August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी र गण्डकीका व्यवसयीले हातेमालो गर्नुपर्नेमा जोड

Advertisement

भैरहवा– पर्यटन व्यवसायीहरुले पर्यटकीय राजधानी पोखरा र विश्व सम्पदास्थल लुम्बिनीको प्रवर्द्धनका लागि दुबै ठाउँका व्यवसायीहरुले हातेमालो गरेर प्रचारप्रसार र प्रवर्द्धनका कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् । लुम्बिनी र गण्डकीका व्यवासायीहरुले सरकारले पर्यटन नीतिलाई समयसापेक्षा बनाउनुपर्ने र आन्तरिक तथा बाह्य मुलुकहरुमा प्रवर्द्धनात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिए । यस्तै, सडक संजाल र हवाई कनेक्टिभिटीलाई पनि बढवा दिनुपर्नेमा उनीहरुको जोड छ ।

Advertisement

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि सुरु गरेको अन्तरप्रदेश प्रवर्द्धनात्मक भ्रमणका क्रममा भैरहवामा भएको छलफलमा व्यवसायीले पर्यटन क्षेत्रलाई सरकारको सहयोग बढीभन्दा बढी आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले पर्यटकीय राजधानी पोखरामा आफूहरुले लुम्बिनीका पर्यटकलाई स्वागत गर्न आतुर रहेको जनाए । अन्तरप्रदेश प्रवर्द्धनात्मक भ्रमणले पर्यटन प्रवर्द्धनसँगै पर्यटकीय साझोदारी लगायतका महत्वपूर्ण उपलब्धि हासिल भएको उनले बताए । उनले कोरोनापछि स्वदेशी र विदेशी पर्यटक पर्याप्त मात्रामा भित्र्याउन नसकेको जनाउँदै अब छिट्टै भारतीय सहरहरुमा पनि प्रवर्द्धनात्मक कार्यक्रम सुरु गर्ने जनाए । ‘यसका लागि हामी दुबै प्रदेशका सरकार र व्यवसायी हातेमालो गर्न जरुरी छ’, उनले भने, ‘हामीले जहाँ गए पनि नेपालमा पर्यटकलाई भित्र्याउन कोसिस नै गर्ने हो ।’

नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रबहादुर थापाले लुम्बिनीदेखि पश्चिम नेपालको पर्यटनको ढोका गौतमबुद्ध विमानस्थल संचालन नै रहेको जनाए । उनले गण्डकी सरकारले जस्तै लुम्बिनी सरकारले पनि प्रवर्द्धनात्मक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष थापाले पछिल्लो समय अनलाइन टिकेटिङका कारण ट्राभल व्यवसायी पलायन हुने अवस्थामा पुगेको भन्दै सरकारले नियमन गर्न जरुरी रहेको बताए । बैंकिङ एपबाटै अन्तर्राष्ट्रिय टिकट काट्ने व्यवस्था गरेर बैंकहरुले गलत काम गरिरहेको जनाए ।

नाट्टा लुम्बिनीका पूर्वअध्यक्ष सागर अधिकारीले पर्यटन नीति नै सही नभएको बताए । उनले भारतीय गाडीहरु निर्वाध रुपमा नेपालका सबै गन्तव्यहरुमा पुग्दा ट्राभल र नेपाली व्यवसायी मर्कामा परेको जनाए । ‘सिक्किम जाँदापर्यटक चढेको गाडी पार्किङ गर्न लगाएर त्यहाँको सरकारले प्रदेशभित्रैकै गाडी प्रयोग गर्न अनिवार्यता गरेको छ, तर हाम्रोमा भारतीय गाडीले तिर्दै आएको भन्सार सुविधाको रकम पनि छुट हुनपर्छ भनिन्छ’, उनले भने, ‘कम्तिमा गाडी लिएर आउने भारतीयहरुलाई नेपाल आइसकेपछि उनीहरुको गाडी पार्किङ गरेर यहीको गाडी प्रयोग गर्नुपर्ने व्यवस्था गरौं ।’

उनले लुम्बिनी सरकारले प्रवर्द्धनात्मक कार्यक्रम पनि गर्न नसकेको जनाए । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश पर्यटक विकास परिषदका प्रमुख कार्यकारी अधिकृत रामु जोशीले पर्यटकीय प्रवर्द्धनमा सरकारले सकारात्मक पहल गरिरहेको जनाए । उनले लुम्बिनी सरकारले घुमौं बर्दिया जस्ता थुप्रै कार्यक्रमहरु संचालन गरेको सुनाए । यस्तै, गण्डकी र लुम्बिनी सरकारबीच सामूहिक रुपमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम संचालनको तयारी भएको जनाउँदै यसले दुबै प्रदेशको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक मनिराम लामिछानेले दुबै प्रदेश पर्यटकीय हिसाबले अथाह सम्भावना बोकेका क्षेत्र भएकाले सामूहिक कार्यक्रम गरी अघि बढ्दा पर्यटक क्षेत्र चलायमान हुने र त्यसबाट लाभ उठाउन सकिने जनाए । उनले यही सन्देश बोकेर लुम्बिनीमा प्रवर्द्धनात्मक कार्यक्रम लिएर आएको सुनाए ।

कार्यक्रममा नाट्टा गण्डकीका निवर्तमान अध्यक्ष हरिराम अधिकारी, गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी, सिद्धार्थ होटल संकका उपाध्यक्ष भोजबहादुर खत्री, पर्यटन व्यवसायीहरु श्रीचन गुप्ता, गणेश बेल्बासे लगायतले बोल्दै सहकार्य गरेर अगाडि बढे लुम्बिनी र गण्डकी प्रदेशले पर्यटनबाटै समृद्धि हासिल गर्न सक्ने जनाए । उनीहरुले यसका लागि कनेक्टिभिटी र सडक संजालको सुधार जरुरी रहेकोमा जोड दिए । अन्तर प्रदेश पर्यटक प्रबद्र्धन गर्ने उद्देश्यले नाट्टा गण्डकीको टोली भैरहवा आएको हो ।