मोदी–बालेनले मन पराएपछि नेपाल–भारतमा पकड जमाइरहेको एशियन कंक्रिटो


भैरहवा– काठमाडौं महानगरका तत्कालीन मेयर एवं हालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन पराएपछि एशियन कंक्रिटो लिमिटेडको चर्चा ह्वात्तै चुलियो । बालेनले तत्कालीन अवस्थामा काठमाडौंका सडकपेटीमा यसका उत्पादनहरु प्रयोगमा ल्याए । यसपछि सडक सौन्दर्य देशभर चर्चामा रह्यो ।
२०७९ को बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने कार्यक्रम तय भएको थियो । लुम्बिनीमै हेलिप्याड तयार गरिँदै थियो । तर, छेउछाउका सडक सौन्दर्यीकरण गर्न सरकारलाई सकस थियो । यही क्रममा तोकिएको १५ दिन भित्र एशियन कंक्रिटोले सडक सौन्दर्यीकरणको जिम्मा पायो । हेलिप्याडसँगै जोडिएका सडक र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसम्म पुग्ने सहायक सडक तोकिएकै समयमा एशियन कंक्रिटोका उत्पादन प्रयोग गरेर चिटिक्क बनाइयो ।
मोदी लुम्बिनी ओर्लिएपछि सडक सौन्दर्यीकरणको काम मन पराए । अनि सोधे– ‘यो सडक सौन्दर्यकरण गर्ने कम्पनीका मानिसहरु कहाँ हुनुहुन्छ ?’ यसपछि मोदीसँग एशियन कंक्रिटोको टीमले भेट्ने मौका पाए । मोदीले तत्कालै भने, ‘अयोध्यामा हामीले राम मन्दिर बनाइरहेका छौं, त्यहाँ तपाईंहरुले यस्तै सौन्दर्यको काम गर्नु पर्यो ।’
तत्कालीन अवस्थामा मोदीसँगको कुराकानी सम्झँदै एशियन कंक्रिटोका अध्यक्ष मनिष रुङ्गटा भन्छन्, ‘हामीले राम मन्दिर सुन्दरीकरण गर्छौं भन्यौं । उहाँ (मोदी) ले ‘भारत निकासीका लागि के छ व्यवस्था भन्नुभयो ?’ हामीले प्रक्रिया पूरा गरेर सक्छौं भन्यौं ।’ त्यसपछि भारत–नेपालका सरकारी निकायबाट स्वीकृति लिएर एशियन कंक्रिटो भारत निकासी सुरु भयो ।
अयोध्याको राम मन्दिरको बाहिरीपट्टी र कम्पाउण्डको भित्र दर्शानार्थी हिंड्ने ठाउँ एशियन कंक्रिटोबाट सुन्दरीकरणको काम भयो । अहिले भारतका विभिन्न सहरमा जान्छ । गोरखपुरका कयौं सडक पेटी एशियन कंक्रिटोबाटै सुन्दरीकरणको काम भएको छ ।

बालेन मेयर हुँदा उद्योगका टीमले पनि काठमाडौंमा छलफल गरेपछि सडकपेटी सिंगारिएको हो । ‘जब मोदी र बालेनले हाम्रो उत्पादन मन पराउनु भयो, अनि बजारीकरणमा निकै सहज भयो’, अध्यक्ष रुङ्गटा भन्छन्, ‘अहिले बजारीकरण राम्रो छ । नेपालका धेरै सहरहरुमा सडकपेटीको काम भएको छ । भित्री ठूला सडकहरु पनि एशियन कंक्रिटोबाट निर्माण भएका छन् ।’ उनका अनुसार वर्षौं टिकाउ र सुन्दरीकरणमा समेत प्रभावकारी भएकाले मन पराउनेहरु बढेका हुन् ।
नेपालको पूर्वाधार विकास र सहरी सौन्दर्यीकरणमा आधुनिक निर्माण सामग्रीको प्रयोग बढ्दै गएको छ । यसमा यो उद्योगले एउटा ईंटा थप्ने काम गरिरहेको छ । भैरहवा–परासी औद्योगिक कोरिडोर अन्तर्गत पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६, हकुईमा करिब २ अर्ब लगानीमा एशियन कंक्रिट उद्योग लिमिटेड करिब एक दशक अघि संचालनमा आएको हो । निर्माण क्षेत्रमा दरिलो छाप छाडेकै कारण अहिले यो उद्योग देशकै अग्रणी उद्योगका रुपमा स्थापित भएको छ । नेपालका स्थापित व्यावसायिक घरानाहरु रुङ्गटा ग्रुप, केडिया अर्गनाइजेसन र सिद्धार्थ ग्रुपको संयुक्त लगानीमा सन् २०१६ मा स्थापना भई २०१८ जुनदेखि व्यवसायिक उत्पादन सुरु गरेको यस उद्योगले नेपाली निर्माण बजारमा नयाँ आयाम थपेको छ ।
प्रविधियुक्त यो उद्योगमा ठुलो लगानी छ । पछिल्लो समय निरन्तर पुँजी थप गर्दै कम्पनीको वित्तीय अवस्था थप बलियो बनाइएको छ । उद्योगको वार्षिक उत्पादन क्षमता करिब १ लाख २० हजार मेट्रिक टन छ । रोबटको प्रयोग गरिएको उक्त उद्योग पूर्णरुपमा जर्मनीको मासा कम्पनीको प्लान्ट हो । दैनिक ५ सय टन अर्थात् तीन किलोमिटर सडकलाई पुग्ने ब्लक उत्पादन क्षमता रहेको उद्योगले पेभर, ब्लक, स्लाव, कर्व स्टोन, इँट्टा र टायल उत्पादन गर्छ । राम्रो गुणस्तर हुने भएकाले यी उत्पादन सडक, आँगन, पुल, प्रांगण, वेयर हाउस, मिल, सपिङ मल, व्यापारिक भवनहरु, होटल रिसोर्ट तथा पार्किङस्थल, फुटपाथ बनाउन प्रयोग गर्न सकिन्छ ।
नेपालमै पहिलो पटक शतप्रतिशत स्वचालित जर्मन ‘मासा’ प्रविधि प्रयोग गरिएको उद्योगले उत्कृष्ट गुणस्तर कायम गर्न आफ्नै क्रसिङ प्लान्टबाट उत्पादित उच्चस्तरका एग्रिगेट (ढुङ्गा, गिट्टी), बालुवा, गुणस्तरीय सिमेन्ट र पिग्मेन्ट (रङ) लाई कच्चा पदार्थका रुपमा प्रयोग गर्दै आएको छ । प्रयोगशालामा परीक्षण गरिएका कच्चा पदार्थ र स्वचालित मेसिनको प्रयोगले गर्दा प्रत्येक उत्पादनको आकार, डिजाइन र मजबुती सधैँ एकनाशको र उच्च स्तरको हुने उद्योगले बताएको छ ।
संचालकका अनुसार प्लान्टको उत्पादन, गुणस्तर तथा सम्पूर्ण इकाई जर्मनबाट नै निगरानी हुन्छ । यस्तै उद्योगमा लाग्ने सम्पूर्ण कच्चा पदार्थहरुको आधुनिक ल्यावमा टेष्ट जमर्नीबाट स्वीकृत गराएर मात्रै प्रयोग गरिन्छ ।

