बर्दिया र सुर्खेतको चुरेक्षेत्रका बासिन्दाको जीवन कष्टकर
बर्दिया– बर्दिया निकुञ्जको उत्तर मध्यवर्ती क्षेत्र अन्तर्गत बर्दिया र सुर्खेतको चुरे क्षेत्रमा बसोबास भएका स्थानीयको दैनिकी कष्टकर बितिरहेको छ । त्यहाँका बासिन्दा आधारभूत आवश्यकताबाट बञ्चित छन् । पिउने पानीको अभाव हुँदा स्थानीय बिस्थापित भइरहेका छन् । शिक्षा, स्वास्थ्य र सडकको खाँचो छ । स्थानीयका दुःख कटौती गर्नेतर्फ जनप्रतिनिधिको ध्यान पुगेको छैन । सुर्खेतको वराहताल गाउँपालिका–३, स्थित आधा दर्जन बस्तीमा सास्ती नै सास्ती छ । उक्त वडा पूरै छिचोल्न सर्वसाधरणलाई दुईदेखि तीन दिन लाग्छ ।
चुरे क्षेत्रका बासिन्दाका लागि मिठो खाना, स्वच्छ पानी, नियमित विद्यालय, गाउँमै उपचार र रोजगार सपना मात्र हुन् । कहिले उपलब्ध हुन्छन् ठेगान छैन । चुरेका गाउँबाट सुर्खेत सदरमुकाम र बर्दियाका गाउँमा बिजुली झलमल बलेको देखिन्छ । गाउँले सोलारको उज्यालोमा निर्भर छन् । सुर्खेतको वराहताल गाउँपालिका अन्तर्गत गाइनेकाँडा, राजकाँडा, लेकगाउँ, हर्रेकाँडा, नर्सिङकाँडा, सुकरमाला र तेलपानीका बासिन्दाको जनजीवन कष्टकर छ । यहाँका बासिन्दाका अनुसार गाउँमा न तेल पाइन्छ, न त पानी । बरु दुःखको खानी छ ।
अत्यधिक रक्तश्रावका कारण थलिएकी वराहाताल गाउँपालिका–३, सीतागैराकी दीपा वनलाई आफन्तले पिठ्यूँमा बोकेर उपचारका लागि गाइनेकाँडाबाट पूर्वपश्चिम राजमार्गमा ओरालिरहेको दृश्यले गाउँलेको भनाईलाई पुष्टि गथ्र्यो । आफन्तले पालैपालो बोकेर दीपालाई उपचारका लागि लगिरहेका थिए । सितागैराबाट राजमार्ग पुग्न साढे तीन घण्टा ओरालो झर्नुपर्छ । दीपाकी अमाजु मनकला वनका अनुसार तल्लो पेट दुख्ने र रगत बग्ने समस्या भएकी बुहारी थला परेको वर्षदिन भन्दा बढी भयो ।
‘जति उपचार गरेपनि निको हुँदैन,’ बुहारीलाई लिन गाइनेकाँडातर्फ उक्लिरहेकी मनकलाले भनिन्, ‘रगत थामिँदैन ।’ पिठ्यूँमा बोकेर कैलालीको चिसापानी पुर्याएपछि उपचारका लागि नेपालगन्ज लैजाने उनले बताइन् । गाउँलेले एम्बुलेन्स देखेकै छैनन् । यहाँ बिरामीलाई पिठ्यूँमा बोकेर स्वास्थ्यसंस्था पुर्याउने गरिएको छ । ‘गाउँमा स्ट्रेचरसम्म छैन,’ मनकलाले भनिन्, ‘डोको काटेर एम्बुलेन्स बनाउँछौं ।’
वराहाताल–३, राजकाँडाका रणबहादुर बुढा गाउँमा ‘शतप्रतिशत दुख’ रहेको बताउँछन् । पहाडमा बसोबास गर्नु भनेकै दुःख कटाउनु मात्र भएको उनको भनाई छ । उनका अनुसार गाउँमा तरकारी, फलफूल उत्पादन गर्यो, विक्री हुँदैन । बाली हराभरा भएका बेला वन्यजन्तु आएर सोतर तुल्याउँछन् । गाउँमा पानीको मूल समस्या रहेको बुढाले बताए । ‘आकासे पानीको भर छ,’ उनले भने, ‘बाटोघाटो छैन, बिरामी हुँदा उपचार नपाएर मर्ने अवस्था छ ।’
रणबहादुरकी पत्नि धनसारा पानीको समस्याले गाउँले बिस्थापित भइसकेको सुनाउँछिन् । धनसराका अनुसार १० वर्षमा गाइनेकाँडा र राजकाँडाबाट पानीको अभावले ३० परिवार बिस्थापित भइसके । गाइनेकाँडामा धेरै घर जिर्ण छन् । मानिस नबस्ने भएकाले भत्किन थालेका छन् । गाइनेकाँडामा दुई घरमा मात्रै बसोबास थियो । राजकाँडामा तीन घरमा मासिन थिए । ‘असुविधाले गर्दा बिस्थापित भएका हुन्,’ धनसराले भनिन, ‘बर्दिया र कैलाली गइसके ।’ यहाँ बसोबास गर्ने अभिभावक मात्रै हुन् । उनीहरुले सन्तान पढाउन बर्दिया र कैलालीका विभिन्न ठाउँमा लगेर राखेका छन् ।
