‘खतराको सूचीमा परिसकेको लुम्बिनीलाई बल गरेर जोगाउने र रमाउने’


भैरहवा – यतिबेला लुम्बिनी नेतृत्वविहीन छ । उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिव नियुक्तिमा ढिलाइले लुम्बिनी विकास कोषमा दूरगामी निर्णय हुन सकेका छैनन् । नयाँ आर्थिक वर्षका लागि योजना बनाउने बेला कोष नेतृत्वविहीन बनेको हो । यहीँ बेला लुम्बिनी बचाउ अभियान विगतमा भएका भ्रष्टाचार छानवीनको माग गर्दै संघीय राजधानीमा दौडधुपमा छ ।
लुम्बिनी विकास कोषमा चयन भएका नेतृत्वका कारण सम्पदा संरक्षण भन्दा संकटमा फसिरहेको छ । त्यसैले दुई वर्षदेखि विश्व सम्पदा लुम्बिनी युनेस्कोको खतराको सूचीमा पर्ने–नपर्ने द्विविधामै चलिरहेको छ । लगभग खतराको सूचीमा परिसकेको लुम्बिनीलाई बल गरेर जोगाउने र त्यसमै रमाउने भइरहेको छ । पछिल्लोपटक पुनः एक वर्षका लागि लुम्बिनी युनेस्को खतराको सूचीमा पर्नबाट जोगिएको छ । दुई वर्षदेखि लुम्बिनीको अस्तित्व रहने–नरहने तानातानी चलिरहेको छ । केही दिन अघि दक्षिण कोरियाको बुसानमा आयोजना भएको युनेस्को वल्र्ड हेरिटेज कमिटिको ४८ औं सेसनले एक वर्षका लागि लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो । लुम्बिनीमा सुधारका प्रयास र पुरातत्व संरक्षणका कामलाई प्राथमिकतामा राखेको पाइएपछि सरकार र विकास कोषलाई एक वर्षका लागि राहत भएको हो ।
वल्र्ड हेरिटेज कमिटिले एजेण्डामै राखेर लुम्बिनीका विषयमा बहस चलाएको थियो । तीन वर्षदेखि लुम्बिनीलाई युनेस्कोको खतराको सुचिमा राख्ने एजेण्डा बनिरहेको छ । २०२६ को पे्रmबुअरी ४ देखि ७ सम्म युनेस्कोका प्रोफेसर रोलान लिन र ईकोमसका डा. माईकल पियर्सन संमिलित रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी आएको थियो । टोलीले दिएको प्रतिबेदनका आधारमा वल्र्ड हेरिटेज कमिटिको ४८ औं सेसनमा छलफल हुदा लुम्बिनी खतराको सूचिमा पर्नबाट जोगिएको लुम्बिनी विकास कोष निमित्त सदस्य सचिब ज्ञानीन राईले बताए । .
रिएक्टिभ मनिटरिङ मिसनले लुम्बिनीको चासो र चिन्ता राख्दै २०२५ मा बिज्ञ र विशेषज्ञलाई बोलाएर अन्तर्राष्ट्रिय सम्पदा सम्मेलन गरेको र लुम्बिनीमा हुने अध्ययन अनुसन्धानलाई थप उचाईमा पुर्याउन अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (आईएससी)लाई पुनःस्थापना गरेको कुरा सकारात्मक भएको रिएक्टिभ मनिटरिङ मिसन सदस्य प्रोफेसर रोलान लिनले बताए । त्यस्तै अन्तर्राष्ट्रिय वैज्ञानिक समिति र सन् २०२२ को रिएक्टिभ मनिटरिङ मिसनका सिफारिस कार्यान्वयन सम्बन्धी व्यवस्थित प्रतिवेदन प्रणालीको स्थापना गरेको र मायादेवी मन्दिर परिसरका पुरातात्विक संरचना नियमित अनुगमन गर्दै संरक्षणका काम गरेकाले सुधारका संकेत देखिएको उनले बताए ।
वल्र्ड हेरिटेज कमिटिको ४८ औं सेसनले २०२६ को रिएक्टिभ मनिटरिङ मिसनले दिएका १३ बुदे सुझाव कार्यान्वयन गर्न निर्देशन गरेको छ । पवित्र उद्यान क्षेत्रभित्र रहेका पुरातात्विक संरचनामा क्षति वा असर पर्न नदिने गरि पुरातात्विक जोखिम नक्साको प्रयोग र मायादेवी मन्दिरभित्र रहेका पुरातात्विक संरचना संरक्षणको सुनिश्चित गर्ने गरि काम गर्न निर्देशन गरिएकोछ ।
प्रस्तावित विश्व बैंक परियोजनाको कार्यान्वयन गर्नु अघि लुम्बिनीका सन्दर्भमा बनाईएको भौतिक योजना, क्षेत्रगत रणनीतिसंग तालमेल गरि संपदा प्रभाव मुल्यांकन गरेर कम गर्न भनिएकोछ । लुम्बिनीको एकीकृत व्यवस्थापन संरचना तथा पवित्र उद्यानको विस्तृत भौतिक योजनामा बौद्ध धर्मका विचार, आस्था र विश्वाससंग सम्बन्धित अमूर्त जीवित परम्परा, पूजाआजालाई संमान गर्दै स्थापित गर्न र तीर्थयात्रीलाई दिने सेवा सुविधा बौद्ध संघ–संस्थाको सहभागिता गरेर निर्णय लिएर काम गर्न भनिएकोछ । लुम्बिनीमा गरिने विकास निर्माणकाकाममा सम्पदा प्रभाव मूल्यांकन गर्नु पर्ने र केन्जो टांगे गुरुयोजनाको पुनरावलोकन गरेर काम गर्न सुझाईएको छ ।
लुम्बिनी विकास कोष पुरातत्व शाखाको क्षमता अभिबृद्धी गर्नु पर्ने, मायादेवी मन्दिरको संरचना पुरानो र जीर्ण भएकाले के गर्ने हो, अध्धयन गरेर निकास दिन र लुम्बिनीको अद्वितिय विश्व ब्यापी महत्वलाई जोखिम नहुने गरि काम गर्न निर्देशन गरेकोछ । त्यस्तै वायु प्रदुषण, औद्योगिक इन्क्रोचमेण्ट र ध्वनी प्रदुषणको चासोपनि उत्तिकै राखेको छ । १३ बुदे सुझावको अद्यावधिक प्रतिबेदन १ फेबुअरी २०२७ भित्र युनेस्को मुख्यालयलाई स्टेट अफ कन्जभेसन रिपोर्ट (एसओसी) पठाउन आग्रह गरिएको छ ।
२०२४ र २०२५ रिएक्टिभ मनिटरिङ मिसनले दिएका सुझावलाई आत्मसात गरेर सुधार, संरक्षण, कानूनी स्पष्टता र नीति निर्माण गरेर काम गरेकाले कोरियामा भएको बैठकले सकारात्मक परिणाम दिएको लुम्बिनी विकास कोष पुरातत्व शाखा प्रमुख हिमाल उप्रेतीले बताए । ‘सब कुरालाई समेटेर दिनरात नभनी काम गरेका थियौं,’ उनले भने्, ‘यसले राम्रो परिणाम दियो ।’ खतराको सूचिमा पर्नबाट जोगिनु राम्रो कुरा भएको लुम्बिनी बौद्ध विश्वविद्यालय उपप्रध्यापक सिरी बजिरले बताए । अब संरक्षणमैत्री काम गरेर सधैकालागि खतराको सूचिबाट जोगिनुपर्ने बताए ।








प्रतिकृया दिनुहोस्