कपिलवस्तुमा मध्यकालीन मुद्रासहितको करुवा फेला पर्यो


कपिलवस्तु–कपिलवस्तुमा मध्यकालीन समयका तामाका मुद्रा राखिएको एउटा प्राचीन करुवा फेला परेको छ ।
कपिलवस्तु नपा–५ बभानीमा स्थानीय कृषक राजाराम यादवले खेतमा काम गर्ने क्रममा उक्त मुद्रासहितको तामाको करुवा भेट्टाएका हुन् । खेतमा शंकास्पद पुरातात्विक वस्तु फेला परेपछि स्थानीयवासीले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । जानकारी प्राप्त भएलगत्तै स्थानीय बासिन्दा, जनप्रतिनिधि र कपिलवस्तु संग्रहालयको टोलीको उपस्थितिमा उक्त वस्तु जिल्ला प्रहरी कार्यालय पुर्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले प्राप्त उक्त पुरातात्विक वस्तुलाई थप अध्ययन, अनुसन्धान तथा संरक्षणका लागि कपिलवस्तु संग्रहालयलाई हस्तान्तरण गरिएको बताएका छन् ।
करिव २३ सेन्टिमिटर लम्बाइको करुवाभित्र अरबी लिपिमा लेखिएका तामाका सिक्काहरु फेला परेका हुन् । करुवामा करिब ३ हजार वटा तामाका सिक्का (मुद्रा) रहेको अनुमान गरिएको छ । सिक्काको गणना जारी छ ।
कपिलवस्तु संग्रहालयकी प्रमुख शान्ति शेर्माले प्राप्त उक्त पुरातात्विक वस्तुहरूलाई संग्रहालयमा सुरक्षित राखी विस्तृत अध्ययन तथा अनुसन्धान गरिने जानकारी दिइन् । भेटिएका ती पुरातात्विक वस्तुहरू १२ औँ देखि १३ औँ शताब्दी (मध्यकाल) का हुन सक्ने प्रारम्भिक अनुमान रहेको उनले बताइन् ।








प्रतिकृया दिनुहोस्