July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

पश्चिम नवलपरासीमा धार्मिक सद्भाव कायम राख्ने सर्वपक्षीय प्रतिबद्धता

Advertisement

परासी—सुनसरीमा दुई समूहबीच हिंसा भएपछि मुलुकभर सदभाय कायम गर्न पहल भइरहेको छ । जिल्ला जिल्लामा सर्वपक्षीय बैठक बसेर समाजमा सदभाव कायम राख्ने प्रतिवद्धता जनाइरहेका छन् । बुधबार बुटवलमा सदभाव र्याली निकालिएको थियो ।

Advertisement

पश्चिम नवलपरासीमा क्रियाशील राजनितिक दल र सरोकारवालाहरुको बैठकले धार्मिक सद्भाव राख्ने र गलत सन्देश जाने कुनै पनि क्रियाकलाप नगर्ने प्रतिबद्धता व्यक्त गरेका छ्न् । सुनसरीमा केही दिनदेखि भइरहेको घटनापछि यस्ता क्रियाकलाप जिल्लामा हुन नदिन र समयमा नै सचेत हुन सरोकारवालाले आग्रह गरेका हुन् ।

राजनीतिक दल, सुरक्षा निकाय, धार्मिक क्षेत्रका अगुवा तथा विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधिहरूको सर्वपक्षीय बैठकमा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठक राखिएको हो । सहभागीहरूले जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा आपसी विश्वास कायम राख्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकमा सहभागी राजनीतिक दलका नेता, धर्मगुरु तथा धार्मिक संघ–संस्थाका अगुवाहरूले संयमित ढंगले प्रस्तुत हुने, स्थानीय प्रशासनसँग आवश्यक समन्वय गर्ने तथा जिल्लाको शान्ति र सद्भाव कायम राख्न आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने बिसयमा छलफल भएको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले बताए ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले कुनै पनि शंकास्पद वा अप्रिय घटनासम्बन्धी सूचना प्राप्त हुनासाथ तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेका थिए । जिल्लामा आयोजना हुने सार्वजनिक कार्यक्रमबारे स्थानीय प्रशासनलाई पूर्व जानकारी गराउने समझदारी भएको छ ।