September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

नेपाल–भारत मैत्री उत्सवः संगीतको धुनमा गुन्जिएको सीमापारको सम्बन्ध

Advertisement

कपिलवस्तु– वर्ष २०२६ मा भारतले आफ्नो ८० औँ स्वतन्त्रता दिवस मनाइरहँदा सीमावर्ती सहर कपिलवस्तुको तौलिहवामा त्यसको विशेष रौनक देखिएको छ । सोही अवसर पारेर काठमाडौँस्थित भारतीय दूतावासको आयोजनामा तौलिहवामा सांगीतिक तथा सांस्कृतिक उत्सव भएको छ ।

Advertisement

सीमा क्षेत्रका गल्लीहरूमा जब सांगीतिक धुन गुन्जिन्छ, तब सीमा रेखाका नक्साहरू धमिलो बन्छन् र केवल मुटुको धड्कन सुनिन्छ । दुई देशका नागरिकलाई राजनीतिक नक्साले छुट्याए पनि कला, संस्कृति र जनस्तरको अटुट सम्बन्धले सधैं जोडिरहन्छ । यस्तै आत्मीयताको एउटा सुन्दर झलक देखियो, बुद्धभूमि कपिलवस्तुको तौलिहवामा ।

काठमाडौँस्थित भारतीय दूतावासको आयोजनामा सम्पन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमले तौलिहवाको माहोललाई उत्सवमय मात्र बनाएन, दुई छिमेकी राष्ट्रबीचको शताब्दीऔँ पुरानो सांगीतिक र सांस्कृतिक पुललाई अझ मजबुत बनायो ।

जब मञ्चमा भारतीय गायक राजेश पाण्डेले देशभक्तिले ओतप्रोत कालजयी गीतहरू प्रस्तुत गरे, तब उपस्थित दर्शकदीर्घा मन्त्रमुग्ध बन्यो । ‘जब शून्य दिया मेरे भारत ने, दुनिया को तब गिन्ती आयो’ र ‘है प्रीत जहाँ की रीत सदा’ जस्ता लोकप्रिय गीतहरू गुन्जिँदा सभाहलमा गुन्जिएको तालीको गडगडाहटले सङ्गीतको कुनै सीमा हुँदैन भन्ने सत्यलाई पुनः पुष्टि गर्यो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नेपाल र भारतको सम्बन्ध केवल कूटनीतिक दस्तावेजमा सीमित नरहेर तल्लो तहका नागरिकको पारिवारिक र सांस्कृतिक बन्धनमा आधारित रहेको बताए । गौतम बुद्धको क्रिडास्थल कपिलवस्तु र जन्मस्थल लुम्बिनीसँग जोडिएको यस ऐतिहासिक भूमिमा यस्ता सांस्कृतिक आदानप्रदान हुनुले दुवै देशको साझा बौद्ध तथा सांस्कृतिक विरासतको प्रवद्र्धन गर्ने उनको भनाइ थियो ।

भारतीय दूतावासका संयोजक वसीम मलिकले यस्ता कार्यक्रमहरूले दुई देशका जनताबीच आपसी सद्भाव, विश्वास र भातृत्वको भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

लुम्बिनी विकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीको संयोजन र किमोद थापाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा भारतीय दूतावासका प्रतिनिधि अरविन्द सिंह, स्थानीय पालिका प्रमुखहरू गोपाल थापा र कमलेश शरण चौधरी, सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।

वर्षहरू बित्लान्, मितिहरू पुराना होलन्; तर संगीतको माध्यमबाट तौलिहवामा पोखिएको यो आत्मीयता र सीमापारिको न्यानो भातृत्व भने सधैं ताजा र अमर रहनेछ ।