July 22, 2026, Wednesday
२०८३ श्रावण ७ बिहीबार

कथाः छिमेकी दिदी र राजकुमार

Advertisement

मेरी छिमेकी दिदी कामबाट अवकाश हुने तरखरमा छिन् । साठी दशक काटिन् र अनुहारमा मुजाका रेखाहरू गहिरिँदै छन् । दाँतका रङ खुइलिएका छन् । उज्यालो नेदेखेको ऐना हो कि जस्तो लाग्ने यी दाँतहरू अब बिस्तारै फुक्लिने तरखरमा होलान् ।

Advertisement

अवकाश हुँदै गर्दा दिदीको यो दशक काम, घर, निद्रा, फेरि कामकै वरिपरि घुमिरह्यो । मानौँ दैनिकी आफ्नै कक्षमा अनन्तकालदेखि परिक्रमा गरिरहेको ग्रह हो । उनको जीवन, जसले नयाँ क्षितिज देख्ने फुर्सद नै पाएन । दिदीको संसारै सानो र घेरा झन् सानो भयो । मैले कहिल्यै दिदीलाई छुट्टीमा गएको देखिनँ ।

रिस उठेपछि हाँडीमा पड्किरहेका मकैझैँ शब्दहरू बर्साउने यी दिदीसँग कति बोल्ने, कसरी बोल्ने र कहिले मौन बस्ने भन्ने लय समात्न मैले धेरै समय लगाएँ ।

किनभने दिदी अक्सर गुनासाकै पोका बोक्ने । त्यो पनि अति साना कुरामा । कहिले “माथिल्लो तलामा बस्ने महिलाले बिहान–बिहान काममा जाँदा हिल लगाएर हिँड्दा ब्युँझिएँ” भन्ने, कहिले उतापट्टिको कोठामा बस्नेको “लुगा धुने मेसिन घ्वार घ्वार घुम्दा तर्सिएँ” भन्ने । कुनै न कुनै समस्या खोजिरहने र स्वभावै निहुँ खोज्ने खालको हो कि जस्तो लाग्ने भएकाले ठीक्क मात्र सङ्गत गर्नुपर्ने भयो ।

जाडोको याम थियो । एक साँझ म ठिहिरिएका गोडा सिरकमुनि यता र उता घुसार्दै निद्रामा झुल्न आँटेकी थिएँ । ढोकामा जोडले कसैले ढकढकायो । झसङ्ग भएँ र ढोका खोलेँ । उनै थिइन् मेरा सामु, भनिन्, “छिमेकीले फेरि हल्ला गरे । साक्षी बसिदेऊ, म पुलिसमा जान्छु ।”

झनक्क रिस उठेको थियो । सम्हालिएँ र उनको कोठातिर लागेँ ।

कोठाभित्र पस्नासाथ उनैको टिभीको निकै चर्को आवाज कानमा ठोक्कियो । टिभीको आवाजले छिमेकीहरू उठ्लान् भन्ने पिर मान्दै सोधेँ, “हल्ला कहाँबाट आइरहेको छ ?”

दिदीले माथि सिलिङतिर देखाउँदै भनिन्, “माथिबाट ।”

मैले टिभी बन्द गर्न आग्रह गरेँ । जसै टिभी बन्द भयो, तब कोठामा सन्नाटा छायो । एकछिन पख भनेर इशारा गरिन् । त्यहाँ केही थिएन ।

मैले अचम्म मान्दै भनेँ, “मैले त केही सुनिनँ ।”

उनी हुँदै नभएको कुरा प्रमाणित गराउन खोजिरहेकी थिइन् । रिसको आवेगले अनुहार रातो थियो ।

मैले जवाफ दिनासाथ दिदी भुतभुताइन्, “उसो भए बाहिरबाट आएको छ…भर्‍याङबाट होला… नभए बगैँचाबाट होला । कि छिमेकीले हल्ला गरेका छन् । कतै न कतैबाट त आएको आयै छ । तिमीले निर्क्यौल गरिदिनुपर्‍यो यो आवाज कहाँबाट आएको हो ।”

कस्तो जवाफ दिऊँ ? सोच्दै नसोचेको कुरा भएकाले म अलमल्ल परेँ । कसरी फुत्किऊँ भन्ने भयो । एकछिन धैर्यपूर्वक कुरा सुनेँ । कति समय भयो हल्ला हुन थालेको, कस्तो हल्ला आउँछ । एकैखालको हो कि बहुखालको सोधेँ । उनले थरी थरीका हल्ला सुन्दिरहिछिन् र विशेष गरी कान स्वाँ स्वाँ हुने ।

अनि बिस्तारै भनेँ, “ तपाईंको कानमा समस्या छ कि जस्तो लाग्यो । चिकित्सककोमा जानुहोला। अनि अर्कोपटक हल्ला हुनासाथ मलाई बोलाउनु होला, तर टिभी चर्को नगर्नु है !”

