July 29, 2026, Wednesday
२०८३ श्रावण १३ बुधबार

मुलुकभर यसवर्ष ७४ बाघ बढे

Advertisement

भैरहवा—यस वर्ष गरिएको गणनाबाट मुलुकभर ७४ बाघ बढेको पाइएको छ । विश्व बाघ दिवसको अवसर पारेर बुधबार सार्वजनिक गरिएको बाघ गणनाको नतिजाअनुसार देशभर बाघको संख्या ४ सय २९ पुगेको हो ।

Advertisement

कृषि तथा वनमन्त्री गीता चौधरीको उपस्थितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बुधबार काठमाण्डौंमा नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी अहिभद्र आचार्यले बर्दियाबाहेक अरू सबै निकुञ्ज क्षेत्रमा बाघको संख्या बढेको बताए ।

पर्सा राष्ट्रिय निकुञ्जमा सन् २०२२ को गणनामा ४१ बाघ थिए, अहिले ७१ पुगेका छन् । बाँकेमा २५ बाट बढेर ५१ र शुक्लाफाँटामा ३६ बाट बढेर ५० पुगेका छन् । बर्दियामा अघिल्लो गणनामा १ सय २५ बाघ थिए । अहिले १ सय १२ मा झरेका छन् । यसपटकको गणनामा चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा बाघको संख्या १ सय ४५ पुगेको छ । यसअघि चितवनमा बाघको संख्या १ सय २८ थियो ।

सन् २००० को आसपासमा चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको वन क्षेत्रमा बाघको कुल संख्या ६० थियो । त्यसपछि सन् २००९ को सर्वेक्षणमा बाघको संख्या ९१ पुग्यो । चितवनमा सन् २०१३ को बाघ सर्वेक्षणमा कुल १ सय २० बाघ पाइएका थिए । तर सन् २०१८ को गणनामा चितवनमा बाघको संख्या घटेर ९३ मा झरेको थियो ।

यस पटक सार्वजनिक नतिजामा चितवनपछि सबैभन्दा धेरै बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय १२ बाघ छन् । बर्दियामा यस पटक बाघको संख्या घटेको छ । अघिल्लो पटक देशभर ३ सय ५५ बाघ थिए । सन् २०२२ को गणनाभन्दा यस पटक ७४ बाघ थपिएका हुन् ।