लुम्बिनी एम्युजमेन्ट पार्कः आन्तरिक र भारतीय पर्यटकका लागि गर्मी छल्ने प्रमुख गन्तव्य



भैरहवा– अहिले गर्मीको मौसम । नेपाल मात्र होइन भारतको उत्तर प्रदेश राज्यका बासिन्दालाई पनि गर्मीले अत्याइरहेको छ । यस्तो बेला नेपालका हिलस्टेशन र तराईमा रहेका सुविधा सम्पन्न वाटर पार्कमा रमाउन आउने भारतीयको संख्या उल्लेख छ । त्यसैले रुपन्देहीमा नयाँ–नयाँ पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् । साना रेष्टुरेन्टदेखि सुविधा सम्पन्न तारे होटल निर्माणको होड छ ।
यस्तो होडमा पनि रुपन्देहीको सिद्धार्थनगर–१, स्थित बेलहियामा रहेको लक्जरी लुम्बिनी एम्युजमेन्ट पार्क रिसोर्ट विशेष छ । उक्त पार्कमा रहेका विशेषताका कारण अहिले आन्तरिकसँगै भारतीय पर्यटकको ओइरो लागिरहेको छ । उक्त पार्कको गेटबाट प्रवेश गरेपछि पर्यटकलाई आवश्यक सबैं सुविधा उपलब्ध रहेकाले भारतीय ओइरिने गरेका हुन् । आकर्षक पार्कमा पर्यटकको सुरक्षा र सुविधालाई ध्यान दिइएकाले पाहुनाको मन जितिरहेको छ । जसले गर्दा दैनिक हजारौं नागरिक आइरहेका छन् ।
लुम्बिनी एम्युजमेन्ट पार्क रिसोर्ट सात वर्षदेखि सञ्चालनमा छ । भैरहवाकै पुराना तथा अग्रज व्यवसायीको लगानीमा सञ्चालनमा आएको यो पार्क गर्मी छल्नका लागि उपयुक्त गन्तव्य हो । अहिले गर्मी छल्नकै लागि दैनिक सरदर दुईदेखि ५ सय पर्यटक आइरहेका छन् । यहाँ रमाउन आउने सबैं उमेर समूहका छन् । बालकदेखि बृद्धसम्म आइरहेका छन्् । ठूलो क्षेत्रफल आगेटेको पार्कमा सानो उमेरदेखि परिवारसम्म अटाउन सक्ने गरी यहाँ संरचना बनाइएको संचालक अभिषेक शर्माले बताए ।
तराईमा चैतदेखि असोजसम्मै गर्मी हुने भएकाले पार्कमा दैनिक पाँच सयदेखि एक हजारसम्म पाहुना आउने गरेका छन् । असोजबाट चिसो सुरु हुने भएकाले पर्यटक आउने क्रम घट्दै जान्छ । ‘प्रत्येक वर्ष चैतदेखि भदौसम्म रिसोर्टको सिजन हो । यसबेलाको रमझम बेग्लैं हुने गरेको छ’, उनले भने । पाहुना नआएका बेला रिसोर्टमा रहेका संरचनाको मर्मत लगायत अन्य काम हुने सञ्चालकको भनाई छ । कार्तिक लागेपछि जाडो सुरु हुने भएकाले पार्कलाई पूर्णरुपले बन्द गरेर कर्मचारीलाई बिदा गरी घर पठाउने गरिएको यसका सञ्चालकले बताउँछन् ।
रिसोर्टमा आउने ग्राहकको उमेर अनुसार टिकटको मूल्य तोकिएको छ । उमेर पुगेका व्यक्तिलाई ८ सय र बच्चाको ४ सय ८० रुपैयाँ छ । यो खासगरी सिजनका बेलाको टिकट मूल्य हो । साउन महिना पछि टिकटको दर कम हुने सञ्चालकले बताए । अफ सिजनमा तीनदेखि चार सय रुपैयाँसम्म हुने गरेको छ । पार्कमा बच्चादेखि परिवारसम्म आउने गरेका छन् । बच्चाका लागि यहाँ डुङ्गाको व्यवस्था गरिएको छ । बालमैत्री वातावरण छ । परिवारसँग हात समाएर एकै पटक पौडी खेल्न सकिने व्यवस्था छ ।
पार्कका अपरेसन म्यानेजर विकाश लामाले यहाँ पर्यटकलाई पौडी खेल्ने मात्र नभएर रेष्टुरेन्टमा खान पिन गरेर रमाइलो गर्ने व्यवस्था गरिएको जनाए । ‘हरेक पोखरीमा पौडीका बारेमा सचेतनामूलक जानकारी राखिएको छ । पौडी खेल्ने क्रममा कसलाई कुन बेला के हुन्छ भने थाहा हुँदैन । त्यसैले बच्चा लगायत हरेकको सुरक्षाका लागि लाइफगार्ड राखिएको छ । तिनले कसैलाई केही भएको खण्डमा सुरक्षा दिने काम गर्छन्’, लामाले भने, ‘त्यसैले धेरै सुरक्षित छ । नेपाली र भारतीय पर्यटकको रोजाई बनेको छ ।’
वेभफूल सहितको स्विमिङ पुल छ । हरेक एक–एक घन्टा पन्ध्र मिनेट वेभफुल चलाउने गरिएको छ । त्यसले समुन्द्रको जस्तै छाल उठ्ने गरेको छ । वेभ नचलाउँदा पाँच फिट हुने गरेको छ । वेभ चलाएपछि बढेर ७ फिटसम्म गहिराई पुग्छ । ‘यस बेलामा हामीले तीनवटा लाइफगार्ड राखेका हुन्छौ,’ लामाले भने, ‘पार्कमा दश वटा लाइफगार्ड राखिएको छ । जसले यहाँ आएका पर्यटकलाई आफ्नो आँखामा राखि राखेको हुन्छ ताकी केही कसैलाई केही नहोस् भनेर ।’
रिसोर्टमा नेपाल, भारत बाहेक ताइवान, श्रीलंका र अन्य मुलुकबाट पनि पर्यटन आउने गरेका छन् । यहाँ विवाह, पार्टी लगायत ठूला कार्यक्रमका लागि एक हजार जनासम्म अट्ने हल छन् । पार्कसँगै जोडिएको रिसोर्ट हेर्न लाएक छ । पार्कमा आएर फोटो खिचेर रमाउने पनि उत्तिकै छन् । खासगरी यहाँ भारतीय पर्यटक बढी मात्रामा आउँछन् । सीमा क्षेत्रको नजिक भएकाले पनि आउजाउमा सहजताले भारतीयको रोजाई बढी भएको हो ।
‘पारिवारिक वातावरण, रमाइलो अनुभव, गुणस्तरीय परिकार, गर्मीमा साना–ठूला स्विमिङमा रमाउन सक्ने लगायत कारण पनि बच्चादेखि उमेर ढल्केकाहरुले पनि यहाँ आउन रुचाउनुहुन्छ’, लामाले भने ।








प्रतिकृया दिनुहोस्