यति भनेर म फर्किएँ ।

मलाई मनमा लाग्यो ; उनी रिसालु छिमेकी भए पनि मेरो केही बिगारेकी छैनन् । हुन सक्छ, उनी एक्लोपनको शिकार छिन् र कानमा पनि समस्या छ । यसै यसै माया लागेर आयो । अरू छिमेकीले बेवास्ता गरे भन्दैमा मैले बिर्सनुपर्ने थिएन अनि बिस्तारै म उनको कुरा सुन्ने साथी बनेँ ।

दिदीको सन्तान भन्नु एउटी छोरी रहिछिन् । जन्मँदा देखिनै मस्तिष्कको विकास हामी साधारण मानिसको जस्तो नरहेको । जसलाई अटिजम स्पेक्ट्रममा रहेको अवस्था भन्न सकिने रहेछ । मध्य फ्रान्समा जन्मेकी दिदी कामको सिलसिलामा पेरिस आइपुगेपछि माइतीसँगको सम्बन्ध बिस्तारै टुट्दै गएछ । आमा बाँचुन्जेल गाउँ जान रमाइलै लाग्थ्यो रे । आमाको मृत्यु पछि सम्पत्ति अरुले बढी खाएछन् र उनका भागमा केही हजार मात्र परेछ । त्यो पनि यो र त्यो भनेर हातमा आइपुगेनछ । यता उनलाई पनि लागेछ, काम गर्ने श्रीमान छन्, म आँफै काम गर्छु र भर्खर छोरी जन्मेकी छिन् । यिनको सम्पत्ति नभए पनि केही छैन । आमा गुमाए पनि पारिवारिक जीवन खुशी छ भन्ने लागेछ । तर जब छोरीमा बिस्तारै अटिजमका लक्षण देखिन थाले, तब उनका वास्तविक दु:ख शुरू भएछन् ।

बेला न कुबेला छोरीमा अति उत्तेजना आउँथ्यो । यस्तो उत्तेजना जुनसुकै बेला रिसको झोँकमा परिणत हुन्थ्यो । कहिले आमामाथि झम्टिन जान्थी छोरी, कहिले छिमेकका अरूमाथि आक्रमण गर्न खोज्थी । कहिले आमालाई भुइँमा पछार्थी, कहिले हातमा जे पर्‍यो त्यही फालेर आफैँ पनि भुइँमा पछारिन्थी । उठ्ने र उठाउने, रुने र रुवाउने यही क्रम दोहोरिरहन्थ्यो । छोरीको जीउ पनि थिलो थिलो र आमाको जिउ पनि थिलो ।

जीवनदेखि हारेकी, दैवका अगाडि कुनै उपाय नभएकी यी दिदीले अन्ततः काम छाडिन् । त्यसपछि लगभग दुई दशक आफ्नो पूरा समय छोरीकै लागि दिइन् । आफ्ना रहर, सपना र चाहनाहरू सबै एक–एक गर्दै थन्किँदै गए । बाँचेकी थिइन्, तर मरेतूल्य थिइन् । त्यो जीवन न उनका लागि थियो, न उनको समर्पणले  नै छोरी ठीक हुन्थिन् । छोरीको हाँसो, रुवाइ, रिस र उत्तेजनाकै बीचमा उनका दिन बिते, रात कटे । कहिलेकाहीँ लाग्थ्यो, उनलाई हरेक दिन जीवनको कठिन परीक्षा पास गर्नुछ ।

