सियारी गाउँपालिकामा कानूनको धज्जी उडाउँदै मनपरी खर्च


भैरहवा– रुपन्देहीको सियारी गाउँपालिकामा आर्थिक नियम र परिधिको धज्जी उडाउँदै व्यापक अनियमित ढंगबाट खर्च गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदनले सियारीमा वित्तीय अनुशासन विपरीत ठूलो रकम खर्च भएको सार्वजनिक गरेको हो ।
प्रतिवेदन अनुसार, चालु आर्थिक वर्षसम्म यस पालिकाको कुल बेरुजु १४ करोड ७१ लाख ८० हजार रुपैयाँ पुगेको छ । गाउँपालिकाले सञ्चालन गरेका सीपमूलक तालिम, कृषि अनुदान, खरिद प्रक्रियादेखि कर्मचारी भर्ना र छात्राहरुलाई बितरण गरिने सेनेटरी प्याडसम्मको खर्चमा कानुनी त्रुटी र अनियमितता भएको महालेखाले औंल्याएको छ ।
नियम अनुसार वार्षिक १० लाख रुपैयाँभन्दा बढीको खरिद गर्दा वार्षिक खरिद योजना बनाउनुपर्ने कानुनी व्यवस्था छ । तर, सियारीले विभिन्न शीर्षक अन्तर्गत पूँजीगत खर्च वा निर्माण कार्य गर्दा कुनै गुरुयोजना नै नबनाएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, आर्थिक वर्षको अन्तिम दिन न्यायिक समिति अवलोकन भ्रमण तथा कर्मचारी पर्यटन काजका लागि २२ जना कर्मचारीलाई ८ लाख ७१ हजार ३४७ रुपैयाँ पेस्की उपलब्ध गराइएको पाइएको छ । आर्थिक वर्षको अन्त्यमा यसरी पेस्की दिनु कानुनसम्मत नभएकाले उक्त रकम समयमै असुल फस्र्यौट गर्न महालेखाले निर्देशन दिएको छ ।
उपभोक्ता समितिलाई हस्तान्तरण गर्न नमिल्ने र सरकारी क्षेत्रबाटै गर्नुपर्ने कामहरू उपभोक्ता समितिलाई दिएर ३ लाख ९२ हजार रुपैयाँ अनियमित तरिकाले खर्च गरिएको छ । जसअन्तर्गत गाउँपालिकाको वडा नं. ३ को कार्यालय बाउन्ड्री पर्खाल निर्माणमा गरिएको ३ लाख ९२ हजारको खर्चलाई प्रतिवेदनले गैरकानुनी भनेको छ ।
उपभोक्ता समितिको काममा म्याद थपको कानुनी व्यवस्था नभए पनि १७ लाख ६५ हजार १४९ रुपैयाँ म्याद थप गरी भुक्तानी दिइएको छ । गाउँपालिकाले स्वीकृत दरबन्दीभन्दा बाहिर गएर नियमविपरीत कर्मचारी करारमा भर्ना गरी वित्तीय दायित्व थपेको छ ।
स्वीकृत दरबन्दीभन्दा बढी २ जना अमिन, ७ जना सहायक कम्प्युटर अपरेटर र ९ जना स्वास्थ्य स्वयंसेवक नियुक्ति गरी ५८ लाख ६६ हजार ९६८ रुपैयाँ खर्च गरिएको र उक्त खर्च नियमसंगत नभएको प्रतिवेदनमा उल्लेख छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरको स्वीकृत कार्यविधि बाहिर गई गाउँपालिकाले आफ्नै कार्यविधि बनाएर १३ वटा सामुदायिक विद्यालयलाई ५० लाख २५ हजार रुपैयाँ निकासा दिएको छ । जसलाई महालेखाले अनियमितता भनेको छ ।
हस्तकला र ब्युटी पार्लर लगायतका सीपमूलक तालिममा ८ लाख ६१ हजार १५० रुपैयाँ खर्च गरिए पनि तालिम लिनेहरूले व्यवसाय वा उद्यम सुरु गरे–नगरेको बारे कुनै उपलब्धि मापन गरिएको छैन ।
चैतेधान कार्यक्रम अन्तर्गत दयानगर कृषक समूहलाई धानको बीउ, इलेक्ट्रिक मेसिन, विषादी र मल खरिद गरी गरिएको ४ लाख ७८ हजार २७५ रुपैयाँ भुक्तानीमा पनि कार्यविधिको पालना नगरिएको पाइएको छ ।
प्रतिवेदनका अनुसार, गाउँपालिकाले हाटबजार ठेक्कामा मूल्य अभिवृद्धि करको प्रमाण पेस नगरेको, समपूरक अनुदानमा प्रमाण पेस नभएको तथा कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीको सभाहल निर्माणका लागि निकासा दिएको ५ लाख रुपैयाँ समेत अनियमित देखिएको छ ।
संघीय सशर्तको फिर्ता गर्नुपर्ने रकम ८३ हजार रुपैयाँबाट म्यापर्स हब इन्जिनियरिङ प्रालिसँग ल्यापटप खरिद गरिएको र फरक शीर्षकमा खर्च गरेर ४ लाख १७ हजार ६९९ रुपैयाँ अनियमितता गरिएको प्रतिवेदनमा उल्लेख छ ।
न्यायिक समिति, कानुन निर्माण, विविध खर्च, प्रधानमन्त्री रोजगार कार्यक्रम, तथा छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड व्यवस्थापन लगायतका क्षेत्रमा समेत पालिकाको गुणस्तर र व्यवस्थापन निकै कमजोर र नियमसंगत नरहेको महालेखा परीक्षकको प्रतिवेदनले निष्कर्ष निकालेको छ । सियारी गाउँपालिकाको अध्यक्ष थानेश्वर घिमिरे र उपाध्याक्ष तारा थारु हुन् । उनीहरु दुबैजना नेपाली काँग्रेसबाट निर्वाचित हुन् । सियारीमा विकास निर्माण र सुशासनका विषयमा स्थानीयले पटक पटक आवाज उठाए पनि उनीहरुले सम्बोधन गर्न सकेका छैनन् । जनप्रतिनिधिको मनपरीमा प्रमुख प्रशासकीय अधिकृत असर जिसी र लेखा प्रमुख पिताम्बर मरासिनीले साथ दिँदा पालिकामा आर्थिक अनियमितताको चाङ बढी रहेको छ ।








प्रतिकृया दिनुहोस्