कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु


कपिलवस्तु–हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तुको तौलिहवा–बहादुरगन्ज सडकखण्डमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक बालकसहित ३ जनाको मृत्यु भएको छ ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर २ स्थित गैंडहवा चोक नजिकै मदिरा बोकेको ना ५ ख २३६४ नम्बरको ट्रकले पैदल तथा साइकलयात्रीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
बहादुरगन्जबाट तौलिहवातर्फ आउँदै गरेको तीव्र गतिको उक्त ट्रकले बिहान सवा ७ बजेतिर ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा परी स्थानीय १२ वर्षीय बालक आनन्द कहार, महाराजगन्ज नगरपालिका वडा नम्बर ३ का ७५ वर्षीय घोल्लर कुर्मी र ४५ वर्षीय विजयकुमार बनियाको मृत्यु भएको जनाइएको छ ।
दुर्घटनापछि आक्रोशित बनेका स्थानीयबासीले सडक अवरुद्ध गर्दै विरोध जनाएपछि बिहान १० बजेसम्म दुर्घटनास्थल तनावग्रस्त बनेको थियो । पछि स्थिति नियन्त्रणमा आई सडक खुलाइएको र जनजीवन सामान्य बनेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।








प्रतिकृया दिनुहोस्