नारायणी अस्पताल घटनाको विरोधमा भीम अस्पतालको ओपिडी ठप्प, बिरामी अलपत्र


भैरहवा–गत शनिवार वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडको विरोधमा रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको ओपिडी (बहिरङ्ग) सेवा मंगलवार पूर्ण रूपमा ठप्प भएको छ ।
नेपाल चिकित्सक संघको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अस्पतालमा कार्यरत चिकित्सकहरूले ओपिडी सेवा बन्द गरेपछि उपचारका लागि आएका सयौँ बिरामी समस्यामा परेका हुन् ।
नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण सधैँ बिरामीको घुइँचो हुने भीम अस्पताल मंगलवार दिनभरी सुनसान बन्यो । ओपिडी सेवा बन्द हुँदा रुपन्देहीका मर्चवार, लुम्बिनी, धकधही, छपिया, गैँडहवा र सूर्यपुरा लगायतका टाढाका स्थानबाट आइपुगेका बिरामी बिना उपचार घर फर्किन बाध्य भए ।
अस्पतालका सूचना अधिकारी डा.आरिफ हुसैनले का अनुसार नारायणी अस्पतालको घटनाले भीम अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा पनि असुरक्षाको भावना पैदा गराएको बताए । ‘घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गर्दै हामीले आन्दोलनमा ऐक्यबद्धता जनाएका हौँ’ उनले भने, ‘सामान्य अवस्थाका बिरामीहरूलाई अर्को दिन आउन भनेर फर्काइएको छ।’

भीम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट बाहेक विशेषज्ञ र मेडिकल अधिकृत गरी २४ जना चिकित्सकहरू कार्यरत छन् । यहाँ दैनिक ५ सय ५० देखि ६ सयसम्म बिरामीहरू ओपिडी सेवातर्फका सञ्चलनमा रहेका स्त्रीरोग, बालरोग, नाक–कान–घाँटी, मेडिसिन, हाडजोर्नी र रेडियोलोजीका लागि सेवा लिन आउने गर्छन् ।
ओपिडी सेवा पूर्ण रूपमा प्रभावित भए पनि बिरामीको संवेदनशीलतालाई ध्यानमा राख्दै अन्य अत्यावश्यक सेवाहरू भने निरन्तर सञ्चालनमा राखेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. बर्षा थापाले गम्भीर प्रकृतिका र टाढाबाट आएका बिरामीहरू उपचारबाट वञ्चित नहोऊन् भनेर वैकल्पिक व्यवस्था मिलाइएको बताइन् । ‘नेपाल चिकित्सक संघको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै ओपिडी बन्द रहेपनि अन्य अत्यावश्यक सेवा रोकिएको छैन’ डा. थापाले भनिन्, ‘इमर्जेन्सी, शल्यक्रिया, प्रसूति तथा नवजात शिशु उपचार, बच्चाको सघन उपचार, नियमित खोप, ल्याब र एक्स–रे सेवाहरू यथावत् रूपमा सञ्चालन भइरहेका छन् ।’
नारायणी अस्प्तालमा भएको उक्त घटनाको विरोध गर्दै मंगलवार चिकित्सकहरूको टोलीले जिल्ला प्रशासन कार्यालय, रुपन्देही पुगेर डेलिगेसनसहित ज्ञापनपत्र समेत बुझाएको डा. हुसैनले बताए । नेपाल चिकित्सक संघले अघि सारेका सुरक्षासम्बन्धी मागहरू यथाशीघ्र पूरा नभए आन्दोलन अझै लम्बिने र यसबाट सर्वसाधारण बिरामीहरूले थप सास्ती भोग्नुपर्ने स्थिति आउन सक्ने उनले जनाए ।








प्रतिकृया दिनुहोस्