August 25, 2026, Tuesday
२०८३ भाद्र ९ मंगलवार

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभापति थापाको माग

Advertisement

भैरहवा– नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । यस विषयमा आइतबार फेरि कुरा उठेको जनाउँदै उनले प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।

Advertisement

सामाजिक संजाल फेसबुकमा सोमबार स्टाटस लेख्दै सभापति थापाले भनेका छन्, ‘२०७४ सालदेखि लगभग हरेक वर्ष यसरी नै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको छ। हरेक पटक हामी राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनायौं, तर सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न सकेनौं।’

उनले अब त एक दशक बित्न लागिसकेको जनाएका छन् । २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग)ले बुझाएको प्रतिवेदन आजसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको र पीडितहरू न्याय पाउनबाट वञ्चित भएको जनाएका छन् ।

‘विगतका सरकारबाट पनि यो काम हुन सकेन। तर विगतको कमजोरी आज पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बन्न सक्दैन, बन्नु हुँदैन। यसपटक यो विषय प्रतिवद्धतामा मात्र सिमित नहोस्। यसर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मेरो आग्रह छ– अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्’, उनले भनेका छन् ।

यस्तै, सभापति थापाले सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो भनेर माग समेत गरेका छन् ।