यस उद्योगको मुख्य बजार काठमाडौँ उपत्यकमा बढी छ । यसबाहेक भैरहवा, लुम्बिनी लगायत नेपालका मुख्य ठूला सहरहरुमा छ । यो नेपालको पहिलो र एक मात्र कंक्रिट ल्याण्डस्केपिङ कम्पनी हो, जसले आफ्ना उत्पादनहरु छिमेकी मुलुक भारतमा समेत सफलतापूर्वक निर्यात गरिरहेको छ ।
‘एशियन कंक्रिटोका उत्पादनहरु नेपालका विभिन्न प्रतिष्ठित राष्ट्रिय गौरवका आयोजना, पुरातात्विक स्थल र सहरी सडकहरुमा धेरै मात्रामा प्रयोग गरिएका छन्’, उद्योगका उपाध्यक्ष श्यामल झा भन्छन्, ‘बुद्ध जन्मस्थल लुम्बिनीको पैदल मार्ग विकास, काठमाडौँ, पेप्सिकोलाको नमूना पार्क, प्रमुख सडकका अपाङ्गमैत्री फुटपाथहरु, व्यापारिक कम्प्लेक्स, विमानस्थल, होटल तथा औद्योगिक करिडोरका लोड–बेरिङ क्षेत्रहमा व्यापक प्रयोग भएको छ ।’
परम्परागत निर्माण सामाग्रीको तुलनामा एशियन कंक्रिटोका उत्पादनहरु पर्यावरणमैत्री र टिकाउ छन् । कम्पनीले नेपाल गुणस्तर तथा आईएसओ ९००१ः२०१५ प्रमाणिकरण प्राप्त गरिसकेको छ । यसका उत्पादनहरु भारी गाडी गुड्ने उच्च भार वहन क्षमता भएका ठाउँका लागि उपयुक्त मानिन्छ । ‘उद्योगले पानी सोस्ने पेभर्स पनि बनाउँछ, जसले भूमिगत जलस्रोतको पुनर्भरणमा मद्दत पुर्याउँछ र सहरी क्षेत्रमा बाढी वा डुबानको जोखिम कम गर्छ’, अध्यक्ष रुङ्गटा भन्छन्, ‘यो एक पटक बिछ्याएपछि वर्षौँसम्म बिग्रँदैन र आवश्यकता अनुसार निकालेर पुनः प्रयोग गर्न समेत सकिन्छ ।’
संचालकका अनुसार उद्योगका लागि आवश्यक ९० प्रतिशतभन्दा बढी कच्चा पदार्थ स्वदेशमै उपलब्ध छ । बाँकी १० प्रतिशत मात्रै बाह्य मुलुकबाट आयात गर्नुपर्छ । यहाँका उत्पादन कम्तिमा २० देखि २५ वर्ष टिकाउन हुन्छन् । ‘उद्योगका उत्पादनहरु हाल भैरहवा, बुटवल बाहेक काठमाडौं, पोखरा, चितवन, हेटाँैडा, नेपालगंज, धनगढी लगायतका धेरै क्षेत्रमा गइरहेको छ’, उपाध्यक्ष झाले भने, ‘भारतमा पनि राम्रो निर्यात छ । हामीले केही प्रक्रियागत सहयोग पायौं भने बंगलादेश र भुटान पनि निकासी गर्न सक्छौं ।’

नेपालमा सुरक्षित, सुन्दर र दिगो पूर्वाधार निर्माणका लागि एशियन कंक्रिटो एउटा भरपर्दो र लगानीमैत्री विकल्प बनेको छ । उद्योगले आगामी दिनमा उत्पादन क्षमता र प्रविधिमा थप परिमार्जन गर्दै बजारलाई अझ व्यापक बनाउने लक्ष्य राखेको छ । ‘जर्मनबाटै गुणस्तर निगरानी हुँदा थप विश्वास जितिरहेको छ’, उपाध्यक्ष झा भन्छन्, ‘हाम्रो उत्पादन उच्च गुणस्तर भएकै कारण आज नेपालसहित भारतीय बजारमा माया पाइराखेका छौं ।’









लेखकको सम्वन्धमा