August 4, 2026, Tuesday
२०८३ श्रावण २० बुधबार

एडिबीको लगानीमा चक्रपथ, सिमसार र पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै सैनामैना

Advertisement

भैरहवा–एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा रुपन्देहीको सैनामैना नगरपालिकाभित्र ठुला पूर्वाधार तथा पर्यावरणीय विकासका आयोजनाको प्रकृया अघि बढेका छन् । एडिबीले नगरको ठूलो परियोजना मानिएको चक्रपथ सहित दुई महत्वपूर्ण सिमसार क्षेत्रको संरक्षण र पूर्वाधार विकासमा लगानी प्रक्रिया अगाडि बढाएको हो ।

Advertisement

सैनामैनामा ६५ किलोमिटर लामो नगरस्तरीय चक्रपथको निर्माण कार्य अहिले तीव्र गतिमा भइरहेको छ । जसमध्ये, हालसम्म ४५ किलोमिटर सडकको निर्माण सम्पन्न भइसकेको छ । बाँकी २० किलोमिटर खण्डका लागि ठेक्का सम्झौता भई काम अघि बढाउने अन्तिम तयारी गरिएको छ ।

सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी मरासिनीले निर्माणाधिन नगरको चक्रपथ योजना ठूलो रहेको र कुनै कारणले सैनामैनामा पर्ने पूर्व पश्चिम राजमार्ग अवरुद्ध रहेमा बुटवल र अन्य पालिकाकमा पुग्न सकिने बैकल्पिक मार्गको रुपमापनि प्रयोग हुन सक्ने बताए । ‘केही दिन अघि पूर्व पश्चिम राजमार्ग अन्तर्गत धमाहापुल भत्किदा निर्माणाधिन येही चक्रपथ निर्माणका कारण राजमार्ग अवरुद्ध भएन’ मरासिनीले भने, ‘एडिबीको अन्य योजनामा पोखरीहरुको निर्माण सहित संरक्षण र सुन्दरीकरणका योजना समावेश छन् ।’

पूर्वाधारसँगै नगरभित्रका प्राकृतिक स्रोतको संरक्षण र पर्यटकीय सम्भावनालाई जोड्न दुई वटा सिमसार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । सालझन्डी सामुदायिक वनभित्र प्राकृतिक रूपमा पानी बग्ने तथा जम्ने राजापानी क्षेत्रलाई संरक्षण गरी पर्यटनसँग जोड्ने योजना नगरपालिकाको छ । स्थानीयको संरक्षण प्रयासपछि पुनर्जीवित भएको यस वनको बिचबाट बग्ने जर्लैयाखोलामा अहिले बाह्रै महिना पानी बग्छ ।

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले नगरको चक्रपथ, नाला, फुटपाथ तथा सौन्दर्यकरणका लागि ९३ करोड कुल लागत अनुमान गरिएको जनाए । यसमध्ये ७० करोड रुपैयाँ एडिबीको वित्तीय योगदान रहने र बाँकी रकम नेपाल सरकार र स्थानीय निकायले साझेदारी गर्ने उनले बताए ।

यसैगरि, वर्षभरि पानी रहने र सारसजस्ता चराचुरुङ्गीको वासस्थान रहेको बाह्रबिघा पोखरीलाई आकर्षक र उत्कृष्ट पर्यापर्यटन गन्तव्यका रूपमा विकास गर्न एडिबीले अध्ययन गरिरहेको छ ।

स्थानीयको सक्रियतामा सामुदायिक वन पुनर्जीवित भएपछि पहिले सुक्ने खोलामा वर्षैभरि पानी बग्न थालेकोर राजापानी र बाह्रबिघालाई उत्कृष्ट सिमसार गन्तव्य बनाउने नगरपालिकाको लक्ष्य रहेको सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले बताइन् ।