गगन भन्छन्– प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा बीपीको हो


काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन थापाले जङ्गल, जमिनलगायतका प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा बीपी कोइरालाको भएको बताएका छन् ।
बीपी कोइरालाको स्मृति दिवसमा आज पार्टीले आयोजना गरेको ‘ग्रिन रन’ प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण कार्यक्रममा सभापति थापाले ग्रिन रन प्रतियोगिता आयोजना गरेर जलवायु परिवर्तनका बारेमा सचेतना जगाउन मात्र नभई सङ्कल्प गर्न समेत लागेको जनाए ।
‘अहिले हामी जलवायु परिवर्तनको बारेमा सचेतना जगाउन मात्र नभई सङ्कल्प गर्न पनि यहाँ उभिएका छौँ। यसका बारेमा हामी बृहत् कार्यक्रमको तयारी गरेका छौँ,’ सभापति थापाले भने ।
जङ्गल, जमिन लगायतका प्राकृतिक स्रोत साधनहरूलाई संरक्षण गर्नुपर्ने र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा बीपी कोइरालाले त्यतिबेला नै ल्याएको थापाले स्मरण गरे । जननायक बीपी कोइरालाले विकासको दिगोपनको अवधारणा र प्राकृतिक स्रोत साधनलाई न्याय गर्नुपर्छ भन्ने दृष्टिकोणप्रति कांग्रेसले अहिले फेरि सङ्कल्प गरेको उनको भनाइ थियो।
‘समावेशिताको अवधारणालाई पनि सात दशक अगाडि नै कांग्रेस संस्थापक नेता कोइरालाले व्यवहारमै लागू गराएर हामीलाई सिकाउनुभएको छ, त्यसप्रति पनि हामी पूर्ण प्रतिबद्ध छौँ’, उनले भने ।
सो अवसरमा जलवायु परिवर्तन सम्बन्धी चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो। सबै कार्यक्रममा सहभागीहरूलाई विभिन्न जातका बिरुवा समेत वितरण गरिएको थियो । बिरुवा वितरण कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी रहने कांग्रेसले जनाएको छ।








प्रतिकृया दिनुहोस्