छोरीका बुबा काममा जान्थे, तर घरको जिम्मेवारीमा उनको साथ लगभग थिएन । कामबाट फर्केर आएपछि या छुट्टीका दिन छोरीलाई केही समय दिउन् भन्ने दिदीको चाहना थियो । तर उनी “तेरी छोरी तैँले नै सम्हाल्” भन्थे । लोग्नेबाट कुनै पनि प्रोत्साहन या यो काम म आँफै गर्छु भन्ने व्यवहार नपाएपछि घरमा बिस्तारै भनाभन शुरू हुन थाल्यो । छोरीको स्याहारसुसार अब आफ्नो शारिरीक क्षमताभन्दा बाहिर पुग्यो भन्ने बुझेकी दिदीले सरकारी सहयोगको अपेक्षा गर्दै धेरै कुदिन् पनि । आज पनि ठाउँ छैन, भोली पनि छैन भन्दा भन्दै उनी शिथिल भइन् । निकै गलिन् । दिदीको मन बिग्रँदै गयो । कतिसम्म भने दिदी भन्छिन्, “अरू कुरामा त सहयोग पाइनँ, हुँदा हुँदा बिस्तारमा पुगेपछि पनि श्रीमानलाई खुशी पार्न आफैँले नै शारीरिक सम्बन्धका लागि तयार पार्नुपर्थ्यो, आफैँले आफूमाथि चढाउनुजस्तो नैराश्य अवस्था त केही पनि हुनै सक्थेन ।”

यो समस्या पनि उहाँका लागि वैवाहिक सम्बन्धको सुख होइन, बरु गहिरो बोझ बनेर रह्यो ।  सम्बन्धमा आत्मीयताभन्दा कर्तव्यको भार बढी भयो, र त्यो भार पनि एक्लै बहन गर्नुपर्यो ।

भावनात्मक रूपमा मन टुटेपछि अन्ततः सम्बन्ध विच्छेद भयो । छोरीले पनि एउटा ठाउँ पाइन् । अब बेला बेलामा छोरी भेट्न गए हुन्छ उनलाई । बाँकी स्याहार सुसार सबै सरकारी तहबाटै मिल्छ । उनका श्रीमान् पुरानै डेरामा बसे । दिदीलाई सरकारले एउटा अपार्टमेन्ट दियो, र संयोगले उनी मेरी छिमेकी बनिन् ।

फुर्सदिली भएपछि दिदीले पुन: काम थालिन् । व्यवासायिक जीवनका एक दशक बिते दिदीका । फुर्तीका साथ हरेक बिहान काममा जाने दिदीलाई बेला–बेलामा चाहिने सहयोग तिनै पूर्वश्रीमानबाट पाएको मैले देखेँ । अहिले पनि दुवैको व्यवहार मित्रवत् देख्दा श्रीमान श्रीमतीको सम्बन्धचाहिँ अर्को बिहे गरेर गए पनि ननासिने रहेछ जस्तो लाग्यो ।

दिदीको जीवन केही महिना यता आफ्नो पुरानो ताल छोडेर अनौठो मोडतिर बगिरहेको छ ।  काम गर्न नसक्ने भनेर चिकित्सकले बन्देज लगाएका छन् । सरकारको आर्थिक सहयोगमा जीवन चलिरहेको छ । थोरै हिँड्दा पनि स्वाँ–स्वाँ बढ्ने र घुँडा दुख्ने समस्याले उहाँको दैनिकी थामिएको जस्तो देखिन्छ तर मन भने कहिल्यै रोकिन मान्दैन । जीवनसँग हार नमान्ने स्वभावले दिदीलाई अझै अघि धकेलिरहेछ । अहिले मोबाइल नै उनको नयाँ चौतारी बनेको छ, जहाँ आशा, निराशा र सम्भावनाका साना झिल्का दिनभरि झिलिमिली खेल्छन् । उनको लक्ष्य छ, एकबारको जुनीमा फेरि नयाँ जीवनसाथी खोज्ने । यो यात्रा वास्तवमा वर्षौँदेखि थन्किएका रहरहरूको पुनर्जागरण हो दिदीका लागि । आफ्नो बाटो फेला पारेर उनी फेरि बग्न चाहन्छिन् ।

एक दिन उनैले भनिन्, “मेरो घरमा आउन कस्ता कस्ता सँग भेट भयो तिमीलाई भन्छु ।”

