July 29, 2026, Wednesday
२०८३ श्रावण १३ बुधबार

दुई दिनदेखिको ओपिडी सेवा बन्दले सर्वसाधारण विरामी समस्यामा

Advertisement

भैरहवा–नेपाल चिकित्सक संघको आव्हानमा भएको चिकित्सकको आन्दोलनका कारण बुधवारपनि भैरहवा क्षेत्रमा रहेका प्रमुख अस्पतालहरुको ओपिडी सेवा ठप्प रहे ।

Advertisement

ओपिडी सेवा बन्द रहेकाले उपचारका लागि टाढा टाढाबाट आएका सर्वसाधारण विरामी समस्यामा परेका छन् । अस्पतालहरुको ओपिडी सेवा बन्द रहनुले आकस्मिक कक्ष र निजी स्वास्थ्य सँस्थाहरुमा विरामीको चाप बढ्न थालेको छ । गत शनिवार वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडको विरोधमा नेपाल चिकित्सक संघले मुलुकभर आन्दोलनको आव्हान गरेको छ ।

सधैँ बिरामीको घुइँचो हुने भैरहवास्थित सरकारी स्तरको भीम अस्पताल, युनिभर्सल शिक्षण अस्पताल र सिद्धार्थनगर सिटी अस्पतालमा बुधवार पनि दिनभरी सुनसान नै बन्यो । ओपिडी सेवा बन्द हुँदा रुपन्देहीको मर्चवार, लुम्बिनी, धकधही, छपिया, गैँडहवा र सूर्यपुरा लगायतका टाढाका स्थानबाट आइपुगेका बिरामी बिना उपचार घर फर्किन बाध्य भएका छन् ।

उपचारका लागि रुपन्देहीको गैंडहवा गाउँपालिकाबाट भीम अस्पताल आएका अहमद हुसेन खान अस्पतालको ओपिडी सेवा बन्द रहेको देखेपछि निराश हुँदै घर फर्कन बाध्य भए । ‘हर्नियाको सल्यक्रिया गरेको थिएँ तर दुखेर अत्याधिक पिडा भएकाले थप चेकजाँच र उपचारकालागि यहाँ आएको थिँए’ उनले भने । सिद्धार्थनगर नगरपालिका–९ घर भएकी अम्बिका पन्थीले पनि सुगरको औषधी लिन अस्पताल आएको र बिमाबाट लिनकालागि चिकित्सकसँग ओपिडीबाट सिफारिश गराउन जाँदा बन्द रहेपछि समस्यामा परेको बताइन् ।

बुधवार भैरहवा र आसपास क्षेत्रमा चिकित्सकहरूले ओपिडी सेवा बन्द गरेपछि उपचारका लागि आएका सयौँ बिरामी समस्यामा परेपछि अस्पताल बाहिरको फार्मेसीमा उपचार गरेको दृष्य देखिए ।

रुपन्देहीको रोहिणी गाउँपालिका–७ तिकारका कृष्ण गुप्ता बिगत दुई दिन देखि उपचारकालागि अस्पताल धाइरहेपनि ओपिडी बन्द रहेकाले घर फर्किने गरेका छन् ।

सिद्धार्थनगर सिटी अस्पताल प्रालिका प्रबन्ध निर्देशक अर्जुन पौडेलले दुई दिन देखि अस्पताल बन्द रहेको बताए । ‘छलफलको माध्मबाट अबिलम्ब समस्याको समाधान खोजिनु पर्ने हो’ पौडेलले भने, ‘उपचारको क्रममा भएको घटनालाई कागजी प्रक्रियाबाट जानुपर्ने हो ।’

भीम अस्पतालका सूचना अधिकारी डा.आरिफ हुसेनका अनुसार नारायणी अस्पतालको घटनाले भीम अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा पनि असुरक्षाको भावना पैदा गराएको बताए ।

‘घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गर्दै हामीले आन्दोलनमा ऐक्यबद्धता जनाएका हौँ’ उनले भने, ‘ओपिडी सेवा पूर्ण रूपमा प्रभावित भए पनि बिरामीको संवेदनशीलतालाई ध्यानमा राख्दै अन्य अत्यावश्यक सेवाहरू भने निरन्तर सञ्चालनमा राखिएको छ ।’