एमालेमा वैचारिक पुनर्गठन अनिवार्य:महासचिव पोखरेल


बुटवल—एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आन्तरिक कमजोरी स्वीकार्दै वैचारिक पुनर्गठन, युवा र जनतामुखी बन्नुपर्ने आवश्यकता औंल्याएका छन् । पार्टीमा नेतृत्वको रक्षामा खरो उत्रिने र आफ्ना कमजोरी स्वीकार नगर्ने नेताका रुपमा कार्यकर्ताले पोखरेलको आलोचना गर्दै आएका थिए ।
लुम्बिनी प्रदेश कमिटीद्वारा आइतबार कपिलवस्तुको चन्द्रौटामा आयोजित मिसन पार्टी जागरण अभियानको शुभारम्भ गर्दै महासचिव पोखरेलले पार्टी र आफ्ना व्यक्तिगत कमजोरी पनि स्वीकार गरेका हुन् । तर, आइतबारको कार्यक्रममा उनले कार्यकर्तासँग खुलेरै आत्मालोचना पनि गरे ।
‘हाम्रै कमजोरीले यो अवस्था आएको हो, अलिकति सूचना पनि आएकै थिए कमजोरी कहाँ छन् भन्ने त्यो बेलैमा सल्टाउन सकिएन,’ उनले भने, ‘अब वैचारिक पुनर्गठन आवश्यक छ । आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आयो भन्न हिचकिचाउनु पर्दैन । पार्टी जीवनमा सबैभन्दा ठूलो पराजय हो यो । कार्यकर्तामा चरम निराशा छ ।’
महासचिव पोखरेलले कार्यकर्ताको भावना र पार्टीको बृहत्तर हितका लागि खुलारूपले निर्णय गर्न तयार रहेको बताए । सामाजिक सञ्जालबाट गलत भाष्य बनाइएका कारण एमालेले गरेका राम्रा कामको पनि नकारात्मक प्रचारमात्र बढेको उनको जिकिर थियो
‘हामी जुन वर्गलाई लक्षित गरेर राजनीति गर्दै आयौं उनीहरू हामीसँग रहेनन्, हामीलाई विश्वास गरेनन्, भूमिहीनले विश्वास गरेनन्, विदेशिएका श्रमजीवी वर्ग पनि हाम्रो साथमा रहेनन् । पार्टी बलियो बनाउने आधार भत्कियो । उत्पीडित वर्गको नेतृत्व युट्युवरले गरे,’ उनले भने, ‘विद्यार्थीहरू हाम्रो साथमा रहेनन् । किसान आन्दोलनबाट हुर्केको पार्टीलाई किसानले विश्वास गरेनन् । हाम्रो पार्टी सत्तामा हुँदा न्याय हुन्छ भन्ने विश्वास भएन । शिक्षकहरू हिजो गाउँगाउँमा संगठन गर्थे, उनीहरूले पनि विश्वास गरेनन् । त्यसैले अब कसैको निर्देशनभन्दा पनि आफैले जानेर योजना बनाएर काम गर्नुप¥यो ।’
सहरिया, नवयुवा, विदेश बसेका र सुकुमुवासी पार्टीबाट टाढिएको स्थानीय चुनावपछि नै थाहा भए पनि त्यसलाई बुझेर योजना निर्माण गर्न नसक्दा पार्टी असफलतामा पुगेको उनको टिप्पणी थियो । मिसन ग्रासरूट चलाए पनि त्यसमा गरेका प्रतिबद्धता पूरा गर्न नसक्दा पार्टीबाट युवाहरु टाढिएको उनले बताए ।
‘सरकारका माध्यमबाट हामी बलियो हुन खोज्यौं तर वर्ग संघर्षलाई हामीले बुझ्न सकेनौं, सीडीओ र राम्रो हाकिम खोज्दै हिँड्यौं । हामी जनताबीच जाने हैन, जनता हामीकहाँ आउने बनायौं,’ उनले भने, ‘यो कार्यशैली उल्टो भयो । हामी सत्तामुखी भयौं, जनतामुखी भएनौं, त्यसैले असफल बन्यौं ।’








प्रतिकृया दिनुहोस्