July 29, 2026, Wednesday
२०८३ श्रावण १३ बुधबार

लुम्बिनी प्रदेशमा दुर्घटनाबाट मानवीय क्षति बढेको बढ्यैं

Advertisement

भैरहवा–लुम्बिनी प्रदेशमा दुर्घटनामा परेर हुने मानवीय क्षति थामिएको छैन । प्रत्येक वर्ष दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बृद्धि भइरहेको छ । यातायातका साधनको उपयोग बढेसँगैं दुर्घटना हवात्तै बृद्धि भएका हुन् ।

Advertisement

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को प्रतिवेदन अनुसार प्रदेशका १२ जिल्लामा गत वर्ष कुल चार हजार सात सय ९७ वटा सवारी दुर्घटना भएका छन् । तिनमा परेर ५ सय ८५ जनाले ज्यान गुमाएका छन् ।

ट्राफिक प्रहरीका अनुसार ती दुर्घटनामा चार सय २४ पुरुष, एक सय १० महिला, ३४ बालक र १७ बालिकाको ज्यान गएको छ । दुर्घटनामा एक हजार सात सय ९९ जना गम्भीर घाइते भएका छन् भने ६ हजार दुई सय ५९ जनालाई सामान्य चोटपटक लागेको छ ।

सबैभन्दा बढी ६३ मोटरसाइकल दुर्घटना भएका छन । उक्त अवधिमा चार हजार दुई सय ८६ वटा मोटरसाइकल रहेका छन् । यसबाहेक ६ सय ६६ जिप÷कार, पाँच सय नौ टेम्पो, दुई सय १० बस, २०४ ट्रक तथा ट्याङ्कर र एक सय ९० वटा ट्याक्टर दुर्घटनामा परेका छन् । कार्यालयको विश्लेषण अनुसार अधिकांश दुर्घटना प्राविधिक वा सडकजन्य कारणले भन्दापनि मानवीय त्रुटिका कारण हुने गरेका छन् ।

कुल दुर्घटनामध्ये तीन हजार दुई सय ९५ वटा अर्थात् करिब ६८ दशमलव ७ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएका हुन् । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ६ सय १३ वटा र चालकको असक्षमता वा लापरबाहीका कारण पाँच सय ३५ वटा दुर्घटना भएका छन् । सडकको खराब अवस्था, मौसम वा प्राविधिक गल्तीका कारण हुने दुर्घटनाको सङ्ख्या भने तुलनात्मक रूपमा निकै कम देखिएको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि गरिएको कारबाहीबाट प्रहरीले उल्लेख्य राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा एक लाख २० हजार ४८ वटा सवारी साधनलाई कारबाही गर्दा १३ करोड ५८ लाख ६ हजार ६३ रुपियाँ राजस्व संकलन भएको छ । थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएका आठ हजार एक सय ६८ सवारी साधनबाट आठ करोड १६ लाख ८० हजार रुपियाँ राजस्व दाखिला भएको छ । दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सचेतनामूलक कार्यक्रमहरूलाई पनि निरन्तरता दिएको छ ।

वर्षभरिमा १० हजार ६ सय ६२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी पाँच लाख पाँच हजार भन्दा बढी नागरिकलाई सडक सुरक्षाबारे जानकारी गराइएको छ । यस क्रममा चालक, परिचालक, यात्रु, पैदल यात्री र विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई लक्षित गरी विशेष कक्षा सञ्चालन गरिएको थियो । आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति विवरण अनुसार प्रदेशभर सडकको कुल लम्बाई १५ हजार सात सय ६ किलोमिटर पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को १५ हजार ४२ किलोमिटरको तुलनामा शून्य दशमलव ९६ प्रतिशतले बढी हो ।