रूपन्देहीका होटलमा सवा खर्ब लगानी, ६ हजारलाई रोजगारी


भैरहवा– रुपन्देहीका स्तरीय होटलमा सवा खर्ब लगानी पुगेको छ । तारे स्तरका होटलले जिल्लामा ६ हजारलाई रोजगारी प्रदान गरिरहेका छन् । जिल्लामा लगानी थपिने क्रम जारी छ । रुपन्देहीका विभिन्न स्थानमा अहिले आधा दर्जन भन्दा बढी पाँचतारे होटल निर्माण भइरहेका छन् । नयाँ चारतारे होटल निर्माणसँगै लगानी थपेर स्तर बृद्धि पनि चलिरहेको छ । धमाधम होटल निर्माणपछि रुपन्देही होटल हब बनेको छ ।
रुपन्देहीमा लुम्बिनी हेरिटेज, सिद्धार्थ भिलासा, टाइगर प्यालेस बाई सोल्टी र ह्यात प्यालेस पाँचतारे होटल सञ्चालनमा छन् । भैरहवा–लुम्बिनी खण्ड अन्तर्गत हायात रिजेन्सी, होलिडे इन निर्माण चरणमा छन् । लुम्बिनी प्यालेस रिसोर्टलाई स्तरोन्नती गरेर मेरियट ब्राण्डमा पाँचतारे लक्जरी वेलनेश रिसोर्ट बनाइँदैछ । भैरहवाको बुद्धचोकमा अर्को पाँचतारे होटल निर्माणाधीन छ । लुम्बिनी हेरिटेज होटलका प्रवन्ध निर्देशक अनील श्रेष्ठ तारे होटलको सञ्चालनसँगै विदेशी व्यवस्थापन कम्पनी पनि भित्रिरहेको बताउँछन् । ‘एकपछि अर्को स्तरीय होटल सञ्चालनमा आइरहेका छन्,’ उनले भने, ‘यसले सेवासँगै हस्पिटालिटीको स्तर पनि बृद्धि हुनेछ ।’

बुद्ध जन्मस्थल लुम्बिनीका कारण पनि विभिन्न मुलुकबाट बौद्ध धर्मावलम्बी यहाँ आइरहेका छन् । पछिल्लो पटक भारतबाट धार्मिक यात्रा, सिमावर्ती सहरमा मनोरञ्जन र हिल स्टेशन घुम्न पर्यटक ओइरिरहेका छन् । यसले लगानीकर्तालाई हौस्याएको पर्यटन व्यवसायी तथा बुटवलको क्लब डेनोभोका सञ्चालक प्रवीणबहादुर पाठकले बताए । ‘पर्यटकलाई एक दिन भए पनि रुपन्देहीमा बसाउने चुनौती छ,’ उनले भने, ‘धेरै पर्यटक रुपन्देहीको बेलहिया नाका हुँदै मुलुक प्रवेश गरेर अन्य गन्तव्यमा पुग्छन् । तिनलाई एक भए पनि रुपन्देही बस्ने वातावरण बनाउन जरुरी छ ।’
उनका अनुसार रुपन्देहीका भैरहवा, लुम्बिनी, तिलोत्तमा, बुटवल, सियारी, सैनामैना, देवदहमा होटल खुल्नेक्रम तिब्र छ । भारतीय लक्षित गरेर सीमा नजिक सुविधा सम्पन्न वार्टर पार्क पनि सञ्चालनमा ल्याइएको छ । रुपन्देहीमा डेढ दर्जन भन्दा बढी चारतारे होटल सञ्चालनमा छन् । स्तरीय होटलको संख्या एक सय भन्दा धेरै छ । बेलहिया–बुटवल र भैरहवा–लुम्बिनी कोरिडोर आसपास होटल खुलिरहेका छन् । एक दर्जन हाराहारी क्यासिनो छन् । नयाँ सञ्चालनमा आएका होटलमा क्यासिनो सञ्चालनको तयारी छ ।

अधिकांशले डेस्टिनेशन वेडिङ र कर्पोरेट कार्यक्रम लक्षित गरेका छन् । भैरहवाको बेलहियादेखि बुटवलको चिडियाखोलासम्म राजमार्ग दायाँबायाँ स्पा छन् । ‘धेरैजसो भारतीय मनोरञ्जनका लागि आउने गरेका छन्,’ होटल एशोसियशन नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी) श्रेष्ठले भने, ‘क्यासिनो सहितका तारे होटलको सञ्चालन बढिरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भएमा संख्या अझैं बढ्ने देखिन्छ ।’ रुपन्देहीमा होटल, रिसोर्ट र रेष्टुरेन्ट व्यवसायमा सवा खर्ब हाराहारी लगानी भइसकेको उनले बताए ।

होटलमा ६ हजार हाराहारीले प्रत्यक्ष रोजगारी गरिरहेको श्रेष्ठको भनाई छ । यस बाहेक अप्रत्यक्ष लाभ प्राप्त गर्ने धेरै छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लक्षित लगानी गरेका कतिपय लगानीकर्ता निराश बनेको उनको भनाई छ । पाहुना नभएपछि धेरै लगानीकर्ताले होटल विक्री गरेका छन् । केहीलाई बैंकको किस्ता चुकाउने चिन्ता छ ।








प्रतिकृया दिनुहोस्