July 28, 2026, Tuesday
२०८३ श्रावण १२ मंगलवार

दङका कम्युनिष्ट नेता बस्नेतको निधन, मुख्यमन्त्री आचार्यद्वारा श्रद्धाञ्जली अर्पण

Advertisement

तुलसीपुर– नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार समितिका सदस्य तथा दंगाली कम्युनिस्ट आन्दोलनका अग्रज नेता शोभाराम बस्नेतको निधन भएको छ । उनी दाङ जिल्लाका पूर्वअध्यक्ष समेत हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले बस्नेतको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Advertisement

तुलसीपुरस्थित नेकपा एमाले पार्टी कार्यालयमा पुगेर मुख्यमन्त्री आचार्यले बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । बस्नेतले दाङको कम्युनिस्ट आन्दोलनलाई स्थापित र सुदृढ बनाउन पुर्याएको योगदान अविस्मरणीय रहेको बताउँदै उनीप्रति उच्च सम्मान व्यक्त गरेका थिए ।

मुख्यमन्त्री आचार्यले बस्नेत निष्ठा, त्याग र समर्पणका प्रतीक नेता भएको उल्लेख गर्दै उनको निधनले दाङको सामाजिक, सांस्कृतिक तथा राजनीतिक आन्दोलनसँगै नेकपा एमालेले अनुभवी अभिभावक गुमाएको बताए ।

लामो समयदेखि विभिन्न रोगबाट पीडित बस्नेतको उपचारका क्रममा गएराति निधन भएको हो । उनी दाङको कम्युनिस्ट आन्दोलनका अग्रज व्यक्तित्वका रूपमा परिचित थिए । पार्टी संगठन निर्माण, विस्तार तथा नयाँ पुस्तालाई कम्युनिस्ट आन्दोलनमा आबद्ध गराउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको मुख्यमन्त्रीले जनाए ।

श्रद्धाञ्जली कार्यक्रमपछि बस्नेतको पार्थिव शरीरलाई शीतलपुर घाट लगेर अन्त्येष्टि गरिएको थियो । श्रद्धाञ्जली अर्पणमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।