निर्माणाधीन पानी ट्याङ्कीभित्र निसासिएर दुई श्रमिकको मृत्यु


दाङ–निर्माणाधिन एक घरको पानी ट्याङ्कीभित्र काम गर्ने क्रममा निसासिएर दुईजना श्रमिकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित मनिराम चन्दको निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र मंगलबार बेलुका पसेका दुई पुरुष बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
मृत्यु हुनेहरूमा सल्यानको माल्टा स्थायी घर भई हाल तुलसीपुर–९ दोहोरे बस्दै आएका कमल गिरी र घनश्याम गिरी रहेका छन् । उनीहरू नातामा काका–भतिज हुन् । कमल निर्माण कार्यका ठेकेदार र घनश्याम मिस्त्रीका रूपमा कार्यरत थिए । उनीहरूले सो घर निर्माणको ठेक्का लिएर काम गर्दै आएका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनीहरू मंगलबार बेलुका निर्माणाधीन पानी ट्याङ्कीको फर्मा निकाल्न ट्याङ्कीभित्र छिरेका थिए । ट्याङ्कीभित्र छिर्दा भर्याङ नराखी गएको र बाहिर निस्कन समस्या हुनुका साथै पर्याप्त अक्सिजनको अभाव हुँदा निसासिएर उनीहरूको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।
बुधबार बिहान स्थानीयले ट्याङ्कीभित्र मानिस रहेको देखेपछि लगत्तै प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब डीएसपी होमबहादुर पराजुलीले घटनाको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।








प्रतिकृया दिनुहोस्