August 4, 2026, Tuesday
२०८३ श्रावण २० बुधबार

रुपैडिहा नाकामा नेपाली यात्रुमाथि सास्ती र असुरक्षा, ई–रिक्साको मनपरी

Advertisement

नेपालगन्ज–नेपाल र भारतबिच अवागमन हुने प्रमुख सीमा नाकामध्येको एक हो, नेपालगन्ज–रुपैडिहा सीमानाका । विशेष गरी नेपालको पश्चिमी क्षेत्रका कर्णाली र सुदूरपश्चिम भेगका दैनिक हजारौँ नेपाली नागरिक यसै नाका हुँदै रोजगारी, अध्ययन, भ्रमण तथा उपचारका लागि भारत आवतजावत गर्छन् ।

Advertisement

व्यापारिक दृष्टिकोणले समेत उत्तिकै महत्वपूर्ण यस नाकामा बिहानैदेखि रातिसम्म दुवै देशका सर्वसाधारणको आवागमन हुने गर्छ । तर, पछिल्लो समय सीमावर्ती भारतीय बजार रुपैडिहास्थित बसपार्क क्षेत्रमा नेपाली यात्रुमाथि असुरक्षा र सास्ती बढ्दै गएको छ । भारतका विभिन्न सहरबाट काम गरेर फर्किने तथा जाने नेपाली यात्रुहरू ई–रिक्सा चालकहरूको तानातान, छिनाझपटी र अभद्र व्यवहारबाट प्रताडित बन्दै गएका छन् ।

भारतको शिमलाबाट काम गरेर नेपाल फर्किएका जाजरकोट ढिमेका नन्दलाल विकले बस रोकिनासाथ रेक्सा चालकहरू यात्रुमाथि झम्किने, सामान खोसेझैँ गरेर उठाउने र तानातान गर्ने गरेको बताए । ‘यस खालको व्यवहारले हामीले सीमा क्षेत्रमै असुरक्षा महसुस गरिरहेका छौँ’ उनले भने, ‘दुवै देशका सुरक्षाकर्मीले सिमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन आवश्यक छ ।’

यस नाकाबाट भारतका हरिद्वार, शिमला, दिल्ली, जयपुर, कानपुर, लखनउ, मुम्बई, आगरा, मथुरा, गोवा र गुजरातलगायतका स्थानबाट रुपैडिहा बसपार्कमा दैनिक सञ्चालन हुने रोडवेज बसहरूबाट ठुलो सँख्यामा नेपालीहरू आउने–जाने गर्छन् । तर, बस ओर्लनासाथ भोग्नुपर्ने सास्तीले उनीहरूलाई आजित बनाएको छ ।

यस्तै दुखेसो भारतको सल्यान कपुरकोटका रामसिंह धामीको पनि छ । ई–रिक्सा चालकहरूले बस रोकिएलगत्तै चारैतिरबाट घेर्ने, जबरजस्ती तान्ने र गालीगलौजका साथै हातपात गर्ने गरेको अनुभव उनको छ । ‘कतिपय अवस्थामा मनपरी भाडा असुल गर्ने र धक्का–मुक्की हुँदा केही नेपाली यात्रु घाइतेसमेत भएका छन्’ धामीले भने ।

नेपाली यात्रुहरूका अनुसार, केही ई–रिक्सा चालकहरू जबरजस्ती बसभित्रै प्रवेश गरेर यात्रुको झोला तथा ब्याग बोकेर आफ्नै अटोमा राखिदिन्छन् । भिडभाड र भद्रगोलको फाइदा उठाउँदै कतिपय यात्रुको सामान हराउने र चोरीका घटना नियमित जस्तै बनेका छन् । सवारी चढाउने अस्वस्थ प्रतिस्पर्धाका कारण नेपाली यात्रुमाथि धक्का–मुक्की, गालीगलौज र कहिलेकाहीँ कुटपिटसम्मका घटना हुने गरेका छन् ।
बसपार्क क्षेत्रमा असुरक्षा बढ्दै गएपछि भारतीय रोडवेज डिपो प्रशासनले पनि स्थानीय प्रहरीलाई नियन्त्रणका लागि माग गरेको छ ।

रुपैडिहा रोडवेज डिपोका प्रभारी राम प्रकाशका अनुसार यस समस्याबारे यसअघि पनि स्थानीय प्रहरीलाई पटक–पटक जानकारी गराइएको थियो । तर, समयमा प्रहरी नखटाउँदा समस्या बढ्ने गरेको छ ।
समस्या समाधानका लागि रुपैडिहा प्रहरी थानाका प्रमुख (प्रभारी निरीक्षक) हरेन्द्र कुमार मिश्रले बिहानको समयमा यात्रुको सुरक्षालाई ध्यानमा राखेर बसपार्कमा दुई जना प्रहरी खटाउने आश्वासन दिएका छन् ।

भारतीय स्थानीय बासिन्दाले पनि यात्रुको चाप बढी हुने समयमा पर्याप्त सुरक्षा नहुँदा यस्ता अराजक गतिविधि मौलाएको बताएका छन् । रुपैडिहा बजारका स्थानीय नवी अहमदले नेपाली यात्रुको ठुलो चाप हुने बिहानको समयमा बसपार्कमा निरन्तर सुरक्षाकर्मीको परिचालन गरी सुरक्षा कडा पार्नु पर्ने बताए ।