागमनमा समेत समस्या सिर्जना गरेको छ । तर, यस वारेमा सिद्धार्थनगर नगरापालिकादेखि ट्राफिक प्रहरी, प्रहरी लगायत सरोकारवाला निकायहरु बेखवर जस्तै बनेका छन् । पर्यटकीयद्वारको ठीक सामुन्ने चौबीसै घण्टा सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीको सुरक्षा तथा चेकजाँच हुने गरेको छ । सिद्धार्थनगर नगरपालिकामा ठूलो आर्थिक स्रोत बेहोरेर राखिएका नगरप्रहरीको उपस्थिती त्यस क्षेत्रमा कहिल्यै देखिदैन ।

त्यस क्षेत्रमा पर्यटकीय गतिविधि विस्तार गर्नुको सट्टा कवाड संकलन व्यवसायसमेत सञ्चालनमा छ । त्यस्तो व्यवसाय सञ्चालनका लागि कस्ले अनुमती दियो ? सिद्धार्थनगर नगरपालिकाप्रति नै प्रश्न उब्जेको छ । पर्यटक स्वागत गर्ने प्रवेशस्थल आसपासमा पर्यटकीय वातावरणसँग मेलनखाने गतिविधिलाई अनुमति दिइनुले संरचनाको मूल उद्देश्य नै कमजोर बनाएको स्थानीयको भनाइ छ । स्थानीय सम्शेर अलीले पर्यटकीयद्वार निर्माण भए पनि उद्देश्यअनुसार प्रयोगमा आउन नसकेको बताए । ‘पर्यटकीयद्वार जुन उद्देश्यले बनाइएको थियो, त्यो उद्देश्यअनुसार प्रयोगमा ल्याउन सकिएन’ अलीले भने, ‘त्यसअनुरूपका गतिविधि पनि हुन सकेनन् ।’

नियमित मर्मतसम्भार, संरक्षण र सौन्दर्यीकरणको अभावमा उक्त द्वार जीर्ण र कुरुपपनि बन्दै गएको छ । निर्माणकै क्रममा बाङ्गो बनेको उक्त द्वार निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत छानबिन भएको थियो ।

भारत तथा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने प्रमुख बिन्दुमध्येको महत्वपूर्ण प्रवेशस्थल नजिक निर्माण गरिएको यो पर्यटकीयद्वारलाई नेपाल प्रवेश गर्ने पर्यटकका लागि पहिलो आकर्षण र परिचयस्थलका रूपमा विकास गर्नुपर्नेमा यसको वर्तमान अवस्थाले पर्यटन प्रवद्र्धनसम्बन्धी नगरपालिकाको प्राथमिकतामाथि नै प्रश्न उठाएको भैरहवाका नागरिक अगुवा बिजय गोबिन्द श्रेष्ठ बताउँछन् ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले पर्यटकीयद्वारको मर्मतसम्भार गरी थप आकर्षक बनाउनेतर्फ नगरपालिकाको ध्यान गएको बताए । फोहोर व्यवस्थापनलगायतका चुनौतीका कारण संरक्षण र सौन्दर्यीकरणमा पर्याप्त काम हुन नसकेको देखिए पनि संरचनाको संरक्षण तथा सुधारका लागि योजना बनाइएको उनको भनाइ छ । करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको संरचनालाई केवल औपचारिक प्रवेशद्वारमा सीमित नराखी वरपरको वातावरण सुधार, फोहोर व्यवस्थापन, हरियाली तथा फूलबारी निर्माण, व्यवस्थित पार्किङ र पर्यटकमैत्री गतिविधि सञ्चालन गर्न सके मात्रै यसको औचित्य स्थापित हुने स्थानीयको अपेक्षा छ ।