प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन


भैरहवा–रुपन्देहीलाई कर्मथलो बनाएर लामो देखि पत्रकारिता गर्दै आएका प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको आइतबार राति निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो ।
तिलोत्तमाको शंकरनगरका बासिन्दा ८० वर्षीय ज्ञवाली पछिल्लो केहीसमय यता मुटु र फोक्सोमा समस्या देखिएपछि काठमाडौंको बीएण्डबी अस्पतालमा उपचाररत थिए । उपचारका क्रममा आइतबार राति ८ः४० बजे अस्पतालमा निधन भएको उनका छोरा सागर ज्ञवालीले बताए ।
अर्घाखाँचीको साविक चिदिकाबाट रुपन्देही बसाइँसराई गरेका ज्ञवाली शिक्षण सेवाबाट निवृत्त थिए । मणिग्रामस्थित शान्ति नमूना माविमा नेपाली विषयको शिक्षण पेसासँगै ज्ञवालीले लामो समयसम्म पत्रकारितामा बिताएका थिए । उमेरले ८ दशक पार गर्दासम्म पनि ज्ञवाली लेखनमा सक्रिय थिए । खासगरी राष्ट्रियता र देशभक्तिको पक्षमा कलम चलाउने ज्ञवाली लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक भएर समेत काम गरेका थिए ।
पत्रकारिताको प्रशिक्षक समेत रहेका ज्ञवालीका लेख बुटवलबाट प्रकाशन हुने छापा तथा अनलाइन सञ्चार माध्यममा प्रकाशित हुने गर्दथे। सरल भाषामा लेखन शैलीका कारण उनका लेख रचनाहरु पाठकका लागि रुचीकर हुने गर्दथे । ज्ञवालीले पत्रकारितालाई जनताको आवाजलाई शब्द दिने, आन्दोलनको धड्कन सुन्ने, राज्यका निर्णयमाथि प्रश्न उठाउने र समाजका घाउलाई अक्षरमार्फत् उजागर गर्ने साहसिक यात्रा भएको बताउने गर्थे ।
२०२४ सालदेखि पत्रकारिता शुरु गरेका ज्ञवालीले नेपाल पत्रकार महासंघबाट प्रदान गरिने प्रेस स्वतन्त्रता सेनानी सम्मान, पत्रकार महासंघ रुपन्देहीको उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, गोपाल गोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदकलगायत दर्जनौँ सम्मान प्राप्त गरेका थिए । स्वर्गीय ज्ञवालीका श्रीमती, एक छोरी र दुई छोरा छन् ।
उनको सोमबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको हो ।








प्रतिकृया दिनुहोस्