नभन्दै एक दिन म गएँ । उनीसँग उपन्यासका जस्ता लाग्ने अनेक पात्र रहेछन् । कसैले “ट्युनिसियामा घर बनाउँदै छु, तिमी र म त्यहीँ बस्ने हो” भन्दै फोटो पठाएछन् । कसैले “म एक्लो छु, मेरो आफ्नै घर छ” भन्दै बोलाएछन् , तर घरमा बोलाएर आफू भने रक्सी पिएर सुतेछन् । कसैले “तिमीले मेरो टिकट काटिदेऊ, म आउन सकिनँ म यतै अड्किएँ” भन्दै बैंक कार्डको नम्बर मागेछन् । केहीले त गुलाफको बुके नै घरमा पठाएछन् । बाहिरबाट हेर्दा ती सबै भेटहरूमा माया र सम्भावनाको रंग देखे पनि दिदीले सबैलाई परीक्षण गर्दै छाडिन् । ती मध्ये एउटालाई रोजिन् ।

यही क्रममा एक दिन उनले भनिन् “मेरा राजकुमार भेटिए ।”

नभन्दै एक बिहान दिदीका राजकुमार लिन आए । दुई हप्ता सँगै बसेपछि दिदी फर्किइन् ।

नयाँ दुलहीलाई झैँ जिस्काउँदै मैले सोधेँ, “अनुभव कस्तो रह्यो ?”

दिदीले हाँस्दै जवाफ दिइन् — “अति सुन्दर ।”

मैले फेरि जिस्किँदै सोधेँ, “आन्तरिक सम्बन्ध पनि राखियो कि नाइँ ?”

दिदी हाँस्नुभयो— “ दुइ हप्ता सँगै बस्दा नहुने कुरै भएन नि ।”

मैले फेरि सोधेँ, “उमेरले यौनिक इच्छामा फरक पार्दो रहेछ कि रहनेछ ?”

दिदीको जवाफ थियो— “पार्दो रहेछ । हतार नभएपछि झन् ढुक्क । आन्तरिक सम्बन्ध हुँदा रमाउने तरिका फरक हुन्छन् । यो पटक फरक थियो र मीठो थियो ।”

जीवनको अर्को नयाँ अनुभव बटुलेर आइछिन् दिदी ।

राजकुमारले दिदीको कपाल आफ्नो रहर अनुसारको कटाएछन् । लुगा पनि किनिदिएछन् । गेट अप चेन्ज गरिदिएछन् । अवकाशपछि मिलाउनुपर्ने कागजातका कामहरूमा सहयोग गरेछन् । अर्को ठूलो काम भनेको चिकित्सककहाँ लिएर पनि गएछन् ।

त्यही क्रममा एमआरआई गर्दा पो थाहा भएछ दिदीको घुँडाभित्रको कुरकुरे हड्डी धुजा धुजा भएर फुटेको रहेछ । फुटेका भागहरू अप्रेसन गरेर निकाल्नुपर्ने अवस्थामा रहेछ । तर यत्रो समयसम्म चिकित्सकहरूले उमेरका कारण घुँडा दुखेको र बाथ भएको अनुमानकै भरमा औषधि दिइरहेका रहेछन् ।

“जीवनमा यत्रो लापरवाही भइरहेको रहेछ । छोरीसँग लड्ने उठ्ने हुँदा कुन बेला कति फुटे मेसो भएन,” दिदीले थपिन् ।

प्रसन्न मुद्रामा देखिएकी दिदीलाई हेरेर म कम्ता खुशी त भइनँ । यति धेरै पीडा बोकेर हिँडेकी दिदीको अनुहारमा फेरि चमक फर्किएको देख्दा मन छोयो ।

अचेल दिदीको अनुहारमा फेरि मेकअपको चमक देखिन थालेको छ । मेकअप बाकसमा थन्किएका पुराना परफ्युमका सुगन्धहरू फेरि उहाँको वरिपरि फैलिन थालेका छन् । गालामा रातो रङ पोतेर दिदी फेरि राम्री देखिन थाल्नुभएको छ । मलाई देख्दा मुस्काउनुहुन्छ । माया गर्नुहुन्छ । म पनि दिदीलाई माया दिन्छु ।

मलाई लाग्दैछ ; जीवनले फेरि वसन्तको एउटा पात दिदीको हातमा थमाइदिएको छ । –sahityapost