गैडहवा गाउँपालिकामा पुरानो भवन भत्काउँदा अनियमितता


भैरहवा– रुपन्देहीको गैडहवा गाउँपालिकाले पुरानो दुई वटा भवन भत्काएर ११ शय्याको अस्पताल भवन निर्माण गर्ने क्रममा गरिएको ठेक्का व्यवस्थापनमा २२ लाख ७९ हजार १७० रुपैयाँ अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको २०८१–०८२ को प्रतिवेदनले एउटै प्रकृतिको काम दुई फरक ठेक्कामार्फत समावेश गरी अतिरिक्त भुक्तानी गरिएको भन्दै उक्त रकम अनियमित भएको औँल्याएको हो ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७–७८ मा ९८ लाख ५८ हजार ९४० रुपैयाँ लागत अनुमान तयार गरी पुरानो दुई वटा भवन भत्काएर १५ शय्याको अस्पताल भवन निर्माण गर्ने कार्य २०७८ असार २५ सम्म सम्पन्न गर्ने गरी २०७७ फागुन १६ मा एस. एस.के. निर्माण सेवा प्रालिसँग ७७ लाख ३७ हजार १७० को सम्झौता गरिएको थियो । उक्त ठेक्काबाट गोश्वारा भौचर नं.१।०७८।३।२३ बाट ५७ लाख ९ हजार २२८ भुक्तानी भएको थियो ।
पछि सोही स्थानमा पुनः पुरानो दुई वटा भवन भत्काएर अस्पताल भवन निर्माणका लागि २० करोड २० लाख ३२ हजार ७८३ लागत अनुमान तयार गरी २०८२ जेठ २४ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राख्दै २०८० जेठ २४ मा पि.एम. गुडविल जे.भी., काठमाडौं, महानगरपालिका नयाँ बानेश्वर सँग १९ करोड ९१ लाख १३ हजार ४१० रुपैयाँमा सम्झौता गरिएको थियो । यस क्रममा पहिलो ठेक्काको कार्य घटाई संशोधित सम्झौता १८ करोड ५६ लाख १२ हजार ९२९ कायम गरी २०८२ असार ७ मा १८ करोड ४२ लाख ६० हजार ९०९ रुपैयाँमा निर्माण सम्पन्न भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाले पहिलो सम्झौता कार्यान्वयन अवस्थामा नरहे पनि भुक्तानी भइसकेको ठेक्काको बिलअनुसार लागत अनुमानमा रहेका २ र १ तल्लाका पुराना भवन भत्काउने कार्य प्रतिकार्य २६ हजार ७ सयका दरले एस.एस.के. निर्माण सेवा प्रा.लि. ले कबोल गरेको जनाइएको छ । तर, उक्त कार्य सम्पन्न नभएको कारण देखाउँदै दोस्रो सम्झौतामा सोही आइटम समावेश गरी पि.एम.– गुडविल जे.भी., काठमाडौं बाट आइटमगत कबोल गरिएको २३ लाख ३२ हजार ७५० रुपैयाँ अनुसार काम गराउँदा २२ लाख ७९ हजार १७० रुपैयाँ अतिरिक्त लागत थपिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालेखाका अनुसार ठेक्का नं. ६।०७७–०७८ अन्तर्गत २०७७ फागुन १६ मा भएको सम्झौतामा ५७ लाख ९ हजार ७२८ भुक्तानी भइसकेपछि पनि कार्यान्वयन अवस्थाको लेखापरीक्षणका क्रममा पेश नगरिएको पाइएको छ । त्यसपछि पालिकाले निर्माण सम्झौताको कार्यान्वयन अवस्था पेश गरी एस.एस.के. निर्माण सेवा प्रालिसँगको सम्झौतामा समावेश पुरानो दुई वटा भवन भत्काउने कार्य कार्यान्वयन नभएको देखाउँदै ठेक्का नं. ९।०७९–८० अन्तर्गत २०८० जेठ २४ मा पि. एम.– गुडविल जे. भी., काठमाडौं सँगको सम्झौतामा पुनः समावेश गरी भुक्तानी गरेको थियो ।
महालेखाले एउटै प्रकृतिको भवन भत्काउने कार्य दुई फरक ठेक्कामार्फत समावेश भई अतिरिक्त भुक्तानी भएको निष्कर्ष निकाल्दै २२ लाख ७९ हजार १७० रुपैयाँ अनियमित भएको ठहर गरेको छ । गैडहवा गाउँपालिकाको अध्यक्ष सुरेन्द्र पौड्याल र उपाध्यक्षमा माधुरी जैसवाल छन् । उनीहरुले भवन भत्काउँदा मिलेमतो गरी अनियमित गरेका हुन् । यस कार्यमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले साथ दिएका छन् ।








प्रतिकृया दिनुहोस्