मौसम परिवर्तनले भीम अस्पतालको आकस्मिक कक्षमा बिरामीको सँख्या बढ्यो


भैरहवा–बिगत दुई महिनादेखि भैरहवास्थित भीम अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुग्ने बिरामीको सँख्या ह्वात्तै बढेको छ । पछिल्लो दिनमा बर्षात सुरु भएसँगै सर्पले टोकेर उपचारका लागि आउने बिरामीको एक्कासी बढेका छन् ।
अन्यवेला दैनिक ४० देखि ५० जना उपचारकालागि आकस्मिक कक्षमा पुग्ने गर्थे । गत जेठ महिनामा लामो समयसम्मको खडेरी र गर्मीले १ हजार ८ सय २१ जना बिरामी उपचारकालागि पुगेका थिए । असारमा यो सँख्या १ हजार ८ सय ८३ पुगेको तथ्याङ्क अस्पताल आकस्मिक कक्षको छ ।
आकस्मिक कक्षका प्रमुख जनकराज पन्तले बर्षात् सुरु भएसँगै पछिल्ला दिनमा अस्पतालको इमर्जेन्सीमा उपचारकालागि आउने बिरामीको सँख्या ह्वात्तै बढेको बताउँछन् । ‘बिरामी बढ्नुको कारणमा अकस्मात मौसममा आएको परिवर्तन र बर्षाका कारण सर्पको टोकाइमा बृद्धि हुनु हो’ पन्तले भने, ‘मौसममा आएको परिवर्तनले बढि मात्रामा किसान, मजदुर लगायत सारिरिक श्रम गरेर गुजारा गर्ने परिवार बढि प्रभावित भएका छन् ।’
पन्तका अनुसार, सामान्यतया भाइरल ज्वरो, झाडापखाला, पेटदुख्ने, फुड प्वाइजन र सर्पले टोकेका विरामीको चाप धेरै छ । चर्को गर्मी तथा खडेरीको वेलामा भने शरिरमा पानीको कमीले हुने लु लाग्ने, बेहोस हुने, रक्तचाप एक्कासी घट्ने, ज्वरो, टाउको दुख्ने, आलस्यता जस्ता बिरामी बढि आएका थिए । सिद्धार्थनगर, मर्चवार क्षेत्र, ओमसतिया, रोहिणी, सियारी गाउँपालिका र तिलोत्तमा नगरपालिकाको दक्षिणी क्षेत्रका बिरामी बढि आउने गर्छन् ।

अस्पतालका अनु्सार, असार महिनामामात्रै सर्पले टोकेर २ सय ५ जना उपचारकालागि आएका थिए । जेठमा भने सर्पले टोकेर ५० जना उपचारकालागि आएका थिए ।
आकस्मिक कक्षमा दुर्घटनामा परेका, हृदयघात, मृगौलामा समस्या भएर, बिष सेवन, कुटपीट, प्रहरीद्वारास्वास्थ्य जाँचकालागि ल्याइने बिरामीपनि आउने गर्छन् । असारमा ४१ जना र जेठमा ३३ जना बिरामीलाई अन्यत्र रिफर गरिएको थियो । जेठमा १५ र असारमा १५ जना बिरामीको उपचारकालागि आकस्मिक कक्षमा ल्याएदा मृत्यु भैसकेको थियो ।
आकस्मिक कक्षमा नियमित एकजना मेडिकल अधिकृत तैनाथ रहने गर्छन् । आकस्मिक कक्ष प्रमुख पन्तले आकस्मिक कक्षमा बढ्दो बिरामीको तुलनामा मेडिकल अधिकृतको कमी रहेको बताए । ‘उपलब्ध जनशक्तिको परिचालन गरेर आकस्मिक कक्षमा आउने बिरामीको उपचारमा सकभर कमी हुन दिइएको छैन’ पन्तले भने ।








प्रतिकृया दिनुहोस्