गैडहवामा १८ करोडमा बनेको अस्पतालको कार्यविधि र गुणस्तर रिपोर्ट नहुँदा सेवा प्रवाह अन्योलमा


भैरहवा– रुपन्देहीको गैडहवा गाउँपालिकामा १८ करोडभन्दा बढी लगानीमा निर्माण सम्पन्न गरिएको १५ शय्याको आधारभूत अस्पताल भवन सञ्चालन र गुणस्तरमा गम्भीर प्रश्न उठेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–०८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदनले अस्पताल निर्माण प्रक्रिया र सञ्चालन तयारीमा रहेका गम्भीर लापरबाहीहरूलाई उजागर गरेको हो ।
गाउँपालिकाले सूर्यपुरामा १५ शय्याको अस्पताल भवन निर्माणका लागि पि.एम.–गुडविल जे.भी., काठमाडौँसँग २०८० जेठ २४ मा सम्झौता गरेको थियो । १८ करोड ५६ लाख १२ हजार ९२९ रुपैयाँको संशोधित सम्झौता भएकोमा २०८२ असार ७ सम्ममा १८ करोड ४२ लाख ६० हजार ९०९ रुपैयाँ खर्च गरी निर्माण सम्पन्न भएको आधारमा कार्य स्वीकार गरिएको छ । तर, भौतिक संरचना तयार भए पनि यसको वैधानिक सञ्चालन र गुणस्तर सुनिश्चितताका पक्षहरू भने फितलो देखिएका छन् ।
सञ्चालन कार्यविधिको अभावमा भवन निर्माण सम्पन्न भइसक्दा पनि सो अस्पताल सञ्चालनका लागि आवश्यक ‘कार्यविधि’ तयार नगरिएको प्रतिवेदनमा उल्लेख छ । कार्यविधि नहुँदा अस्पतालले कुन प्रक्रियाबाट सेवा दिने, जनशक्तिको व्यवस्थापन कसरी गर्ने र प्रशासनिक सञ्चालन कसरी हुने भन्नेमा अन्योल देखिएको छ । अस्पतालकोे अपेक्षित उपलब्धि हासिल गर्न र प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि तत्काल कार्यविधि निर्माण गर्न महालेखाले सुझाव दिएको छ ।
अस्पताल जस्तो संवेदनशील संरचनाको निर्माणमा ‘गुणस्तर परीक्षण प्रतिवेदन’ पेश नगरिएको पाइएको छ । सम्झौता अनुसार निर्माण व्यवसायीले गुणस्तर सुनिश्चितता योजना तयार गरी सोही अनुसार निर्माण सामग्री र कार्यको गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था थियो । तर, लेखापरीक्षणका क्रममा यस्तो कुनै पनि प्रतिवेदन पेश नहुनुले भवनको दिगोपना र सुरक्षामाथि ठूलो आशङ्का उत्पन्न गराएको छ ।
प्रतिवेदनले निर्माण प्रक्रियामा देखिएका अन्य त्रुटिहरूलाई पनि औँल्याएको छ । ठेक्का प्रक्रिया र वित्तीय कैफियत पनि भेटिएको जनाएको छ । सोही स्थानमा पहिले नै अर्को निर्माण कम्पनी एस.एस.के. निर्माण सेवासँग भएको ७७ लाख ३७ हजारको सम्झौतालाई विधिवत् रूपमा किनारा नलगाई नयाँ ठेक्का लगाइएको थियो । यस्तै, निर्धारित समयभन्दा अगाडि काम सकेको भन्दै आकस्मिक लाभकर बाहेक व्यवसायीलाई ८९ लाख ४७ हजार २६७ रुपैयाँ बोनस दिने निर्णयलाई पनि महालेखाले प्रश्न उठाएको छ ।
गैडहवा गाउँपालिकाको अध्यक्ष सुरेन्द्र पौड्याल र उपाध्यक्षमा माधुरी जैसवाल छन् । उनीहरुले अस्पताल भवन बनाउँदा धेरै कैफियत गरेका छन् । जनप्रतिनिधिको कैफियतमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले साथ दिएका छन् । जसले गर्दा महालेखाले प्रश्न उठाएको हो ।
महालेखा परीक्षकको कार्यालयले अस्पतालको कारोबारको लेखांकन र प्रतिवेदन प्रणालीलाई सुदृढ बनाउन र आगामी दिनमा रनिङ बिलसँगै अनिवार्य रूपमा गुणस्तर परीक्षण प्रतिवेदन संलग्न गर्न गाउँपालिकालाई निर्देशन दिएको छ ।








लेखकको सम्वन्धमा