July 28, 2026, Tuesday
२०८३ श्रावण १२ मंगलवार

लुम्बिनीमा फेरि मुख्यमन्त्रीको दौड

Advertisement

भैरहवा — प्रदेशमा नयाँ सत्ता समीकरण तय भएसँगैं नयाँ मुख्यमन्त्रीको दौड सुरु भएको छ । एमाले र नेकपाबीच प्रदेशमा मिलेर सरकार निर्माण गर्ने सहमतीसंगैं कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीले आइतबार राजीनामा बुझाइसकेका छन् । लुम्बिनीमा अहिले चेतनारायण आचार्य मुख्यमन्त्री छन ।

Advertisement

यसअघि आलोपालो सरकार सञ्चालन गर्ने शर्तमा काँग्रेस–एमाले गठबन्धन थियो । मुलुकमा राजनीतिक समीकरण परिवर्तन र पार्टीमा पुस्तान्तरणको दबाबसँगैं काँग्रेस–एमाले समीकरण धरापमा परेको थियो । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुस्पकमल दाहालबीच प्रदेशमा मिलेर सरकार बनाउने सहमती बनेको हो । यसअघि काँग्रेस सत्ताबाट बाहिरिएको हो ।

नयाँ समीकरण अनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने तय भएको छ । जसका कारण वर्तमान मुख्यमन्त्री आचार्य आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गरिरहेका छन् । आफ्नो निरन्तरताका लागि आचार्य अहिले लविङमा रहेका छन् । उनी काठमाडौंमा दौडधुपमा रहेको एमालेले जनाएको छ । एमाले भित्र सरकारको नेतृत्वका लागि लीला गीरी र अन्य नेताहरु पनि आकाँक्षी रहेको बताइएको छ ।

नयाँ सरकार गठनको बाटो खला गर्न आतइबार कांग्रेसबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज), सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले कांगेस संसदीय दललाई राजीनामा बुझाएका हुन् ।

कांगेस प्रमुख सचेतक जमुना ढकालले कांग्रेसबाट सरकारमा सहभागी ५ जनाकै राजीनामा दलको कार्यालयमा आएको र आइतबार सार्वजनिक बिदा अनि मुख्यमन्त्री पनि देउखुरी बाहिर भएकाले बुझाउन नसकिएका बताइन् । ‘कांग्रेसका सबै मन्त्रीले राजीनामा बुझाई सक्नु भएको छ, आज मुख्यमन्त्री देउखुरी बाहिर भएको बुझाउन सकिएन,’ उनले भनिन्, ‘सोमबार दलको तर्फबाट सामूहिक रूपमा राजीनामा बुझाउने र सोमबार नै मुख्यमन्त्रीले स्वीकृत गर्ने गरी छलफल भएको छ ।’

लुम्बिनीमा सरकारबाट २७ सदस्य सहितको कांग्रेस बाहिँरिएपछि १३ सदस्य रहेको नेकपा सरकारमा भित्रिएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सांसद छन् । तीमध्ये एमालेका २९, कांग्रेसका २७, नेकपाका १३ (सभामुखसहित), जसपा नेपालका २, राप्रपाका ४, जनमत पार्टीका ३, लोसपाका दुई तथा जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक–एक सांसद छन् ।

बहुमतका लागि एमाले र नेकपाले साना दल या स्वतन्त्र मध्य कुनै एकलाई लिनै पर्ने बाध्यता छ । त्यसैले अहिले पनि सरकारमै खेलकुदमन्त्री रहेका लोसपालाई एमाले नेकपाले सत्ता साझेदार दलका रुपमा प्रयोग गर्न सक्ने सम्भावना छ । मुख्यमन्त्री आचार्यले मन्त्रीहरुको राजिनामा आउने जानकारी आएपछि पछिल्लो केन्द्र्रको समीकरणअनुसार सरकार पुर्नगठनका लागि छलफल सुरु भएको बताए ।