कहिले निर्माण सम्पन्न हुने बेलवास–बेथरी सडक आयोजना ?


भैरहवा–‘रात्रीकालिन पर्यटन’को गन्तब्य स्थल बनाउँदै लुम्बिनी प्रदेशकै पर्यटकीय नमूनाको रुपमा लिइएको २१ किलोमीटर लामो बेलवास–बेथरी सडक आयोजना सुरु भएको करिब एक दशक बित्न लाग्दा पनि अधुरै छ ।
पूर्व–पश्चिम राजमार्ग र हुलाकी सडकसँग प्रत्यक्ष जोडेर लुम्बिनीको पर्यटनका लागि ‘लाइफलाइन’ को अवधारणा राखिएको यो सडक अहिले बजेट अभाव, ठेक्काको म्याद समाप्ति र कानुनी अन्यौलको गतीरोधमा फँसेको छ ।
दानव नदीबाट निस्किएको सिँचाइ नहरको दुवै किनारलाई समेटेर बहुआयामिक मोडलमा निर्माण थालिएको यस आयोजनाको प्रारम्भिक लागत १ अर्ब ६७ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, ढिलाइकै कारण लागत बढेर अहिले झन्डै साढे २ अर्ब रुपैयाँ पुगेको छ । २०७३ सालमा सङ्घीय सरकारबनट निर्माण सुरु भएको यो आयोजना जिम्मेवारीबाट पन्छिदै प्रदेश सरकार र हाल सडक पूर्वाधार विकास कार्यालय, रुपन्देही मातहत पुगेको छ । आयोजना २०७६ असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने गरी बज्रगुरु–कान्छाराम जेभीले ठेक्का पाएको थियो ।

तर, दक्षिणतर्फको खण्ड सकिए पनि उत्तरतर्फको साढे आठ किलोमीटर क्षेत्रमा अझै अधुरै छ । आयोजना पछाडि पर्नुको मुख्य कारक सङ्घ र प्रदेश सरकारबिच समन्वय नहुनु र बजेटको सुनिश्चितता नहुनु नै हो । यो सडकमा आर्थिक वर्ष २०७९-८० मा रुपैयाँ ३० लाख र आव २०८०-८१ मा रुपैयाँ मात्रै बजेट प्राप्त भएको थियो । त्यसपछि आयोजना पूर्ण रूपमा बजेटविहीन बन्यो ।
निर्माण सम्झौताको म्याद २०८१ चैतपछि सकिएकाले अहिले काम ठप्प छ । लामो समय प्रगति नभएपछि प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाउँदै प्रदेश यातायात पूर्वाधार निर्देशनालयसँग राय मागेको थियो ।
प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक अनिल मरासिनी ठेक्का तोड्दा सरकारलाई हुने लाभ–हानि तथा वैकल्पिक उपायबारे विश्लेषण भइरहेको बताउँछन् ।
सङ्घीय सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरी ५० प्रतिशतभन्दा बढी प्रगति भएका अलपत्र आयोजनालाई पुरानै निर्माण व्यवसायीमार्फत काम सकाउने अन्तिम मौका दिन सकिने व्यवस्था गरेपछि अर्को विकल्पमा पनि छलफल सुरु भएको छ ।
पूर्वाधार विकास कार्यालय रुपन्देहीका प्रमुख लालू गिरीले नियमावली संशोधनपछि पुरानै निर्माण व्यवसायीलाई अन्तिम पटक काम सम्पन्न गर्ने अवसर दिने विषयमा छलफल भइरहेको जनाउँदै ठेक्का रद्द गर्नु नै अन्तिम विकल्प नभएको बताए ।

सडक निर्माणमा भएको चरम ढिलाइले बुटवल–लुम्बिनी आवतजावत गर्ने यात्री र स्थानीयवासी विगत १० वर्षदेखि खाल्डाखुल्डी, धुलो र हिलोको सास्ती खेप्न बाध्य छन् । बर्षेनी आयोजना अघि बढ्ने आश्वासन पाइए पनि अवस्था जस्ताको तस्तै रहेपछि आक्रोशित स्थानीयहरूले सडक सङ्घर्ष समिति नै गठन गरेका छन् ।
एक दशकसम्म सडक अधुरै रहँदा स्थानीयको दैनिक जीवन र जनस्वास्थ्य गम्भीर रूपमा प्रभावित भएको सङ्घर्ष समितिका संयोजक विजय ढकालले बताए । उनका अनुसार, समितिले जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतका निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ ।
आयोजना पूर्ण रूपमा सम्पन्न हुँदा नहरलाई व्यवस्थित गरी दुवैतर्फ हरियाली, ७–७ मिटरको फराकिलो सडक, २ मिटरको साइकल लेन र १.८ मिटरको आकर्षक फुटपाथ बनाउने योजना हो । नहरमा बगिरहेको कञ्चन पानी, दुवै किनारमा दुई–दुई लेनको सडक, आकर्षक विद्युतीय बत्तीको सजावट अनि बिचको नहरमा सरर बोटिङ (डुङ्गा) सेवा सञ्चालन गरि लुम्बिनी प्रदेशकै ‘रात्रीकालीन पर्यटन’ गन्तब्यको आकर्षक थलो बनाउने योजना उक्त सडक खण्डमा हो ।








प्रतिकृया दिनुहोस्