सुरक्षा चेकजाँचबाट जोगिन आफ्नै मोटरसाइकलमा आगजनी


कपिलवस्तु–सीमा क्षेत्रमा चोरी तस्करी हुन नदिन सुरक्षा निकायले निगरानी र गस्ती बढाएको वेला कपिलवस्तुमा एकजना व्यवसायीले सुरक्षा चेकजाँचबाट जोगिन आफ्नै मोटरसाइकलमा आगजनी गरेका छन् ।
भारतबाट तरकारी चोरी तस्करी गरेर नेपाल ल्याइरहेका बेला सशस्त्र प्रहरीको चेकजाँचबाट जोगिन यशोधरा गाउँपालिका–२, हर्दिहवाका २८ वर्षे अंगद मुराउले आफ्नै मोटरसाइकलमा आगजनी गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
कपिलवस्तुको मर्यादपुरस्थित सशस्त्र प्रहरी बीओपीका अनुसार, उनले मोटरसाइकलमा खुर्सानी र पिँडालु बोकेर आइरहेका बेला बर्गदवा–पुर्निहवा सडक खण्डअन्तर्गत पश्चिम भडेहरमा गस्तीमा रहेको बीओपी मर्यादपुरको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि भाग्ने प्रयास गरेका थिए ।
तर, भाग्न नसकेपछि तरकारी बोकेको भारतीय नम्बरको मोटरसाइकलको पेट्रोल ट्यांकीको पाइप झिकेर मोटरसाइकलमा आगजनी गरेको मर्यादपुर बीओपीका सशस्त्र प्रहरी प्रमुख निरीक्षक हरित बडुवालले बताए ।
आगजनीबाट मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । मोटरसाइकलमा रहेको करिब ढाई क्विन्टल खुर्सानी र पिँडालुमध्ये आधाभन्दा धेरै जलेर नष्ट भएको छ । मुराउलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । उनले यसअघि पनि तस्करी गर्दा फक्राउ पर्ने डरले दुईपटकसम्म मोटरसाइकल जलाउने प्रयास गरेको दावी सशस्त्र प्रहरीको छ ।








प्रतिकृया दिनुहोस्