यहाँबाट धान, गहुँ कुटानी, पिसानीका लागि कैलालीको लम्की बजार जाने गरेको उनले बताइन् । नुन, तेल, चिनि, चियापत्तीदेखि सलाई खरिद गर्न कैलालीको चिसापानी बजार पुग्नुपर्छ । यहाँ उत्पादन भएका तरकारी, गेडागुडी र फलफूल विक्री गर्न बर्दिया र कैलालीका बजार जानुपर्ने बाध्यता रहेको उनले सुनाइन् । ‘एक दिनमै बजार आउजाउ गर्न सकिँदैन,’ उनले भनिन्, ‘उतै बास बस्नुपर्छ ।’
वराहाताल–३, सुकुरमाला बस्ती उडाज छ । यहाँको नम्बरी जग्गामा खर पलाएको छ । घर जिर्ण भइसके । बाँझा गरा, बारीमा लगाएका केरा, आँप र अमिलाका बोटले पहिले बस्ती रहेको पुष्टी गर्छन् । स्थानीय डम्बर बुढाका अनुसार ८–९ वर्ष अघिसम्म सुकुरमालामा १० घर थिए । गाउँलेले बिकास हुने र पानी सुविधा मिल्ने भरोसामा गाउँमा पाँच वर्ष गुजारे ।
‘गाउँमा पानी आएन,’ डम्बरले भने, ‘पालिकाले पाँच लाख रुपैयाँ खर्च गरेर भ्यू टावर बनायो ।’ फलामका पाइप र खम्बाले निर्माण गरेको भ्यूटावरको जस्ता पाताको छानो हावाले उडाइसकेको छ । टावर मुनि घर मौलाएको छ । बस्तीसँगै बाटोको निशानी मेटिन लागेको छ । राजकाँडा र नर्सिङकाँडाको बीचमा सुकुरमाला रहेको छ । अहिले डाँडाको टुप्पोमा कालभैरव मन्दिर छ । मन्दिर मुनी भीर छ । भीरको बाटो कहिलेकांही निकुञ्ज कर्मचारी र सैनिक राजकाँडाबाट नर्सिङकाँडा हुँदै लेकगाउँ ओहोरदोहोर गर्छन् ।
सुकुरमालाको छिमेकी नर्सिङकाँडामा पानीको एउटै मुल छ । गाउँका दुई घरमा मानिस छन् । स्थानीयका अनुसार बस्तुभाउ र सर्वसाधरण त्यही मुलको पानीमा निर्भर छन् । पानीको मुल व्यवस्थित छैन । खुला मुलबाट पानी भर्नका लागि एउटा बाल्टिन राखिएको छ । ‘यही पानी हाम्रालागि अमृत हो,’ स्थानीय बलबहादुर बुढाले भने, ‘स्वच्छ, सफा पानीको कल्पना मात्र हो ।’ पिउने पानी, शिक्षा, स्वास्थ्य, बाटोघाटोको असुविधाले गाउँबाट आधा दर्जन परिवार बिस्थापित भइसकेको उनले बताए । यही अवस्था कायम रहे गाउँमा टिकेका परिवार समेत बिस्थापित हुने उनले बताए ।
वराहाताल–१, का खडगबहादुर वलीले आफू १३ वर्षको उमेरदेखि भारत जान थालेको बताए । भारतमा मजदुरी गरेर परिवारको भरथेग गर्दै आएका वली २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविक हरिहरपुर गाबिस–८, का वडाध्यक्ष निर्वाचित भएका थिए । उक्त वडा अहिले वराहाताल–१, बनेको उनले बताए । त्यसबेला पाँच वर्ष जनप्रतिनिधि बनेका उनले गाउँको अवस्थामा कुनै परिवर्तन नआएको बताए ।
त्यसबेला पाँच कक्षासम्म पढाइ हुने गाउँको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई १० कक्षासम्म पुर्याइएको थियो । उक्त विद्यालयमा अहिले ८ कक्षासम्म मात्रै पढाइ हुन्छ । अहिले माध्यामिक तह पढ्न सुर्खेत सदरमुकाम पुग्नुपर्छ । नत्र बर्दिया झर्नुपर्छ । ‘स्वास्थ्यचौकीमा सामान्य सिटामोल बाहेक केही पाइँदैन,’ उनले भने, ‘बिरामीलाई डोकोमा बोकेर अस्पताल पुर्याउनुपर्छ ।’ यस्तै असुविधाले तेलपानीबाट ७५ परिवार बसाइँ सरेर बर्दिया र सुर्खेतका सुगम स्थानमा गइसकेको उनले बताए ।
उनका अनुसार पहिले तेलपानीमा १ सय ७५ घर थिए । गाउँले विस्थापित भएर जमिन बाँझो भएपछि उब्जनीयोग्य जग्गा चरनमा परिणत भएको उनले बताए । ‘गाउँमा रोजगार छैन, खेतीपाती वन्यजन्तुले खाएर स्याहर्न मिल्दैन,’ उनले भने, ‘परिवारसहित मजदुरीका लागि भारत जाने पनि धेरै छन् ।’
प्रतिकृया दिनुहोस्