कोटहीमाईमा अध्ययन अवलोकन भ्रमण र अनुगमनका नाममा लाखौं खर्च


भैरहवा– रुपन्देहीको कोहटीमाई गाउँपालिकामा अध्ययन अवलोकन भ्रमणका नाममा जनप्रतिनिधि, कर्मचारी तथा नागरिक समाजका प्रतिनिधिलाई विभिन्न स्थानमा पठाउँदै लाखौं रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा यस्ता भ्रमणबाट पालिकालाई दीर्घकालीन र प्रत्यक्ष लाभ हुने आधार स्पष्ट नभएको उल्लेख गर्दै खर्चको प्रभावकारिता विश्लेषण गर्न सुझाव दिएको छ ।
प्रतिवेदनअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले योजना निर्माण गर्दा आर्थिक विकास, गरिबी निवारण, उत्पादनमूलक तथा छिटो प्रतिफल दिने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको भए पनि पालिकाले अध्ययन अवलोकन भ्रमणलाई समेत कार्यक्रममा समावेश गरी खर्च गरेको देखिएको छ ।
प्रतिवेदनमा ५० जना जनप्रतिनिधि, कर्मचारी र नागरिक समाजका प्रतिनिधिलाई मकवानपुर, जनकपुर तथा विरंगज भ्रमण गराउँदा ४ लाख ९६ हजार खर्च गरिएको उल्लेख छ ।
यस्तै वडा नं. ४ का २६ जना जनप्रतिनिधि तथा कर्मचारीलाई मुक्तिनाथ, पोखरा र पाल्पा भ्रमण गराउँदा २ लाख ९९ हजार ६९०, वडा नं. ६ का २५ जनालाई स्याङ्जा, पोखरा र मनकामना भ्रमण गराउँदा ३ लाख ९६ हजार ५०४ तथा वडा नं. २ का ८ जनालाई मुक्तिनाथ र स्वर्गद्वारी भ्रमण गराउँदा रु. १ लाख ४९ हजार ८७५ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालेखाले यस्ता भ्रमण कार्यक्रम आवश्यकतामा आधारित मापदण्ड बनाएर मात्र सञ्चालन गर्न र खर्चको प्रभावकारिता मूल्याङ्कन गरी सार्वजनिक स्रोतको सदुपयोग गर्न सुझाव दिएको छ । पछिल्लो समय स्थानीय तहमा मनपरी भ्रमण गराउने र खर्च गर्ने गरिएको छ । जनप्रतिनिधिले तलब सुविधा लिएर पनि भ्रमणमा नागरिकको करबाट जम्मा भएको रकम दुरुपयोग गरिरहेका छन् । यसले उनीहरुको मितव्ययितामा प्रश्न उठ्ने गरेको छ । न यस्ता भ्रमण फलदायी छन् न त प्रभावकारी नै भएको छन् । उल्टै पैसा सक्न अनेक ठाउँमा भ्रमण गर्ने गरिएको छ । कोटहीमाईले पनि भ्रमणका नाममा पालिकाको रकमको दुरुपयोग गरेको छ ।
अनुगमन तथा भ्रमण खर्चमा पनि कैफियत
प्रतिवेदनले पालिकाको अनुगमन तथा भ्रमण खर्चमा पनि कमजोरी औँल्याएको छ । भ्रमण खर्च नियमावली, २०६४ अनुसार भ्रमणको उद्देश्य स्पष्ट हुनुपर्ने, बिल–भरपाई तथा अभिलेख व्यवस्थित राख्नुपर्ने व्यवस्था भए पनि नमूना परीक्षणका क्रममा भ्रमण आदेशसँग संलग्न कागजातमा उद्देश्य स्पष्ट नभएको र भ्रमण प्रतिवेदन पूर्ण रूपमा पेश नभएको पाइएको उल्लेख छ ।
प्रतिवेदनअनुसार कोटहीमाईले आर्थिक वर्ष २०८१–०८२ मा दैनिक भ्रमण खर्चतर्फ १५ लाख ९३ हजार २१७ तथा अनुगमन तथा मूल्याङ्कन खर्चतर्फ रु. ८ लाख ८० हजार गरी जम्मा २४ लाख ७३ हजार २१७ खर्च गरेको छ ।
महालेखा परीक्षकको कार्यालयले उद्देश्यविपरीत हुने भ्रमण खर्चमा नियन्त्रण गर्दै प्रत्येक भ्रमणको प्रतिवेदन अनिवार्य रूपमा पेश गर्ने व्यवस्था लागू गर्न पालिकालाई सुझाव दिएको छ । कोहटीमाई गाउँपालिकाको अध्यक्ष बालकृष्ण त्रिपाठी छन् । यस्तै उपाध्यक्ष सुशीलाकुमारी यादव छिन् । पालिकाले मनपरी गरिरहेको खर्चमा अध्यक्ष र उपाध्यक्ष दवाव दिने गरेको कर्मचारीहरु बताउँछन् । यहाँ यस्तो मनपरी खर्च गरिरहने काममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार गौड र अजय मिश्रा थिए तथा लेखा अधिकृत निरञ्जन ज्ञवालीले साथ दिएका छन् ।








प्रतिकृया दिनुहोस्