सेफ्टी ट्याङ्कीभित्र फसेर निसास्सिँदा तीन जनाको मृत्यु


नेपालगन्ज–बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर निसास्सिँदा तीन जना मजदुरको मृत्यु भएको छ ।
स्थानीय दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीमा काम गर्ने क्रममा बुधबार बिहान सोही वडाका तीन जना मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ शान्तिटोलका कालु थारु, प्रकाश थारु र बिर्जा थारु नामका स्थानीय रहेका छन्। उहाँहरू मिस्त्री तथा मजदुरीको काम गर्ने क्रममा ट्याङ्कीभित्र छिर्दा अक्सिजनको कमी भई निसास्सिएर फसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
सेफ्टी ट्याङ्कीमा मानिस फसेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक चक्र डम्मरपालको नेतृत्वमा १५ सदस्यीय प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार प्रहरी टोलीले जेसीबीको प्रयोग गरी सेफ्टी ट्याङ्की फुटाएर तीनै जनालाई मृत अवस्थामा बाहिर निकालेको हो ।
मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगन्ज पठाइएको छ ।








प्रतिकृया दिनुहोस्