लुम्बिनीमा तीन महिने बौद्ध धर्मावलम्बीको वर्षावास सुरु


लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा बुधबारबाट बौद्ध भिक्षुको तीन महिने वर्षावास सुरु भएको छ । बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व वर्षावासका लागि स्वदेशीमात्र नभए भारत, थाइल्यान्ड र म्यानमारबाट विदेशी भिक्षुसमेत नेपाल आएका छन् ।
वर्षाका कारण चारैतिर पानी पर्ने, जमिनमुनिका जीव तथा किराहरू बाहिर निस्कने हुँदा हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले बुद्धका पालादेखि नै ३ महिनासम्म विहारभित्रै बसेर ध्यान साधना र धम्मदेशना गर्ने कामलाई वर्षावास भनिएको हो । बुद्ध जन्मस्थल लुम्बिनीका विभिन्न विहारमा रहेका भिक्षुहरू म्यान्मार गोल्डन टेम्पलमा रहेको पवित्रस्थल सीमागृहमा भेला भई प्रतिष्ठित भिक्षुका अघि आफूले जानीनजानी गरेको कमी–कमजोरी गल्ती स्विकार गरी क्षमा मागेर वर्षाबास सुरु गर्छन् ।
आ–आफ्नो विहारमा पुगेर असार पूर्णिमाका दिन बुधबारबाट वर्षाबास सुरु गरेका छन् । भिक्षु र श्रामनेरले मंगलपाठ गरेर वर्षाबास बस्न निम्ता लिएर सुरु गरेका थिए । बुद्ध धर्ममा असारदेखि असोज पूर्णिमासम्म ३ महिना वर्षावास बस्छन् ।
रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका ५ स्थानमा यस वर्ष ६० जना भिक्षु वर्षावास बसेका छन् । भारत, थाइल्यान्ड र म्यान्मारबाट ३८ भिक्षु वर्षावास बस्न नेपाल आएका छन् । लुम्बिनीस्थित थाई विहारमा १६ जना, नवमैंत्री महाविहारमा ५ जना, म्यान्मार टेम्पलमा ३ जना र महाबोधी सोसाइटीमा २ जना भिक्षु वर्षावास बसेका छन् । त्यस्तै नेपाल मन्दिर २ जना, थेरबाद विहारमा ३ जना, शाक्यमुनि विहारमा ७ जना, पण्डितारामा र श्रीलंका महाविहरमा एक-एक जना वर्षावास बसेका छन् ।
पश्चिम नवलपरासीको रामग्राममा ५ जना, कपिलवस्तुको तिलौराकोटमा ४ जना र निग्रोधारामा ४ गरी ११ थाई भिक्षु वर्षावास बसेका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका ८, महासमय सुत्त पाठ गरिएको स्थल महावनमा ७ जना म्यानमारका भिक्षु वर्षावास बसेका छन् । वर्षावासका बेला साँझ–विहान ध्यान साधना गर्ने र परित्रान पाठ गर्ने गर्छन् । त्यस बेला बुद्ध गुन, धर्म गुन, संग गुन र धर्म देशना गर्दै पूजाआजा गरिन्छ । वर्षावासका बेला बिहान एक छाक खाना खाने गर्छन् ।
बुद्ध जन्मस्थल लुम्बिनीमा वर्षावास बस्न पाउँदा जीवनकै उत्कृष्ट क्षण बनेको भारतको नागपुरस्थित अखिल भारतीय भिक्षु संघ धम्मभूमि बुद्धविहारबाट आएका भदन्त रेवतबोधी महास्थवीरले बताए । ३ महिनापछि फेरि वर्षावासका लागि निम्तो दिने उपासक उपासिका आएर भिक्षुलाई चिवर ९पहेँलो वस्त्र० दान गर्छन् । त्यसपछि वर्षावास पूरा हुन्छ ।
३ महिनासम्म वर्षावास बस्दा चाहिने चर्तुप्रत्य उपासक उपासिकले नै भिक्षुलाई दिन्छन् । चर्तुप्रत्य भन्नाले वर्षावासका बेला चाहिने चिवर ९पहेँलो बस्त्र० खाने कुरा, ओढ्ने ओछयाउने बस्त्र र औषधिमूलोको सबै खर्च निम्तो गर्ने उपासक उपासिकाले व्यहोर्ने गरेको भिक्षु महानामले बताए ।








प्रतिकृया दिनुहोस्