काँग्रेस सिद्धार्थनगरको सभापतिमा रेग्मीको उम्मेदवारी घोषणा, कस्ता छन् एजेन्डा ?


भैरहवा– नेपाली काँग्रेस सिद्धार्थनगर नगर समितिको आगामी नेतृत्वका लागि युवा नेता संजीव शर्मा रेग्मीले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।
काँग्रेसको आगामी राष्ट्रिय महाधिवेशनका लागि पालिका अधिवेशनको तयारी भइरहेको छ । काँग्रेस सिद्धार्थनगर सभापति कोशिशबहादुर खड्का रास्वपा प्रवेश गरे पछि अहिले नगरको नेतृत्व कार्यबाहकको भरमा छ । शर्मा यसअघि पनि सभापति पदको आकांक्षी थिए । रेग्मीले संगठनलाई थप बलियो, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धतासहित आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
रेग्मीले अनुभव, इमानदारी, समर्पण र एकतालाई आफ्नो नेतृत्वको मुख्य आधार बनाउँदै समृद्ध काँग्रेस निर्माणमा केन्द्रित रहने बताएका छन् । उनले नगर समितिलाई सुदृढ, प्रभावकारी र आम कार्यकर्ताको भावना अनुसार सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन् ।
उनले सार्वजनिक गरेको प्रतिवद्धतामा संगठनलाई बलियो, सक्रिय र जनमुखी बनाउने, पारदर्शिता, सुशासन तथा जवाफदेहितालाई संस्थागत गर्ने, सबै तह, तप्का र क्षेत्रलाई समेटेर एकताबद्ध काँग्रेस निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी युवा, महिला, दलित, जनजाति तथा विपन्न वर्गको सशक्त सहभागिता सुनिश्चित गर्दै संगठनभित्र समावेशी नेतृत्व विकास गरिने उल्लेख गरिएको छ । जनताका समस्या र सरोकारलाई प्राथमिकतामा राखेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा कार्यकर्तालाई पार्टीसँग थप नजिक जोड्ने योजनासमेत रेग्मीले अघि सारेका छन् ।
उनले विधि, विधान र लोकतान्त्रिक पद्धतिमा आधारित दिगो तथा सशक्त संगठन निर्माणमा विशेष जोड दिएका छन् । काँग्रेसको आन्तरिक एकता, अनुशासन र संगठनात्मक सुदृढीकरणमार्फत् सिद्धार्थनगरमा पार्टीलाई अझ प्रभावशाली बनाउने उनको लक्ष्य रहेको छ ।
रेग्मीले बलियो संगठन, समृद्ध सिद्धार्थनगर र सशक्त नेपाली काँग्रेस निर्माण आफ्नो प्रमुख उद्देश्य रहेको बताउँदै नगर समितिको नेतृत्वका लागि आफू उपयुक्त उम्मेदवार भएको दाबी गरेका छन् । ‘एकता, इमानदारी र समर्पण नै हाम्रो जीतको आधार हो,’ रेग्मीले भने, ‘सबैलाई समेट्ने, पारदर्शी र जनउत्तरदायी संगठन निर्माणका लागि मेरो उम्मेदवारी हो ।’
सिद्धार्थनगर नगर समितिको नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका रेग्मीको चुनावी अभियानले पार्टीभित्र एकता, सुशासन र संगठन सुदृढीकरणको मुद्दालाई केन्द्रमा राखेको छ । रेग्मी लामो समयदेखि काँग्रेसको संगठन विस्तारमा सक्रिय छन् । उनी युवा व्यवसायी समेत हुन् । सरल, मृदुभाषाी र सबैसँग मिल्न सक्ने भएकाले उनको उम्मेदवारी घोषणालाई काँग्रेस वृत्तमा सकारात्मक रुपमा हेरिएको छ ।








प्रतिकृया दिनुहोस्