भैरहवा नाकाबाट ३ खर्ब बढीको आयात हुँदा करिब ३५ अर्बको स्वदेशी उत्पादन निर्यात


भैरहवा– रुपन्देहीको बेलहिया नाका हुँदै आर्थिक वर्ष २०८२–२०८३ मा ३ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ मूल्यका विभिन्न वस्तु आयात भएका छन् । यो अघिल्लो आर्थिक वर्ष २०८१–०८२ मा आयात गरिएको मूल्य भन्दा १५.२८ प्रतिशतले बढी हो । भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार ०८१–०८२ मा २ अर्ब ६३ अर्ब ७४ करोड मूल्यमा विभिन्न वस्तु स्वदेशमा आयात गरिएको थियो ।
यस्तै, निर्यातमा भने उल्लेख्य सुधार भएको छ । ०८२–८३ मा ३४ अर्ब ९८ करोड ३५ लाख मूल्यका स्वदेशी उत्पादन बेलहिया नाका हुँदै निर्यात भएका छन् । आव २०८१–०८२ भन्दा निर्यात बृद्धिदर ६६.९६ प्रतिशतले बढी रहेको भन्सार प्रमुख हरिहर पौडेलले बताए । अघिल्लो वर्ष २० अर्ब ९५ करोड २६ लाखका स्वदेशी वस्तु निर्यात भएका थिए ।
बेलहिया मुलुकको दोस्रो ठूलो भन्सार नाका समेत हो । भन्सार कार्यालयले आर्थिक वर्ष २०८२–२०८३ मा १ खर्ब ५ अर्ब २ करोड राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ९२.४० प्रतिशत हुन्छ । भन्सार विभागले उक्त वर्ष कार्यालयलाई १ खर्ब १३ अर्ब ६६ करोड लक्ष्य तोकेको थियो । कार्यालयका अनुसार अघिल्लो वर्ष भन्दा असुली दरमा सुधार भई १०.३३ प्रतिशतले बृद्धि भएको छ । यद्यपि लक्ष्य भने पुग्न सकेन । भन्सारले गत वर्षको असोज महिना बाहेक अन्य महिनामा लक्ष्य पूरा गर्न नसकेको तथ्यांकले देखाउँछ ।
भन्सार प्रमुख पौडेलका अनुसार चालु वर्षमा सबैभन्दा बढी मोटरसाइकलबाट राजस्व संकलन बढी भएको छ । कार्यालयका अनुसार सबै प्रकारका मोटरसाइकल आयात हुँदा २१ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, जीप, कार र भ्यानबाट १३ अर्ब ९६ करोड, सिंगल–डबल क्याप पिकअप गाडीबाट ४ अर्ब १८ करोड, पेट्रोलबाट ४ अर्ब १२ करोड, शुद्ध फलामबाट २ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
यस्तै, एलपी ग्यासबाट १ अर्ब ६१ करोड, मोबाइल टेलिफोनबाट १ अर्ब ६० करोड, एमएस बिलेटबाट १ अर्ब ५७ करोड ९५ लाख, सुपारीबाट १ अर्ब ५७ करोड र कोइलाबाट १ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । भन्सारका सूचना अधिकृत उद्धव ढुंगानाका अनुसार यी वस्तुले मात्रै राजस्व संकलनमा करिब ५२ प्रतिशत योगदान दिएका छन् । ‘अघिल्लो वर्षको तुलनामा यस वर्ष टायल, विद्युतीय गाडी, चकलेट, चामल, अलकत्रा विटुमिन आलु, सुती कपडा लगायतको आयत घट्यो । जसले गर्दा राजस्व लक्ष्य केही प्रतिशतले भेटाउन सकएन’, उनले भने ।
बेलहिया नाका हुँदै आयात हुने ९९ प्रतिशत भन्दा बढी सामान भारतबाटै आयात हुन्छ । यसपटक चोरी पैठारीमा गरिएको कडाईले पनि राजस्व असुली दर केही सुधार भएको भन्सार प्रमुख पौडेल बताउँछन् ।








प्रतिकृया दिनुहोस्