August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

गरगहना लुट्ने भारतीय नागरिक सहितको गिरोह पक्राउ, वालवालिका समेतको प्रयोग

Advertisement

भैरहवा–बढी भिडभाड हुने स्थानमा सुनको गरगहना लुट्ने भारतीय नागरिक सहितको संगठित एउटा गिरोहलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । गहना लुट्नमा वालवालिका र भाग्नकालागि गाडीको समेत प्रयोग गर्ने गरेको रहस्य प्रहरीको अनुशन्धानबाट खुल्न आएको छ ।

Advertisement

पछिल्लो समय आपराधिक गतिविधि नियन्त्रणमा सक्रियता बढाएको रुपन्देही प्रहरीले रुपन्देहीको शुद्धोधन गाँउपालिका–४ मा लागेको हाटबजारबाट उक्त गिरोहलाई पक्राउ गरेको हो । लुटेर भाग्नकालागि प्रयोग गरिएको एउटा स्कारपियो गाडी र एक नावालक सहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी तथा सूचना अधिकारी कृष्ण कुमार चन्दले हाटबजारमा भएको भिडभाडको मौका छोपी एक व्यक्तीको घाँटीमा लगाएको करिव २ तोला सुनको सिक्री थुतेर भागिसकेको लुटेराको उक्त समूहलाई पक्राउ गरिएको बताए । ‘भिडभाडमा सिक्री थुत्नकालागि वालवालिका र भाग्नकालागि गाडीको समेत प्रयोग गर्ने गरेको पाइएको छ’ चन्दले भने, ‘भारतीय र वीरगञ्जदेखिका संगठित गिरोह हाटबजारमा छरिएर गरगहना लुट्ने र गाडीबाट भाग्ने गरेको प्रारम्भिक अनुशन्धानबाट देखिएको छ ।’

पक्राउ पर्नेमा, सिद्धार्थनगर नगरपालिका–११ का अकलेश बृजवासी, वीरगंज महानगरपालिका–२० का राजन राय, वीरगंज महानगरपालिका–१६ का एक बालक, वीरगंज महानगरपालिका–१६ कै अमन राय र भारतको बिहारस्थित मोतिपुर रामगणवा थानाका मोहम्मद इमाम रहेका छन् ।

उनीहरुको साथबाट बा १९ च ४३७७ नम्बरको स्कारपियो गाडी, लुटेको सुनको सिक्री र चार थान मोबाइल प्रहरीले बरामद गरेको छ । अन्य स्थानमा भएका गरगहना.लुटपाटका घटनामा उनीहरुको संलग्नता र अन्य बिषयमा बिस्तृत छानबिन जारी रहेको डिएसपी चन्दले बताए ।