बाँकेको सुशील कोइराला क्यान्सर अस्पतालमा संचालनमा आयो लिक्विड अक्सिजन प्लान्ट


बाँके– सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । बाँकेको खजुरास्थित उक्त अस्पतालले आफ्नै प्लान्ट सञ्चालनमा ल्याएको हो ।
अक्सिजन प्लान्ट शनिबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा.निरज भट्टराईले बताए । प्लान्ट संचालनमा आएसँगै हरेक दिन सिलिण्डरमा भरेर अक्सिजन ढुवानी गर्नुपर्ने झन्झट हटेको उनले जनाए । ‘२० किलोलिटर क्षमता भएको प्लान्टमा १८ किलोलिटर लिक्विड अक्सिजन भरेर सञ्चालनमा ल्याइएको हो’, उनले भने, ‘यसले सेवाग्राही र अस्पताल दुबैलाई निकै सहज भएको छ ।’
स्वास्थ्य मन्त्रालयको समन्वय र युएसएडको आर्थिक सहयोगमा प्लान्ट जडान गरिएको हो ।‘यो प्लान्ट सुरु भएसँगै अक्सिजन स्टोर गरेर पनि राख्न सकिन्छ । बिरामीको उपचारमा सहजता ल्याउन अस्पतालको केमो वार्डमा नै छुट्टै फार्मेसी सञ्चालन गर्नेदेखि एउटै भवनबाट रेडियोलोजी र प्रयोगशाला सेवा समेत सञ्चालनमा ल्याइएको छ ।
संघीय सरकारले पूर्ण स्वामित्व लिए पनि हालसम्म अस्पतालको दरबन्दी स्वीकृत नहुँदा अस्थायी, करार र ज्यालादारी स्वास्थ्यकर्मीबाट अस्पताल सञ्चालन हुँदै आएको छ । अस्पतालमा अहिले १४ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । ती सबै करारमा कार्यरत हुन् । उनका अनुसार लायन्स क्लबको समन्वयमा छिट्टै बिरामी कुरुवा घर पनि सञ्चालनमा ल्याउन लागिएको छ । धार्मिक अनुष्ठानबाट जनस्तरमा निर्माण भएको सो अस्पताल २०७२ सालमा सरकारलाई हस्तान्तरण गरिएको थियो ।








प्रतिकृया दिनुहोस्