June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

८ हजार कर्मचारीलाई कामबाट निकाल्दैछ मेटा

Advertisement

सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटाले करिब ८, हजार कर्मचारी कटौती गर्ने योजना बनाएको छ । कम्पनीले बिहीबार कर्मचारीहरूलाई पठाएको मेमोमा कुल कार्यबलको झण्डै १० प्रतिशत कटौती गरिने उल्लेख गरिएको छ ।

Advertisement

कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा खर्च तीव्र रूपमा बढाउँदै गर्दा कम्पनीले यो घोषणा गरेको हो । मेमोअनुसार, कम्पनीले हजारौँ रिक्त पदहरू पनि अब नभरिने जनाएको छ । यस निर्णयको मुख्य कारण एआई परियोजनामा बढ्दो लगानी हो । स्रोतका अनुसार, मेटाले यस वर्ष एआईमा करिब १३५ अर्ब डलर खर्च गर्ने तयारी गरेको छ, जुन अघिल्ला तीन वर्षको कुल खर्च बराबर हो ।

कम्पनीका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले यसअघि नै एआईका कारण काम गर्ने तरिकामा ठुलो परिवर्तन आउने संकेत दिएका थिए । उनले एआई उपकरण प्रयोग गर्ने कर्मचारीहरू धेरै उत्पादक भएको र पहिले ठुलो टोलीले गर्ने काम अब एक व्यक्तिले नै गर्न सक्ने बताएका थिए । “मलाई लाग्छ २०२६ एआईले हाम्रो काम गर्ने तरिकालाई नाटकीय रूपमा परिवर्तन गर्ने वर्ष हुनेछ,” उनले भनेका थिए।

मेटाले सन २०२२ यता पटक–पटक कर्मचारी कटौती गर्दै आएको छ । यस वर्ष मात्र कम्पनीले दुई चरणमा करिब २ हजार कर्मचारी हटाइसकेको छ । अब हुने कटौती भने २०२३ पछिकै सबैभन्दा ठुलो हुनेछ । हालका महिनाहरूमा कम्पनीले एआई मोडेल र उपकरण विकासमा विशेष ध्यान केन्द्रित गरेको छ । यसै सन्दर्भमा कम्पनीले कर्मचारीहरूको कम्प्युटर प्रयोगसम्बन्धी गतिविधि ट्र्याक गरेर एआई सुधार गर्न प्रयोग गर्ने योजना पनि अघि सारेको छ, जसलाई केही कर्मचारीहरूले विवादास्पद बताएका छन् ।